एमाले समर्थनमा माओवादी नेता सभामुख

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४
1

पोखरा, ३ फागुन। माओवादी नेता नेत्रनाथ अधिकारी नयाँ संरचनाअनुसार प्रदेश नम्बर ४ को पहिलो सभामुखमा निर्वाचित भएका छन्। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र एमाले सांसद किरण गुरुङको समर्थनमा प्रदेशसभाको दोश्रो बैठकले उनलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।

बुधबार अधिकारीले मात्रै सभामुखमा मनोनयन दर्ता गराएका थिए। जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ उपदफा ३ बमोजिम उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्। कार्यविधिमा सभामुखको निर्वाचनका लागि तोकिएको समयमा दिइएको प्रश्तावक र समर्थकसहितको सूचनामा एउटै मात्र सूचना प्राप्त भए प्रश्तावकले बोलिसकेपछि बैठकको अध्यक्षले प्रश्तावित सदस्यलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुपर्ने प्रावधान छ।

गठबन्धनसंग स्पष्ट बहुमत भएपछि काँग्रेसले प्रदेशका कुनैपनि पदमा दावी गरेको छैन। माओवादीको १२ र एमालेको २७ सांसदले उनलाई सभामुखका लागि समर्थन गरेका थिए। प्रश्ताव पेश गर्दै माओबादी सांसद हरिबहादुर चुमानले संघीयताको ब्यवहारिक कार्यान्वयन र चुनौतिको सामना गर्न नेत्रनाथ अधिकारी सक्षम ब्यक्ति भएको उल्लेख गरे। उनले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने हालको परिस्थितिमा सक्षम सभामुखको खाँचो भएको भन्दै अधिकारीलाई वाम गठबन्धनको समर्थनबाट अघि सारिएको बताए।

‘जनतालाई अधिकारसम्पन्न भएको ब्यवहारिक महसुस गराउनु अहिलेको चुनौति हो। सामन्तवाद र एकात्मकताको धङधङी समाजमा अझै बाँकी छ,’ उनी भन्छन्-‘यो संघीयता त्यसैका लागि हो। स्थिरता, सुशासन र समृद्धिका लागि हामीलाई मतादेश प्राप्त भएको छ। यो मतादेशलाई सम्बोधन गर्नु जरुरी छ ।’

उनले सभालाई प्रभावकारी, गतिशिल र ओझपूर्ण बनाउन अधिकारीको विकल्प नभएको बताए। उनको प्रश्तावलाई समर्थन गर्दै एमाले नेता तथा सांसद किरण गुरुङले एमाले र माओबादी बीचको सहमति कार्यान्वयन चलिरहेको बताए। ‘चुनावका बेला पार्टीएकीकरणको समेत सपना देखेर माओबादी र एमालेबीचमा सहकार्य चलिरहेको छ। अहिले सहमति कार्यान्वयनको चरणमा पुगेका छौं, उनले भने-‘एमालेले प्रदेश ४ मा सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउन समर्थन गरेको छ। म त्यसको समर्थनमा उभिएको छु।’ उनले साझा एजेण्डा तय गरेर संविधान र संघीयताको कार्यान्वयनमा जुट्ने प्रतिबद्धता पनि जनाए।

सभामुखमा निर्वाचित भएपछि उनले साझा पदमा पुगेकाले कुशलतापुर्वक जिम्मेवारी पूरा गर्ने प्रतिक्रिया दिए। अधिकारीले विहिबार नै माओबादी केन्द्र र दलगत अन्य सबै पदबाट राजीनामा दिएको सार्वजनिक घोषणा गरेका छन्। यद्यपी, लिखित रुपमा शुक्रबार मात्रै राजीनामा पत्र बुझाउने उनी निकट श्रोतले जनाएको छ।

‘सभामुख संसदको साझा पद हो भन्ने मैले बुझेको छु। त्यसैले मेरो पार्टींगको आवद्धता आजकै मितिदेखि ५ बर्षका लागि सकिएको छ,’ उनले भने-‘अव संसदीय बिजनेसलाई सही टुङ्गोमा पुर्‍याउने र अधिकतम सहमति जुटाउने प्रयासमा लाग्नेछु। पक्ष र प्रतिपक्षको भूमिका देखाउँदिन।’

विहिबार निर्वाचित सभामुखको शपथ शुक्रबार विहान मुख्यमन्त्रीसंगै हुनेछ। प्रदेश प्रमुखको निवासमा विहान दश बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। सभामुखमा निर्वाचित माओवादी नेता नेत्रनाथ अधिकारी पर्वत प्रदेशसभा (क) बाट सांसदमा निर्वाचित भएका हुन्।

यसैबीच, विहिबारको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचन गर्ने मिति तय गरेको छ। बैठकको अध्यक्षता नव निर्वाचित सभामुखले गर्नेछन्। बैठकमा प्रदेशप्रमुखबाट प्राप्त भएको मुख्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाइएको थियो भने जेष्ठ सदस्यले प्रदेशसभा सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएर विदा भएका छन्।

भ्ागबण्डामा उपसभामुख पाएको एमालेले महिला चयन गर्नुपर्नेछ। संबैधानिक ब्यवस्थाअनुसार नै सभामुख पुरुष भए उपसभामुख स्वतः महिला हुनुपर्नेछ। उपसभामुखका लागि एमालेबाट दुर्इ जनाले बढी लविङ गरिरहेका छन्। समानुपातिक सांसद सिर्जना शर्मा र म्याग्दीकी निर्वाचित सांसद नरदेवी पुनमध्ये एक जनालाई उपसभामुखको उम्मेदवार बनाउने एमाले श्रोतले जनाएको छ। दुर्इमध्ये एक जना उपसभामुख र अकोर्लाई मन्त्री बनाउने बिषयमा छलफल भैरहेको श्रोत बताउँछ। यद्यपी,  समानुपातिक सांसद मित्रकुमारी गुरुङ सुवेदी पनि उपसभामुखको लविङ गरिरहेकी छिन्।

Related News

सम्बन्धित समाचार

hero news full width