पोखरा । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने विषयले भारतभित्र र बाहिर ठूलै चर्चा पाएकोे छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई चुनावी औजारका रुपमा प्रयोग गरेको आरोप एकातिर छ भने अर्कातिर हिन्दु धर्मगुरुहरूले मन्दिर पूरा नभई प्राण प्रतिष्ठा गर्नु विधिसम्मत नभएको बताउँदै आएका छन् ।
राम मन्दिरको प्राण प्रतिष्ठासँगै जोडिएर आएका खबरले गण्डकी प्रदेशवासी बेखुसी छन् । अघिल्लो वर्षको मंसिर १२ गते गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले जानकी मन्दिरलाई २ ठूला शिला हस्तान्तरण गरे । जुन शिला जानकी मन्दिरले अयोध्यामा रामललाको मूर्ति बनाउनका लागि उपाहारस्वरुप प्रदान गर्यो । अयोध्यामा निर्माणाधीन राममन्दिरमा भगवान् श्रीरामको बाल्यावस्थाको मूर्ति बनाउनका लागि ती शिला पठाइएको थियो । तर ती शिला जुन प्रयोजनका लागि लगिएको थियो, त्यसअनुसार प्रयोग गरिएन ।
त्यसो त मूर्ति लैजाने बेलामै यसबाट धेरैथरी टीकाटिप्पणी आएका थिए । हजारौं वर्ष पुराना शिला भारतमा पठाएर गलत काम गरिएको भन्ने आरोप पनि लगाइएको थियो । शिला भारतमा लगिसकेपछि त्यहाँका धर्मात्माहरूले कालीको शिला आफंैमा भगवान् भएकाले त्यसमाथि छिनो र घन प्रयोग गर्न नहुने भनेका भनाइहरू पनि सार्वजनिक भएका थिए । शिला भारत पठाउनु अघि नै त्यसको प्राविधिक पक्षका बारेमा विज्ञहरूले जाँचपड्ताल गरेकै थिए । मेसिन प्रयोग गरेर बनाउँदा समेत शिला नबिग्रने भनेर प्राविधिकले दिएको रिपोर्ट अयोध्या पठाइएको थियो । उताबाट हुन्छ भन्ने संकेत आएपछि अघिल्लो माघ १ मा क्षमा पूजा नै गरिएको थियो ।
अहिले अयोध्याका प्राविधिकले रामललाको मूर्ति बनाउने क्रममा एउटा शिलामा धर्सा देखिएको बताएका छन् । शिला हस्तान्तरणका लागि समन्वयकारी भूमिका खेलेका पोखराकै डा. कुलराज चालिसेले भने, ‘२ मध्ये एउटा काट्ने क्रममा धर्सा देखिएछ, त्यसबाट मूर्ति बनाउन सम्भव भएन भन्ने जानकारी पाएका छौं, २ शिलासँगै हामीले लगेर हस्तान्तरण गरेका २ शालिग्राम भने गर्भगृहमा रहनेछन् ।’ राम मन्दिरको गर्भगृहमा कालीगण्डकीका शालिग्राम राखेर पूजाआजा हुनु पनि निकै महत्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो ।
मूर्तिकारहरूले ठूलो शिलामा मूर्ति कुद्ने प्रयास गर्दा धेरै कडा भएर नसकेको पाइएको चालिसेले बताए । उनी ती शिलाहरूलाई पूज्य र सम्मानजनक रुपमा राखिने विश्वास व्यक्त गरे । उनले भने, ‘मूर्ति बनाउन भनेर पठाइएका शिला अर्कै प्रयोजनमा प्रयोग भएकोबारे नेपालको सरकारी पक्ष जानकार हुनुपर्छ ।’ शिला अयोध्यासम्म लैजानका लागि नेपालको सरकारी रकमसमेत खर्च भएको छ । गण्डकी प्रदेश सरकारले नै मन्त्रिपरिषद्बाटै निर्णय गरेर ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको थियो । म्याग्दीको बेनी नगरपालिकाका साथै नेपाल पर्यटन बोर्डले समेत त्यसमा खर्च गरेको छ । शिला उत्खनन्मा बेनी नगरपालिकाको रकम खर्च भएको छ भने त्यहाँबाट जनकपुर लैजान गण्डकी सरकारको रकम खर्च भएको छ ।
चालिसेका अनुसार नेपाली करदाताको पैसा खर्च गरेर जनकपुरस्थित जानकी मन्दिर व्यवस्थापनमार्फत् अयोध्यास्थित मन्दिरलाई गोडधुवा उपहारस्वरूप शिला उपलब्ध गराइएको हो । उनले भने, ‘छोरीलाई उपलब्ध गराइएको गोडधुवा फिर्ता माग्न सकिँदैन । तर गोडधुवाको सदुपयोगका सन्दर्भमा माइतीपक्ष सूसुचित हुनुपर्छ ।’ शिला हस्तान्तरणपछि गण्डकी सरकारले त्यसबारेमा कुनै चासो देखाएको छैन । शिलाको प्रयोजन र राममन्दिरको प्राण प्रतिष्ठाबारे सरकारलाई औपचारिकरुपमा केही जानकारी नभएको गण्डकीका एक मन्त्रीले बताए ।
ती शिला लैजानका लागि कांग्रेस नेता विमलेन्द्र निधिले सहजीकरण गरेका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसीले कांग्रेस नेता निधिकै पहलमा शिला पठाइएको बताए । उनी मूर्ति बनाउनकै लागि त्यतिधेरै दुख र खर्च गरेर नेपालबाट अयोध्यामा शिला पठाइएको बताउँछन् । ती शिलाका मूर्ति नबनेको थाहा पाउँदा आफू दुखी भएको उनको प्रतिक्रिया थियो । उनले भनेका छन्, ‘मैले त मूर्ति बनाउन लगेका शिला मूर्ति नबनाउने भए फिर्ता पठाउनुपर्छ भनेर पनि त्यसरी शिला पठाउने प्रस्ताव गर्ने व्यक्तित्वहरूलाई भनें । मूर्ति बन्न दबाब होस् भनेर भनेको तर पनि मूर्ति बनाइएनछ ।’
