प्रदेशसभा सञ्चालन

भवनको भाडामात्रै दैनिक १३ हजार

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४
parliament

पोखरा, १७ माघ । प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ। संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि माघ २२ गते डाँकिएको छ।

यतिबेला शहरी विकासको अगुवाइमा सभाहल र सचिवालय मर्मतसम्भार धमाधम चलिरहेको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन हुँदै आएको नगर प्रशिक्षण केन्द्रका दुर्इ भवन प्रदेशसभा र सचिवालयमा प्रयोग हुनेछ। भवन प्रयोग गर्दा भाडामात्रै दैनिक १३ हजार उठ्छ। नगर प्रशिक्षण केन्द्रले प्रदेशसभामा प्रयोग हुने ३ वटा कोठाको दैनिक ६ हजार तथा सचिवालयमा प्रयोग हुने ५ कोठा र ३ वटा सभाहलको ७ हजार खर्च निकालेको छ। हिसाब गर्दा २ वटा भवन प्रयोग गरेवापत प्रदेश सरकारले वर्षेनी झण्डै ५० लाख रुपैयाँ भाडामात्रै तिर्नुपर्छ। ‘प्रदेशसभाका लागि प्रयोग गर्न लागिएका भवनको दैनिक भाडामात्रै १३ हजार भन्दा बढी हुन्छ। तर सरकारले प्रयोग गर्ने भएपछि केही सस्तोमा दिन पनि सकिन्छ’-नगर प्रशिक्षण केन्द्र पोखराका सूचना अधिकृत बुद्धि घिमिरेले भने-हतारको प्रयोगले केही बोलेका छैनौं। छिट्टै दुर्इ पक्ष बसेर भाडादर कायम हुन्छ।’ नगर प्रशिक्षण केन्द्रले भाडाबाट उठेको रकमबाट आफ्ना कर्मचारी व्यवस्थापन गर्दै आएको छ। प्रतिष्ठान नेपाल सरकारकै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मातहतमा रहेर काम गर्ने संस्था हो।

प्रदेश संरचनापछि पहिलो पटक बस्ने बैठकबारे धेरै सांसद र खटिएका कर्मचारी समेत अनविज्ञ छन्। उनीहरुलाई सहजीकरण गर्नका लागि सरकारले संसदीय मामिलाका ४ जना जानकारलाई पोखरा पठाएको छ। पोखरा आएपछि उनीहरु प्रदेशसभा बैठकको तयारीमा जुटेका छन्। सभाहलको ब्यवस्थापन र आवश्यक कागजी काम निम्ट्याउने काममा लागिरहेको मन्त्रालयबाट खटिएका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए। ‘अहिले त हामी पनि सुत्ने खाटबाटै काम गरिरहेका छौं। प्रदेशका मुख्य सचिवसँग कम्प्युटर र कुर्ची टेवुल मागिरहेका छौं’-उनले भने-‘त्यसपछि बैठक अघि गर्नुपर्ने तयारी थाल्छौं। सांसदको परिचयपत्रदेखि कार्यविधि छपाईमा पनि बैठक अघि नै सक्नुपर्छ।’ उनका अनुसार प्रदेशको कार्यविधि केन्द्रबाटै ड्राफ्ट तयार गरेर ल्याइएको छ। त्यसबारे सर्वदलीय भेलामा छलफल गर्ने र प्रदेशसभाको पहिलो बैठकबाट नै पारित गर्ने योजना छ। यद्यपि सांसदहरु पोखरामा नभएकाले सर्वदलीय बैठक बस्न ढिलो भइरहेको बुढाथोकी बताउँछन्। ‘हामी आएकोबारे ज्येष्ठ सदस्य (अस्थायी सभामुख) लाई जानकारी गराइसकेका छौं। वहाँ १९ गतेमात्रै पोखरा आउने कुरा छ’-उनी भन्छन्-‘वहाँसँगै छलफल गरेर सर्वदलीय बैठक बोलाउने हो। सम्भवतः २० गते सर्वदलीय बैठक बस्न सक्छ।’

नेताहरुसँग छलफल गरेरै सांसदको बोल्ने समय निर्धारण हुने प्रदेशसभाका लागि खटिएका उपसचिव गोपाल सिग्देलले जानकारी दिए। ‘हामी त सहयोग गर्ने हो। निर्णय गर्ने पावर हामीसँग छैन’-उनी भन्छन्-‘सर्वदलीयले गरेको सुझाव आधारमा सभा सञ्चालन फारमको ढाँचा र परिचयपत्र तयार हुन्छ। उनीहरुसँगै सुझाव मागेर कार्यविधि पारित गछौर्ं।’

प्रदेशसभा सञ्चालनका लागि सरकारले २७ जना कर्मचारी खटाए पनि हालसम्म हाजिर नभएका उनले बताए। ‘२७ जनालाई खटाएको सूचना पढेको हो। अहिलेसम्म कोही पनि आइपुग्नुभएको छैन’-उनले थपे-‘हामीलाई सहजीकरणका लागि मात्रै भनेर पठाएको हो। कर्मचारी नआएपछि सबै काम आफै गर्नुपरेको छ।’ सरकारले खटाएका ४ कर्मचारी बढीमा १ महिना पोखरा बस्छन्। यहाँ रहँदा संसद् सञ्चालनको प्रक्रियाबारे कर्मचारीलाई सिकाउँछन्। पहिलो दिनको सभा सहज रुपमा सम्पन्न गर्नका लागि पूरापूर तयारीमा लागिसकेको प्रदेशका मुख्यसचिव लक्ष्मण अर्यालले बताए।

कसरी चल्छ पहिलो बैठक ?

प्रदेशका ज्येष्ठ सांसद जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक प्रारम्भ हुन्छ। नयाँ सभामुख निर्वाचित नहुँदासम्म उनी नै प्रदेश ४ को लागि सभामुख हुन्। सभा शुरु भैसकेपछि श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने छन्। त्यसपछि मौन धारण हुनेछ। प्रदेशसभा सञ्चालनको कार्यविधिबारे बैठकमा प्रस्ताव पेश हुनेछ। त्यसमाथि छलफल गरेर बैठकले पारित गर्नेछ। दलगत रुपमा सांसदले पालैपालो बोल्नेछन्। उनीहरुको बोल्ने समय बैठक अगाडि नै निर्धारण भैसकेको हुनेछ। सम्भव भएसम्म सोही दिन सभामुख र उपसभामुखको निर्वाचन मिति तोकिने छ। बैठक अगाडि १९ गते कर्मचारीहरुले प्रदेशका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठसँग भेट गर्नेछन्। २० गते सर्वदलीय बैठक बसेर सांसदको वर्णनुक्रम निर्धारण हुन्छ। सोही दिन परिचयपत्र र कार्यविधिको मस्यौदा छपाइबारे पनि छलफल हुन्छ।

२१ गते रिहसल गरेर २२ गते बिहान ११ बजे प्रदेश ४ को पहिलो बैठक प्रारम्भ गरिनेछ। बैठकको समय पनि सर्वदलीय बैठकले निधो गर्नेछ। सभा व्यवस्थापनका लागि ३० जना मर्यादापालकको व्यवस्था गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width