धार्मिक पर्यटनको गन्तव्य गैंडाकोट

प्रेम क्षेत्री
वैशाख १, २०८१
maulakaila mandir

नेपालको मध्यभागमा पर्ने नवलुरको गैंडाकोट नगरपालिका धार्मिक हिसाबले महत्वपूर्ण छ । गैंडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै छन् । गैंडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक क्षेत्रहरु वडा नम्बर १ मा रहेका छन् । यस क्षेत्रमा हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमात्रै नभएर मौलाकालिका मन्दिरसहित अन्य धार्मिक मठमन्दिरसमेत रहेका छन् । जहाँ वैदिक सनानत शिक्षा प्रदान गर्दै बटुकहरुलाई असल संस्कार र शिक्षा प्रदान गरिँदै आएको छ । यस नगरपालिकाका प्रमुख धार्मिक, सांस्कृतिकस्थलहरुमा देवघाट, मौलाकालिका मन्दिर, कैलाश सन्न्यास आश्रम, श्रीलक्ष्मी नृसिंह दिव्यधाम, लक्ष्मीनारायण मन्दिर, गैंडाकट्टा शिला, मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज लगायत छन् ।

देवघाटधाम

गैंडाकोटबाट करिब ६ किलोमिटर उत्तरमा त्रिशूली र कालिगण्डकी नदीको पवित्र संगममस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । दामोदर कुण्डबाट सुरु भएर नवलपुर र तनहुँको बीचबाट बग्दै आएकी कृष्णगण्डकी (कालीगण्डकी) तथा गोसाइँकुण्डस्थित त्रिशूलधाराबाट सुरु भएर चितवन र तनहुँको बीचबाट बग्दै आएकी त्रिशूली नदीको संगममस्थलको रुपमा रहेको स्थान हो देवघाटधाम । मुख्यतयाः देवघाटधाम तनहुँमा पर्ने भए पनि यसले नवलपुरको गैंडाकोट र चितवनको भरतपुरलाईसमेत समेटेको छ ।

शान्ति र आधात्मिक उन्नयनको लागि अति महत्वपूर्ण यस क्षेत्रमा नदी, हरिया पहाडहरुका सुन्दर परिदृश्यलगायत जैविक विविधता अवलोकन गर्न सकिन्छ । हिमवत्सखण्ड नेपाल महात्म्यमा उल्लेख भए अनुसार देवताका पनि देवता महादेव शंकर आफ्ना गणहरुका साथ यहाँ बस्नुहुन्थ्यो त्यसैले यसको नाम देवती रहन गएको हो । गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तूप, सिद्धि गणेश, गोपिधाम, सूर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दु धर्मावलम्बीहरुलाई वा भारतीय पर्यटकलाई आकर्षण गरी जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणीधाम वाल्मीकि आश्रमसम्म पु¥याउन सके यसले पर्यटकको बसाइँ अवधि बिस्तार गर्न सकिन्छ ।

स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भए अनुसार पुथ्वीमा भएका तीर्थस्थलमध्ये सबैभन्दा फलदिने पवित्रस्थल देवघाट संगमम हो भनेर व्याख्या गरिएको छ । नवलपुर, तनहुँ र चितवन तीनवटा जिल्लामा करिब ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य स्थलकारुपमा व्यापक प्रचार प्रसार गर्नु अपरिहार्य देखिन्छ । यसैगरि विसं २०१४ सालमा फेला परेको गणेशको मूर्ति स्थापना गरि ११ वटा मन्दिरसहित सुन्दर पार्कको रुपमा विकास गरिएको गणेशस्थान, मौलाकालिका लाखौं पर्यटक आकर्षण गर्ने मनकामना, शिवघाट, भोजबाबा आदि पर्यटकीय दृष्टिले महत्वपूर्ण मान्छिन् ।

मौलाकालिका मन्दिर

पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिकामा पर्ने नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्पm समुद्री सतहबाट ५ सय ६१ मिटर उचाइ पहाडी वनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । १५ औं शताब्दीको अन्त्य तथा १६ औं शताब्दीको सुरुतिर करिब ५ सय वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (व्यारेक)मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

