सम्भावनाले भरिपूर्ण गैंडाकोट

आनन्द पोखरेल
वैशाख १, २०८१
Gaidakot (1)

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको पूर्वतर्फको खण्ड हो । साविकको नवलपरासी जिल्लाबाट नयाँ जिल्ला बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको पूर्वी भागमा पर्दछ । संघीय राजधानी सहर काठमाडौंबाट १५० किलोमिटर दक्षिण–पश्चिम एवं गण्डकी प्रदेश राजधानी पोखराबाट १३० किलोमिटर दक्षिणमा अवस्थित सुन्दर सहर हो–गैंडाकोट । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्चिममा देवचुली नगरपालिका र बुलिङटार गाउँपालिका, उत्तरमा पवित्र धार्मिकस्थल देवघाटधाम तथा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालीगण्डकी नदी र पश्चिमतर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदीवेष्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट २०७१ वैशाख २५ मा घोषणा भई २०७१ जेठ ७ मा कार्यान्वयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर (२०७३ मा थप भएको) चार गाउँ विकास समिति मिलाएर १८ वटा वडामा विभाजन गरिएको पालिका हो । गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तरतर्फ रहेको र यहाँ वस्ती बस्नुअघि गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९ दशमलव ९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा राष्ट्रिय जनगणना–२०७८ अनुसार ४१ हजार ४ सय २० जना महिला तथा ३७ हजार ९ सय २९ जना पुरुष गरी कुल ७९ हजार ३ सय ४९ जनसंख्या छ । त्यसैगरी, २० हजार १ सय ९१ परिवार बसोबास गरेको गैंडाकोटको जनघनत्व ४ सय ९६ प्रतिवर्ग किलोमिटर तथा साक्षरता दर ८४ दशमलव ८ प्रतिशत छ ।

यस नगरपालिकाका प्रमुख धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलमा मौलाकालिका मन्दिर (वडा १), श्रीलक्ष्मी नृसिंह दिव्यधाम (वडा १), लक्ष्मीनारायण मन्दिर (वडा १), निम्बार्क दर्शन केन्द्र (वडा १), गैंडाकट्टा शिला (वडा ९), मणिमुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा (वडा ९), कैलाश सन्न्यास आश्रम (वडा १३), नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज लगायत छन् । नगरभित्र साना ठूला गरी २ सय ७८ वटा उद्योगहरु सञ्चालित छन् । नगरभित्र ८ वटा वाणिज्य बैंक, ५ विकास बैंक, ४ फाइनान्स, ९ लघुवित्त संस्थाहरु सञ्चालित छन् । देशकै उत्कृष्टमध्येका विकू, किसान, गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित २३ बचत तथा ऋण सहकारी संस्था, ७ कृषि र ३ दुग्ध उत्पादक सहकारी संस्था, ३ उपभोक्ता/सेवा सहकारी संस्था र ४ बहुउद्देश्यीय सहकारी संस्था गरी ३९ सहकारी संस्था सञ्चालनबाट नगरको आर्थिक गतिविधि चलायमान भएको छ । यस नगरभित्र करिब ५ हजार व्यवसाय सञ्चालित रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

समथर उर्वर खेतियोग्य भूमि र केही पहाडी खण्ड रहेको गैंडाकोटमा सुन्तलादेखि तर्बुजा फल्ने ठाउँ छन्

