युनाइटेड क्लबका परिकल्पनाकार सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
United Club

पोखरा । युनाइटेड क्लबले क्लबका परिकल्पनाकारलाई सम्मान गरेको छ । २०६७ वैशाख ७ मा स्थापना भएको क्लबले १४ औं वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा आनन्द थापा, दिनेश सुनार, लोकबहादुर थापा, सुकबहादुर गुरुङ, गणेश तिमिल्सिना, लोकबहादुर थापा, सुकबहादुर गुरुङ, उमेश थापा मगर, प्रतीक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दीप विश्वकर्मा, आयुष गुरुङ, साइमन परियार, विनोद बसेल, कृष्ण थापा मगर हुन् । उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री वेदबहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला र मालासहित सम्मान गरे ।

सांसद गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब युनाइटेड क्लब रहेको बताउँदै आफू सरकारमा रहे वा नरहे पनि क्लबको हरेक अभियानलाई सहयोग गर्ने बताए ।

अमरसिंह माविका प्रअ शेरबहादुर थापाले क्लबले अमरसिंह खेलमैदानमा महोत्सव आयोजना गरी सामाजिक काम गर्दै आइरहेको बताए । क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले क्लबले आगामी दिनमा सामाजिक कामको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिए । पूर्व अध्यक्ष सुकबहादुर गुरुङले स्थापनाकालदेखि हालसम्म क्लबले विभिन्न आरोहअवरोह झेल्दै आएको स्मरण गरे ।

क्लबले अमरसिंह चौरमा बर्सेनि पोखरा महोत्सव आयोजना गर्दै आएको छ

सल्लाहकारद्वय मुक्षेत्र गुरुङ र लीलाधर अधिकारीले युनाइटेड क्लबमा आवद्ध युवाको ऐक्यबद्धता, विश्वास र भरोसाकै कारण क्लबले नेपालनै अब्बल सावित हुने काम गर्न सफल भएको चर्चा गरे ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले ड्रिम प्राजेक्ट रुपमा अर्चलेमा विद्यार्थीका लागि छात्राबास निर्माण र सेती नदीमा साहसिक पर्यटकीय गन्तव्य निर्माणलाई महत्व दिएको बताए । क्लबले पोखरामा खुला चिडियाखाना निर्माण हुनुपर्छ भन्ने आवाज उठाउँदै रकम संकलन गरी सरकारलाई प्रदान गर्दै आइरहँदा हाल गण्डकी सरकारको उक्त चिडियाखानालाई महत्व दिएको बताए ।

क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत र महासचिव दिनेश सुनारले सञ्चालन गरेका थिए । क्लबले आफ्नो क्लबका परिचय धूनका रचनाकार प्रकट पंगेनी ‘शिव’ को असामयिक निधनप्रति दुख व्यक्त गरेको छ ।

महोत्सवबाट ३९ लाख बचत

बाह्रौं संस्करणको पोखरा महोत्सवबाट करिब ३९ लाख बचत भएको छ । गत २६ पुसदेखि ८ माघसम्म अमरसिंह चौरमा भएको महोत्सवमा ३८ लाख ९५ हजार बचत भएको क्लब कोषाध्यक्ष सूर्यबहादुर बानियाँ जानकारी दिए ।

महोत्सवको आयव्यय सार्वजनिक गर्दै बानियाँले १ करोड ७४ लाख ३० हजार आम्दानी भएकोमा १ करोड ३५ लाख ३५ हजार खर्च भएको बताए । बचत रकम शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य निर्माणमा खर्च गरिने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width