विसं २०३२ सालमा बनेको मन्दिरले क्रमशः व्यापकता र प्रसिद्धि पाउन थाल्यो । २०३७ सालदेखि धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट औपचारिक नामकरण गरी एक समिति स्थापना भयो ।

समितिको सक्रियता, जनसहयोग, सेना र मध्यक्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरको सहयोगमा ३ तले प्यागोडा शैलीमा हालको मन्दिर तयार भएको हो । मन्दिरमा जाने मार्गको निर्माण गरिएको छ भने बाघखोरदेखि मन्दिरसम्म छपनी ढुंगाहरूबाट सिँढी मार्ग (ट्रयाक रोड) निर्माण गरिएको छ । यस यात्राले धार्मिक पयर्टकलाई आनन्दित तुल्याउने छ ।

मौलाकाली केबलकार

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलका रुपमा पहिचान बनाएको मौलाकालिका मन्दिरमा नयाँ वर्ष २०८० को सुरुआतसँगै केबलकार सञ्चालनमा आएपछि आन्तरिक तथा वाह्य पयर्टकको आगमन बढेको छ । अहिले यहाँ केबलकारले थप रौनकता थपेको छ । १ हजार २ सय मिटर लामो केबलकारमा यात्रु बोक्ने डब्बा (गोन्डुला) १२ वटा रसामान बोक्ने २ वटा डब्बा राखिएको छ । एउटा डब्बामा १ पटकमा ८ जना यात्रु अटाउँछन् ।

केबलकारको माथिल्लो स्टेसनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल बन्दैछ । होटलको टपमा हेलिप्याड रहने छ । ४५ सय जना अट्ने सभाहल, स्वीमिङ पुलसहितको यो होटलले पर्यटकलाई आकर्षित गर्नेछ । गैंडाकोटको पर्यटन क्षेत्रको विकासमा यो कोशेढुंगा सावित हुने छ ।

कैलाश सन्न्यास आश्रम

गैंडाकोट नगरपालिकामा अवस्थित कैलाश सन्न्यास आश्रम पूर्व–पश्चिम राजमार्गको बेल्डिहा चोकबाट दक्षिण मनोरम नारायणी नदीको तट तथा विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको सम्मुखमा सिख्रौली ग्राममा अवस्थित छ । पौराणिक कथनअनुसार भगवान् विष्णुले त्रिवेणीधामका गजराजलाई गोहीबाट मुक्त गराउन हतारमा वेगका साथ आउँदा विष्णुको शिरको मुकुट यस स्थानमा गिरेकाले यस स्थानको नाम शिरमौली रहन गएको र कालान्तरमा अपभ्रंस हुँदै जाँदा सिख्रौली भएको कथन छ ।

सिरमौली ग्रामको विषयमा हिन्दु धार्मिक ग्रन्थ हरिवंश पुराणमा समेत व्याख्या गरिएको पाइन्छ । धर्मानुरागीहरूको कथन अनुसार यहाँ कुँदिएका प्रस्तर मूर्तिहरू द्वापर युगका हुन् । ५ पाण्डव वनवास जाँदा यस स्थानमा बास बसेको र यहाँका ५ जनाले समेत उचाल्न नसक्ने ढुंगा भीमसेनले कुँदेर बोकेका हुन् भन्ने ऐतिहासिक कथन छ ।

