हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०८१
hemraj pahari

पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोनले १ लाख रुपैयाँ नगद पुरस्कार, ताम्रपत्र र दोसल्लाले सरुभक्तलाई सम्मान गरे ।

साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्यालाई प्रदान गरेको थियो ।

कार्यक्रममा जर्ज जोनले हेमराज र सरुभक्त आफ्ना मेधावी विद्यार्थी भएको भन्दै आफूले नै सरुभक्तलाई पुरस्कृत गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘हेमराज के कारणले शिक्षण पेसा रोज्नुभयो मैले त्यो बुझ्न सकेको छैन । तर असल शिक्षक हुनुहुन्थ्यो भन्ने जानकारी पाउँदा अत्यन्तै खुसी लाग्यो ।’

‘उहाँ अत्यन्तै अनुशासित विद्यार्थी हुनुहुन्थ्यो । उहाँका अक्षर निकै सुन्दर थिए । आफू पनि निकै सुन्दर भएर हिंड्थे । उहाँका सपना पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुन्छ,’ जर्ज जोनले भने, ‘उहाँद्वारा रचित रचनाहरू बाँकी छन् भने प्रकाशन गर्नतर्फ ध्यान दिनुपर्छ ।’

सम्मानित व्यक्तित्व सरुभक्तले हेमराज आफ्ना पनि गुरु भएको भन्दै उहाँबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । गुरुको स्मृतिमा स्थापित पुरस्कार पाउन योग्य ठहरिँदा आफू अत्यन्तै गौरवान्वित भएको उनले बताए । प्रतिष्ठानसँग विगतमा पनि सँगै रहेर काम गरेको, बीचमा समय अभावले केही टाढा भएको महसुस भएको भन्दै आगामी दिनमा सँगै रहेर संस्थालाई अघि बढाउन सघाउने प्रतिबद्धता जनाए ।

कवि तीर्थ श्रेष्ठले तत्कालीन राष्ट्रिय बहुउद्देश्यीय माविलाई अघि बढाउन हेमराज पहारी र खेमराज पौडेलले खेलेको भूमिका निकै सराहनीय भएको बताए । हेमराज र खेमराज दुवै अत्यन्तै राम्रा शिक्षक भएको भन्दै अहिले दुवै गुरुलाई गुमाउनु पर्दा आफू निकै मर्माहत भएको उल्लेख गरे । उनले, भने, ‘हेमराजले प्रगतिशील र खेमराजले प्रजातान्त्रिक धार लिएर निकै अगाडि बढ्नुभयो, सबैलाई प्रेरणा दिनुभयो । तर उहाँहरुले झगडा गरेको, सिद्धान्तले विद्यालयमा समस्या पारेको कहिल्यै पाएनौं । उहाँहरूबाट अहिलेका नेताहरूले पाठ सिक्न जरुरी छ ।’

कार्यक्रममा लोकगायिका एवं प्रतिष्ठान सदस्य हरिदेवी कोइराला, प्रतिभा छनोट समिति संयोजक एवं पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पद्मराज ढकाल, पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेल, नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारी ‘ऋतु’, प्रतिष्ठान उपाध्यक्ष गोविन्दराज पहारीले बोलेका थिए ।

प्रतिष्ठान अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार असफल गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width