गुरुङ समुदायले यसरी मनाए ट्होटें

धनबहादुर गुरुङ
चैत्र २७, २०८०
Thote Photo 4

पोखरा। ‘ट्होटें तमु (गुरुङ) हरुको ऐतिहासिक पर्व हो । यो हाम्रो सभ्यता, सद्भाव र संस्कृतिसँग जोडिएको छ,’ तमु धिं नेपाल अध्यक्ष हुम तमुले भने । गाउँबस्ती, संस्कार, संस्कृति विकास गर्नेक्रममा दुख दिने शत्रूबैरी गाउँबस्ती हटाउन परापूर्वकालदेखि नै ट्होटें मनाउन लागिएको उनले बताए । यो पर्व प्रकृतिसँग जोडिएको उनको भनाइ थियो । गुरुङ समुदायले हरेक वर्षको साउन र चैत अन्तिम मंगलबार ट्होटें मनाउने गर्छन् ।

साउन उद्यौली र चैतमा उभौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ । प्रकृतिको पूजा गर्दै मनाइने यो पर्व पोखरामा रहेका गुरुङ समुदायले पनि यसलाई निरन्तरता दिदैं आएका छन् ।
पोखरामा २०५२ सालदेखि व्यवस्थित रुपमा मनाउन थालिएको उनले बताए । कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोलासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको उनको भनाइ थियो ।

गुरुङ भाषामा ‘ट्हों’ को अर्थ राज्य वा गाउँबस्ती र ‘टें’ राज्यलाई दुख दिने शत्रूबैरी भगाउनू भन्ने अर्थ हुन्छ । त्यसैको आधारमा तमु धिं नेपालले पछिल्लो समय बर्सेनि ट्होटें मनाउँदै आएको छ । संस्थाको आयोजनामा मंगलबार परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटें मनाइएको बताइन्छ ।

गुरुङ समुदायले हरेक वर्षको साउन र चैत अन्तिम मंगलबार ट्होटें मनाउने गर्छन् ।

ट्होटें पर्वको अवसरमा पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको भवनबाट झाँकी र्‍यालीसहित नयाँबजार, लखनचोकहुँदै पोखरा सभागृहमा गएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । र्‍यालीमा कोही बुख्याचा भेषमा थिए त कोही राक्षससँगै विभिन्न जनावरदेखि, भूतप्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रंगरोगन लगाएर रंगीबिरंगी झाँकीमा सहभागी थियो । गुरुङ पहिरनमा सजिएका महिला तथा पुरुषको चहलपहल उस्तै थियो । सबैले आ–आफ्नै समाजबाट प्रतिनिधित्व गरेका थिए ।

विभिन्न गुरुङ समाजले आफूलाई प्रतिनिधित्व गराउने गुरुङ संस्कृति र संस्कारसँग झल्किने झाँकीसहित हिमाली जनजीवन, गुरुङको जनजीवनको झल्को त्यहाँ देखिन्थ्यो । उनीहरुले चर्खादेखि खर्कसम्मका झल्को दिंदै थिए । जातीय भेषभूषामा, बाजागाजा र झाँकीसहित ट्योटें पर्व मनाउन उनीहरु यसरी आइपुगेका हुन् । गुरुङहरुको मौलिक पर्व ‘ट्होटें’ मनाउन उनीहरुको ठूलो जमघटले माहोल नै फरक देखिन्थ्यो ।

र्‍याली सभागृह पुगेर र्‍याली मूल समारोहमा परिणत भएको थियो । कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले ट्होटें पर्वले गुरुङ जातिको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले पोखरा समृद्ध बनाउन ठूलो योगदान पुगेको बताए । गुरुङ समुदायले आफ्नो मौलिकता पुस्तान्तरणमा ठूलो भूमिका खेलेको उनको भनाइ थियो । ‘भाषा, साहित्य, संस्कृति र मौलिकतालाई आजको पुस्ताले भोलीको पुस्तालाई देखाउन सकेन भने त्यो लोप हुदैं जान्छ,’ उनले भने । प्रमुख आचार्यले ट्होटेंसहित तमुहरुको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषा जोगाउन महानगरले साथ दिने बताए ।

कास्कीको विभिन्न स्थानसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले ट्होटें पर्व हर्षोल्लासका साथ मनाएको तमु धिं नेपाल महासचिव जूनाकुमारी गुरुङले जानकारी दिइन् । पर्व अवसरमा रुपा, मादी र अन्नपूर्ण गाउँपालिकाले विद्यालय बिदा दिएको थियो ।

ताङतिङ दूधपोखरी प्रथम
ट्होटें अवसरमा आयोजित झाँकी र्‍याली प्रतियोगितामा ताङतिङ दूधपोखरी तमु समाज प्रथम भएको छ । यस्तै, चिउली पाचे तमु समाज दोस्रो भयो । ताङतिङले ४० हजार साथमा ट्रफी प्राप्त गरेको तमु धिं सदस्य भीगनेस गुरुङले बताए । यस्तै, द्वितीय भएको चिउली पाचेले ३० हजारसहित ट्रफी हात पार्‍यो । झाँकी र्‍यालीमा फूलबारी तमु समाज तेस्रो हुँदै १५ हजार र ट्रफी प्राप्त गर्‍यो ।

नौलो सम्झना तमु समाजले विशेष पुरस्कार स्वरुप १० हजार रुपैयाँ पायो । आँधिखोला, सूर्यमुखी, कोल्मा बहाकोट र मिरुवा तमु समाज सान्त्वना पुरस्कार स्वरुपप्रति समान ५/५ हजार रुपैयाँ पाए ।

Related News

सम्बन्धित समाचार

hero news full width