अर्कातर्फ इतिहासविद्हरूको कथनअनुसार पाल्पाली राजा मणि मुकुन्दसेनको दरबार यसै स्थानमा थियो । यी ढुंगाहरू तिनै राजाको दरबार निर्माणमा प्रयोग भएका हुन् र भग्नावेशष भवनसमेत राजाको दरबार भएको भन्ने गरिन्छ । अहिले यहाँ पुरातत्व विभागले भग्नावशेषको उत्खनन कार्य सम्पन्न गरी मन्दिर निर्माण कार्य सम्पन्न गरेको छ । यहाँ धार्मिक पर्यटक भित्र्याउन सके यसले नगरकै पहिचान बनाउनेछ । पुरातत्व विभागको प्रारम्भिक अध्ययनबाट पनि यहाँ भेटिएको मन्दिरको भग्नावशेष तेह्रौँ शताब्दिको हो । यहाँ भेटिएको भग्नावशेषलाई उत्खनन गरेर पुनःनिर्माण गरिएको मन्दिरको आकार सुर्खेतको काँक्रे विहारसँग मिल्दोजुल्दो रहेको बनेको पुरातत्व विभागले जनाएको छ । उत्खननका क्रममा यहाँ भेटिएका विभिन्न पुरातात्विक वस्तुहरु विभागले अध्ययन गरिरहेको छ ।

मुकुन्दसेन दरबार

गैंडाकोट नगरपालिकाको वडा नम्बर ११ र ३ को सिमानामा पर्ने उत्तरतर्फको अग्लो डाँडामा पाल्पाली राजा मणि मुकुन्दसेनले स्थापना गरेको दरबार रहेको छ । यहाँ अहिले मन्दिर निर्माण गरिएको छ भने मूर्तिहरु भग्नावशेषका रुपमा रहेका छन् । यहाँबाट देखिने तराईका सम्म फाँटको दृष्यले जो कोहीलाई लोभ्याउँछ । यो क्षेत्रको महत्वपूर्ण पदमार्गमध्ये मुकुन्दसेन पदमार्ग पनि हो । विसं २०७६ जेठ १९ गतेदेखि मौलाकालिका मुकुन्दसेन दरबार भग्नावषेश परिसर पर्यटकीय पदमार्ग खुला गरिएको हो । मौलाकालिका मन्दिरबाट पश्चिमतिर डाँडाको शिरैशिर १३.५ किलोमिटरको दूरीमा उक्त दरबारको भग्नावशेष परिसर रहेको छ ।

प्रसिद्ध तीर्थस्थल देवघाटलाई नारायणी नदीमा जलयात्राले जोड्ने सम्भावना प्रबल छ

पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट तीर्थ आउने क्रममा बास बस्न र सैनिक सुरक्षाका खातिर उक्त दरबार बनाएको कुरा सुन्नमा आउँछ । यहाँसम्म पुग्नका लागि सहज गाडीको व्यवस्थासमेत रहेको छ । डाँडोको टुप्पोमा अवस्थित मुकुन्दसेन मन्दिर धार्मिक महत्वका साथै पैदलयात्राका दृष्टिले पनि त्यत्तिकै सुन्दर गन्तव्य हुन सक्छ । सालको वन र चराको चिरबिरे आवाजको आनन्द लिन सकिन्छ । यो क्षेत्रको अर्को महत्वपूर्ण आकर्षण वनविहार हुन सक्छ ।

लक्ष्मी नृसिंह दिव्यधाम

लक्ष्मी नृसिंह दिव्यधाम गैंडाकोट १ गंगानगरमा अवस्थित एक महत्वपूर्ण धार्मिकस्थल हो । यहाँ निर्माण गरिएको मन्दिर दक्षिण भारतीय शिल्पकलामा आधारित रहेको छ । स्वामी सन्तनारायणीजीले विसं २०३८ सालमा जमिन खरिद गरी २०४० सालमा मन्दिर, धर्मशाला र त्यसको प्रांगण विस्तार गर्नुभएको हो । नृसिंह भगवान्को कृपा सम्पूर्ण भक्तहरूमा हुने विश्वास यस क्षेत्रका जनतामा छ ।

यो स्थानमा व्यवस्थित रुपमा मन्दिर बनाउने, मन्दिर वरपर, धर्मशाला, अतिथि गृह लगायत निर्माण गर्ने स्वामीजीको सोच र दाताहरूको दान तथा त्यस कार्यमा स्थानीय व्यक्तिहरूको सहयोगसमेतका कारण मन्दिर निर्माण गरिएको हो । अहिले मन्दिर, धर्मशाला, अतिथि निवास र काम गर्नेहरूका लागि आवाससमेत तयार भइसकेको छ । भगवान्का मूर्तिहरूको प्रतिष्ठा, पाश्र्ववर्ति विभूतिहरूको मूर्ति स्थापनासमेत कलात्मक ढङ्गले गरिएको छ । मन्दिर र त्यसको परिसर अति मनमोहक देखिन्छ । यहाँ भजनकीर्तन तथा धार्मिक पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दछ ।