नेपालले प्रस्ताव गरेपछि अयोध्याको राम मन्दिर निर्माण समितिले जानकी मन्दिरलाई शिला उपलब्ध गराउन आग्रह गर्दै पत्र लेखेको थियो । त्यसैका आधारमा ती शिला भारत पठाउनका लागि नेपालको संघीय सरकार र गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गगरिएको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारको समन्वयमा जनकपुरस्थित जानकी मन्दिर व्यवस्थापनले अयोध्यामा ती शिला पठाइएको हो । गत वर्ष माघ १८ मा कालीगण्डकी क्षेत्रबाट २४ टन र १४ टनका २ शिला अयोध्यामा पुर्याइएको थियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई माघ १९ मा आयोजित विशेष समारोमार्फत् हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय प्रचार प्रमुख सुनील अम्बेकरले नेपालबाट लगिएका शिलालाई मन्दिर परिसरभित्रै सम्मानित स्थानमा राखेर पूजाअर्चनाको व्यवस्था मिलाउन लागिएको जानकारी दिए । हाल अयोध्याको रामसेवकपुरमा एउटा टहरोमा शिला राखिएको छ र त्यसमा दैनिक पूजा हुँदै आएको छ ।
मूर्ति बनाउन भनेर पठाइएका शिला अर्कै प्रयोजनमा प्रयोग भएकोबारे नेपालको सरकारी पक्ष जानकार हुनुपर्छ
– डा. कुलराज चालिसे
भारतीय सर्वोच्च अदालतको फैसलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए । माघ ८ गते सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरको प्राणप्रतिष्ठा हुँदै छ । अयोध्यामा ७० एकड जमिनमा राम मन्दिर निर्माण भइरहेको छ । भुइँतला निर्माण भइसकेको छ । ५ मण्डप र बीचमा गर्भगृह रहने गरी मन्दिर निर्माण भएको छ । मन्दिरको भुइँतलामा गर्भगृह रहनेछ । मन्दिर निर्माणको काम पूरा नभई प्राणप्रतिष्ठा गर्न लागिएको भन्दै भारतमा राजनीतिक मुद्दा पनि बनेको छ । विभिन्न ४ मठका शंकराचार्यले पनि प्राणप्रतिष्ठाको शास्त्रीय विधिमाथि प्रश्न उठाएका छन् ।
यसरी बन्यो शिला अयोध्या लैजाने वातावरण
अघिल्लो वर्षको साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गरे ।
भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए । जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो । यसपछि नेपाल फर्किएका निधिले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिए ।
त्यसपछि २०७९ पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । यसको खोजी म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट सुरु गरिएको थियो । प्राविधिक तथा धार्मिक हिसाबले ठूलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको हो । तत्कालीन समयमा शिलाको खोजीका लागि पहल गरेका नेपाली कांग्रेसका पूर्वउपसभापति निधिसहितको टोली नै शिला उत्खनन् स्थलमा आएका थिए ।
कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडकखण्डअन्तर्गत बेनीको वडा नं ६ ठूलोपहिरो नजिकै कालीगण्डकी नदीको तिरमा १८ टनको क्वाजराइट र १० टनको क्यालसाइट नामक शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खनन्को तयारी सुरु गरियो ।
कालीगण्डकी नदीमा कालो र सेतो शिला प्रशस्तै पाइए पनि शिला निकाल्न सम्भव नभएपछि सहज स्थानमा प्राविधिक तथा धार्मिक टोली केन्द्रित भएको थियो । उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतिबारेमा समेत टोलीलाई सचेत बनाइएको र निकाल्न लागिएको शिलाले नदी आसपासमा कुनै क्षतिको सम्भावना नभएकाले एक्स्काभेटरले खन्ने र क्रेनले उत्खनन् गर्ने सहमति भएको थियो ।
कालीगण्डकी र शालिग्राम शिला शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दु धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
मुस्ताङको दामोदर कुण्ड आसपासका क्षेत्रबाट बग्ने कालीगण्डकी नदी पवित्र तीर्थस्थलका रुपमा समेत चिनिन्छ । कालीगण्डकी नदीमा शालिग्राम शिला पाइने भएकाले पनि भक्तजन खोजी गर्ने र दर्शकका लागि जाने गर्दछन् ।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर पूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिंगेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान
तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
हरिदेवीलाई संघर्षशील सामाजिक पुरस्कार
किसानलाई निःशुल्क आलुको बीउ
hero news full width
मुख्य समाचार
साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
छानाभरि झिलिङ्गा
कार्तिक १४, २०८१नेपाल–बंगलादेश फाइनल आज
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१राइजिङ पोखरा क्रिकेट च्याम्पियन
कार्तिक १२, २०८१‘जोसुकै भए पनि छुट दिनु हुँदैन’
कार्तिक १२, २०८१