आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
potato

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन मंगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । अघिल्ला २ दिनको तुलनामा निकै बढी हो ।

हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताए । महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छे गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सवस्थल पुगेका छन् ।

महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । जसअनुसार दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ ।

कृषि उपजमा नाममा भएको महोत्सव आफैँमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आएको मंगलबार महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकी ९ की राममाया थापाले बताइन् । आलु लगायत अन्य स्टलबाट सामग्री बिक्रीवितरण हुने क्रम समेत ह्वात्तै बढेको छ । मंगलबारसम्मका ६ सय ३८ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समिति संयोजक जयराम तिम्सिनाले बताए ।

स्याङ्जा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताए । मंगलबारसम्म आलुको ६ लाख बराबरको कारोबार भएको छ । यहाँ प्रतिकेजी ४० रुपैयाँमा आलु पाइन्छ ।

मंगलबार कलाकार जीवन दाहाल, शिवहरि ढुंगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पूजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहे ।

त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ । रत्यौलीतर्फ मंगलबार ३ समूह लामाचौतारा खुट्टेगौडा आमा समूह, माछापुच्छे« सेवा समाज तथा लक्ष्मी आमा समूहका प्रस्तुति रहे । त्यस्तै, नवजागरण बाल भजन समूहले पनि आफ्नो प्रस्तुति राख्यो ।

महोत्सव आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्यव्यंग्य एवं लाइभ पप कन्सर्ट लगायत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width