शिखरखजुराव शैलीको हनुमान मन्दिर

गैंडाकोटमा रहेको हनुमान मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गैंडाकोट नगरपालिका–९ थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका छन् । शिखरखजुराव शैलीमा निर्माण गरिएको नेपालकै ठूलो हनुमान मन्दिर तथा राजमार्गसँगै जोडिएको कारण पनि यो बाटो भएर हिँड्ने पर्यटकहरु यहाँ पस्ने गरेका छन् ।

श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम

गैंडाकोट–७ गैरीमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम आन्तरिक पर्यटनको महत्वपूर्ण धार्मिक क्षेत्र बन्दै आएको छ । श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका १ सय ८ शिवलिंग, गणेश मन्दिर, दुर्गा मन्दिर, नागको थान लगायत रहेका छन् । विसं २०४४ सालमा स्थापना भएको यो मन्दिर यस क्षेत्रकै कलात्मक र भव्य मन्दिर हो । श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गुरुकल परम्परा अनुसार पूजा आराधना भइरहकेको छ । ब्रह्मलिन १००८ स्वामी परमानन्दजी महाराज गुरुबाट शिलान्यास गरी यहाँ पूजा अर्चना सुरु गरिएको थियो ।

श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिंग एवं नर्मदेश्वर नदीबाट ल्याइएका १ सय ८ शिवलिङ्ग रहेका कारण साउन महिनामा भक्तजनको चाप हुने गर्छ । प्रत्येक शुक्रबार बिहान ११ बजेदेखि सत्संगम पनि हुने गरेको छ । विसं २०४४ सालमा सामाजिक, धार्मिक व्यक्तिहरुले टाप्रे घारी भएको स्थानमा जमिन संरक्षणका लागि भेला गरी मन्दिर निर्माण गर्ने समिति गठन गरेर मन्दिर निर्माण गरिएको हो । मन्दिरमा विवाह, व्रतबन्ध, विभिन्न अवसरमा पूजा आराधना पनि हुने गरेको छ ।

नेपालको मध्य तराई भागमा पर्ने यस नगरको बीचबाट पूर्व पश्चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट नजिकमा पर्ने, अत्यधिक मानिसहरूको यात्रा हुने स्थल भएकोले व्यापार, व्यवसाय, उद्योग धन्दाको प्रचुर सम्भावना रहेको छ । गैंडाकोट धार्मिक रूपमा त आदिकालदेखि नै चर्चामा रहेको छ । साथै यहाँ बन्न लागेका विकासका पूर्वाधारहरूले निस्वार्थ गति लिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने सम्भावना त्यत्तिकै छ ।

अवसर र सम्भावना

गैंडाकोटको सिमाना हुँदै बग्ने नारायणी नदी एवम् कालीगण्डकी नदीका कारण यहाँ जलयात्रा तथा नदी किनारमा मनोरञ्जनस्थल निर्माणको उच्च सम्भावना छ । प्रसिद्ध तीर्थस्थल देवघाटलाई नारायणी नदीमा साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना रहेको छ । गैंडाकोट नगरपालिकाको नारायणी तटमा रिभर बीच प्रवद्र्धन गर्न सकिन्छ । सहरी जीवनशैलीबाट विश्राम गर्नका लागि वनभित्रकै मार्गहरूको प्रयोग गर्दै ढोडेनी, केलादी, हर्दी (वनको उत्तरतर्फ रहेका सुन्दर गाउँहरू) का साथै देवघाट (कालीगण्डकी, सेती र नारायणीको संगम स्थल) सम्म पुग्न सकिन्छ । मौलाकालिका, मणिमुकुन्दसेन दरबार, कैलाश सन्यास आश्रमलाई मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै