विश्वासको ह्याटि्रकसँगै थ्रीस्टार फाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४
football

पोखरा, १७ माघ । पोखराको मैदानमा विश्वास श्रेष्ठ चम्किएपछि भारी गोलअन्तरले एकतर्फी नतिजा आफ्नो पक्षमा पार्दै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको पनि उपाधि नजिक पुगेको छ । थ्रीस्टार यो सिजनमा लगातार दुर्इ प्रतियोगितामा फाइनलमा पुगेको छ ।

गत शनिबार मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार बुधबार पाहुना टोली उत्तर बरिन्धरा क्लब, बंगलादेशलाई एकतर्फी ५ गोल वर्षाएको हो । पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारका विश्वास श्रेष्ठले प्रतियोगितामै पहिलो ह्याटि्रक गरे । पहिलो खेलमा एपीएफविरुद्ध मुस्किलले टाइब्रेकरमा हराउँदै सेमिफाइनल खेलेको थ्रीस्टारसामु विदेशी टोली निरीह बन्यो । उसका दुर्इ भरपर्दा अफ्रिकनमूलका खेलाडी अघिल्लो खेलमा रातो कार्ड व्यहोर्दै बाहिरिँदा बंगलादेशी टीमले यसरी लज्जास्पद पराजय बेहोर्नुपरेको हो ।

पाँचौं पटक फाइनल प्रवेश गरेको थ्रीस्टारले चार पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ । फाइनलमा पुग्दा अहिलेसम्म उसले पराजय व्यहोरेको छैन । थ्रीस्टारले अब नेपाल पुलिस र धरान फुटबल क्लब सुनसरीको विजेतासँग शनिबार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । एकतर्फी खेलमा थ्रीस्टारले उत्तर बरिन्धरा क्लबलाई पूर्णतया दबदबा कायम राख्यो । ४० मिनेटसम्म गोल गर्न नसकेको थ्रीस्टारले पहिलो हाफको मात्रै ५ मिनेटमै लगातार ३ गोल गरेको थियो । उसले खेलको ४१ औं मिनेटमा विष्णु गुरुङको गोलबाट खाता खोल्यो । विश्वास श्रेष्ठको क्रसमा बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई उनले जाली चुमाएका हुन् । पहिलो गोल भएको ४ मिनेटपछि थ्रीस्टारले अग्रता दोब्बर बनायो । पहिलो हाफको अन्तिम मिनेटमा विश्वास श्रेष्ठको पासमा डिबक्स भित्र रहेका नीराजन खड्काले गोल पोष्टको दिशा दिए । त्यसको दुर्इ मिनेट पनि बित्न नपाउँदै नीराजनले आफूलाई पास मिलाइदिएका विश्वासलाई पहिलो गोल गर्न सहयोग गरे ।

तीन गोलले पछि परेको बंगलादेश दोश्रो हाफमा र्फकन सकेन । ६७ औं मिनेटमा विश्वासको व्यक्तिगत दोश्रो गोल मद्दतमा थ्रीस्टारले चौथो गोल गर्‍यो । बुद्ध चेम्जोङको क्रसमा नीराजनले मिलाइदिएको पासमा विश्वासले गोल गरे । खेलको ७५ औं मिनेटमा गोल गरेर विश्वासले ह्याटि्रक पूरा गरे । उनले सुनिल बलको फ्रिकिकमा फस्टबार च्याप्दै हेडमार्फत गरेको प्रहार गोल परिणत भएको थियो । थ्रीस्टारले आधा दर्जन बढी गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । विजयी भएपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम कमजोर हुँदा राम्रो खेल हुन नसकेको बताए । पहिलो हाफको ४० मिनेटसम्म आफूहरु विपक्षीको खेल बुझनका लागि पर्ख र हेरको रणनीतिमा खेलेको र त्यसपछि रणनीति परिवर्तन गर्दा लगातार गोल निस्केको उनको भनाइ छ । बंगलादेशी टिमलाई कमजोर प्रतिद्वन्द्वी भन्दै प्रशिक्षक केसीले भने-‘सेमिफाइनलमा यति कमजोर टिमसँग थ्रीस्टारले यसभन्दा अघि कहिल्यै खेलेको पनि थिएन र अब कहिल्यै खेल्दैन ।’

उत्तर बरिन्धरा क्लबका वरिष्ठ उपाध्यक्ष मुसिबुर रहमानले ३/४ खेलाडी घाइते भएको र २ जनाले रातो कार्ड खाएर खेल्न नपाउँदा टिम कमजोर बनेको र नतिजा पनि निराशाजनक आएको बताए । उनले आयोजकको आतिथ्यता, नेपाली र पत्रकारलाई आभार प्रकट गर्दै आगामी वर्ष आउन इच्छुक रहेको तर सशक्त आउने बताए । क्लब अनुसार अहिले बरिन्धरा क्लबका सिनियर खेलाडी बंगलादेशमै एक प्रतियोगितामा सहभागी छ । बरिन्धराले पहिलो खेलमा सुदूरपश्चिम एफसीलाई २-१ गोलले पराजित गरेको थियो । सो खेल निकै तनावपूर्ण बन्दा अहिलेसम्मकै सबैभन्दा बढी कार्ड प्रयोग समेत भएको थियो र त्यसको असर यो खेलमा पर्‍यो । खेलमा ह्याटि्रक म्यान थ्रीस्टारका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच बने । बिहीबार दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लब र धरान फुटबल क्लब प्रतिष्पर्धामा हुनेछ । पुलिस क्याराभान सहित पाँच पटकको उपाधि विजेता टोली हो । पुलिसले पहिलो खेलमा मनाङ मस्र्याङ्दीलाई ३-१ गोलले पराजित गरेको थियो। प्रिक्वार्टरबाटै खेलेको धरानले पहिलो खेलमा सिक्किम युनाइटेडलाई ३-०, क्वाटरफाइनलमा आर्मीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइनास–५ लाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    लमजुङ । जिल्लास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि राइनास नगरपालिका–५ ले जितेको छ । फाइनलमा मध्यनेपाल नगरपालिका–५ लाई ३–२ सेटले पराजित…
  • हेमजा गोल्डकपको तयारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । हेमजामा सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको तयारी थालिएको छ । हेमजा युनाइटेडको आयोजनामा आउँदो कात्तिक ११ देखि १८…
  • लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा शुक्रबारदेखि सुरु भएको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल जारी…
  • न्यु डायमण्ड २ खेलमा विजयी

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । न्यु डायमण्ड युथ स्पोर्टर्स क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत २ खेलमा जित दर्ता गरेको छ । नवआदर्श सामुदायिक विकास…
  • साविक विजेता श्यामलाई गल्फ उपाधि

    प्रकाश ढकाल भाद्र ३१, २०८०
    लोमान्थाङ । मुस्ताङ गल्फ च्यालेन्ज उपाधि साविक विजेता श्याम तामाङले जितेका छन् । ‘स्टेबल फोर्ड’ फम्र्याटमा खेलाइएको खेलमा उनले एक…

hero news full width