गैंडाकोटभित्र ५ सय ३० पशुपछी फर्म, १ सय ७७ वटा कृषक समूह र ७ कृषि सहकारी दर्ता भई सञ्चालित छन् । धान, सुन्तला, मकै, मौरी, च्याउ र केरा पकेटक्षेत्र रहेको गैंडाकोटमा मकै, धान, मह र च्याउमा आत्मनिर्भर पालिका हो । समथर उर्जर खेतियोग्य भूमि र केही पहाडी खण्ड रहेको यस नगरपालिकामा सुन्तलादेखि तर्बुजा फल्ने स्थान छन् । ‘मकैको राजधानी’ भनेर चिनिने यस क्षेत्रमा बाह्रै महिना मकै फल्ने हुँदा पूर्वपश्चिम यात्रा गर्नेहरुका लागि पोलेको मकैका लागि प्रख्यात छ । यस नगरपालिकामा ३५ सामुदायिक, २१ संस्थागत, ५ धार्मिक, २ सामुदायक सिकाइ केन्द्र, ४० वटा बाल विकास केन्द्र, समुदायमा आधारित बालविकास केन्द्र ३ वटा र मन्टेसरी १० वटा रहेका छन् । त्यस्तै, १२ वटा क्याम्पस, अनौपचारिक प्रौढ विद्यालय एउटा, स्रोत कक्षा एउटा रहेका छन् । यहाँ एउटा गैंडाकोट नगर अस्पताल, एउटा आयुर्वेद औषधालय, ३ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य केन्द्र छन् भने निजीतर्फ ६३ स्वास्थ्य संस्था, कृषि/पशु सेवा केन्द्र १/१, कुल टोल विकास संस्था १ सय ४० छन् ।

नारायणी र कालीगण्डकी नदीमा जलयात्रा र नदी किनारमा मनोरञ्जनस्थल निर्माणको उच्च सम्भावना छ । प्रसिद्ध तीर्थस्थल देवघाट र त्रिवेणीधामबीच नारायणी नदीमा साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना छ । यसले गर्दा गैंडाकोट नगरपालिकाको नारायणी तटमा रिभर बिच प्रवद्र्धन गर्न सकिन्छ । मौलाकालिका, मणिमुकुन्दसेन दरबार, कैलाश सन्न्यास आश्रमलाई मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने सम्भावना छ । नेपालको मध्य तराईभागमा पर्ने यस नगरको बीचबाट पूर्वपश्चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट लगायत नजिकमा पर्ने, अत्यधिक मानिसको यात्रा हुने स्थल भएकोले व्यापार, व्यवसाय, उद्योगधन्दाको प्रचूर सम्भावना रहेको छ । नजिकको ठूलो सहर भरतपुरको लाभ लिन र असल अभ्यास सिक्न सकिने अवस्था छ ।

जिप फ्लायर, रक क्लाइम्बिङ, राफ्ट्रिङ, बोटिङजस्ता आधुनिक साहसिक पर्यटन प्रवद्र्धन गर्न मिल्ने स्थानहरूको उपलब्धता छ । चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा, बाघ, भालु, मयुरलगायत जीवजन्तुको अवलोकन र पर्यापर्यटनको आनन्द लिन सकिन्छ । बाह्रैमहिना मकै फल्ने उर्बर भूमि रहेको कृषि र पशुपालन व्यवसायको प्रचूर सम्भावना र बजारको सहज पहुँचको अवस्था रहेको छ । सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिबीच धार्मिक र सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धता रहेको छ ।

खुला विश्वविद्यालय अवधारणाअनुसार गैंडाकोटमै नेपाल विश्वविद्यालय स्थापनाको चरणमा रहेकाले उच्च शिक्षाको लागि केही हदसम्म विदेश जानु नपर्ने अवस्थाको सिर्जना हुनेमा आशावादी रहन सकिन्छ ।

जडिबुटी, वनजंगल, सिमसार, नदी र सार्वजनिक जमिनले समृद्धिको आधार प्रदान गरेको छ । गैंडाकोट बौद्धिक सम्पत्तिको धनी र नागरिकमा उच्च चेतनाको स्तर रहेको छ । गैंडाकोटमा रहेका १८ वटै वडाका आफ्ना फरक विशेषता र पहिचन रहेका छन् । यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बीहरु बसोबास गर्दै आइरहेका छन् । मुलुकमा संघीयता आएपश्चात गैंडाकोटमा विकासले गति लिएको छ । यहाँका १८ वटै वडाले पूर्वाधार, शिक्षा र स्वास्थ्यसहित पर्यटनमासमेत ध्यान दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै