आदर्श समाजको २९ औं वार्षिकोत्सवमा संस्थापक सहसम्पादकसहित ३ जना सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८१
adarsha samaj 29th

नवलपुर ।  आदर्श समाज दैनिकले २९ औं वार्षिकोत्सव गैंडाकोटमा मनाएको छ । शनिबार पत्रिकाको गैंडाकोटस्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा संस्थापक सहायक सम्पादकसहित ३ जनालाई सम्मान समेत गरिएको छ ।

पत्रिकाका संस्थापक सहायक सम्पादक शिरोमणि बराल, तत्कालीन अवस्थामा तराई संस्करण प्रकाशनका बेलाका सहायक सम्पादकहरु चिन्तामणि पौडेल र सूर्यप्रकाश कँडेललाई सम्मान गरिएको हो । पत्रिकाको स्थापनाकालमा विशेष योगदान पु¥याएका भन्दै उनीहरुलाई सम्मान गरिएको प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले बताए ।

प्रधान सम्पादक बास्तोला, पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकाल, संविधानसभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल पत्रकार महासंघकी सचिव सृजना अर्याल, नेपाल निम्बार्क वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष आचार्य हरिशरण उपाध्यायले गैंडाकोट विशेषांकको लोकार्पण गरेका हुन् । प्रधान सम्पादक बास्तोलाले विशेषांकमा गैंडाकोटका सम्भावना एवं विकासको अवस्थालाई समेटिएको बताए । पत्रिकाको प्रकाशन गैंडाकोटबाट गर्ने उद्देश्यले विशेषांक प्रकाशन गरिएको बास्तोलाको भनाइ छ ।

पत्रिकाका संस्थापक सहायक सम्पादक शिरोमणि बराल, तराई संस्करण प्रकाशनताका सहायक सम्पादकहरु चिन्तामणि पौडेल र सूर्यप्रकाश कँडेल सम्मानित

‘हामीले २०५८ देखि ६० सम्म गैंडाकोटबाट पत्रिकाको तराई संस्करण प्रकाशन गर्दै आएका थियौं,’ उनले भने, ‘तत्कालीन कठिन परिस्थितिका कारण हाम्रो तराई संस्करण बन्द भयो । तर, हामी पोखराबाट निरन्तर प्रकाशनमा रह्यौं । अब फेरि गैंडाकोटबाट हाम्रो प्रकाशनले निरन्तरता पाउँछ ।’ कठिन परिस्थितिको सामना गर्दै पत्रिकालाई यो अवस्थासम्म ल्याएको स्मरण गर्दै प्रधान सम्पादक बास्तोलाले आदर्श समाज दैनिकलाई देशभर पु¥याउन र गैंडाकोटलाई प्राथमिकता दिन शाखा कार्यालय सञ्चालन गरेको बताए ।

पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकालले पत्रिकाले २९ वर्षको इतिहास बोकेको भन्दै पत्रिकाको प्रकाशन निरन्तर हुनु गौरवको विषय भएको बताए । अहिले असहज परिस्थितिमा समेत पत्रिकाले सेवालाई विस्तार गर्नु चुनौतीपूर्ण भएको भन्दै निरन्तरताको कामना उनले गरे । आवाज विहीनहरुको आवाज बन्दै विकास निर्माण र विकृतिको विरुद्धमा पत्रिकाले आफूलाई खरो उतार्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संविधानसभा सदस्य कृष्णप्रसाद पौडेलले ब्रोडसिट पेपरले समेट्न नसकेका विषयवस्तुहरुलाई पत्रिकाले समेट्दै स्थानीयको मन जितेर अगाडि बढ्नुपर्ने बताए । गणतन्त्रको संस्थागत विकास र परिवर्तनलाई रक्षा गर्नका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले सञ्चार माध्यमको स्थायीत्वका लागि सरकारको भूमिका रहेको बताए । पत्रकार महासंघ केन्द्रीय सदस्य सृजना अर्यालले सञ्चार माध्यमले अहिले आर्थिक चुनौतीको सामना गरिरहेको भन्दै मिडियालाई दीगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् ।

पत्रकारिता बाँच्यो भने मात्रै मुलुकको चौतर्फी विकास हुने भएकाले सञ्चार माध्यमलाई जोगाउन तीनवटै तहका सरकार जिम्मेवार हुनुपर्ने अर्यालको भनाइ थियो । पत्रिकाका सम्पादक भरत कोइरालाले आर्थिक मन्दी र प्रविधिको प्रयोगका कारण छापामाध्यमको अवस्था दयनीय बनेको बताए । उनले कठिन परिस्थितिमा समेत अनुकुलताको खोजी गरी पत्रिकालाई अझै सशक्त बनाउन टिम लागीपरेको भनाइ राखे ।

कार्यक्रममा गैंडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, नेपाल निम्बार्क वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष आचार्य हरिशरण उपाध्याय, तत्कालीन गैंडाकोट गाविसका अध्यक्ष ओमप्रसाद सापकोटा, जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव छवि कँडेल, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेशजंग कुँवरले पत्रिकाको निरन्तरताको कामना गर्दै स्थानीय विषयवस्तुलाई स्थान दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width