अग्रता गुमाउँदा आर्मी धरानसँग टाइब्रेकरमा स्तब्ध

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४

पोखरा, १४ माघ । अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लब १६ औं आहा रारा गोल्डकपको उपाधि यात्राबाट पनि बाहिरिएको छ । आर्मी तुलनात्मक रुपमा सहज आँकलन गरिएको धरान फुटबल क्लबसँग टाइब्रेकरमा ५-४ गोलले स्तब्ध बन्यो ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कप्तानको जिम्मेवारी सम्हालेका आर्मीका जर्ज प्रिन्स कार्कीको पेनाल्टी क्रसबारमा लागेर विफल बनेपछि आर्मीले इटहरी कपकै नियति ब्यहोर्न बाध्य बन्यो। आर्मी ४ दिनअघि सम्पन्न खेलमा थ्रीस्टारसँग ५-३ गोलअन्तरले पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

आइतबारको खेलमा अतिरिक्त समयमा भरत खवास मैदान बाहिरिएपछि कार्कीले टीमको कप्तानी सम्हालेका थिए। धरानका कप्तान विष्णु सुनार, निशान लिम्बु, बुद्धिमान राई, रोमन लिम्बु र सुरज विकले गोल गरे। आर्मीका नवयुग श्रेष्ठ, दीपक गुरुङ, दीप लामा र विवेक बस्नेतले गोल गरे। निर्धारित ९० मिनेटमा दुवै तर्फबाट १-१ गोलको बराबरी भएपछि २० मिनेट अतिरिक्त समय थपिएको थियो। थप गोल हुन नसकेपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। विजेता धरानले माघ १६ मा हुने नेपाल पुलिस क्लब र साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

खेलमा आर्मीले १८ औं मिनेटमा भरत खवासको गोलमा अग्रता लियो। एरिक विष्टको कर्नर प्रहारमा विकास तामाङले डि-बक्स एरियामा मिलाइदिएको पासमा भरतले गोल गरे। धरानले ६३ औं मिनेटमा मात्र खेल बराबरीमा ल्यायो। निशान लिम्बुले पेनाल्टी एरियामा हुलमुलमा भेटेको बल सेकेण्ड बार च्याप्दै जाली चुमाए। गोल खानुअघि सम्हालिएर खेलेको धरान १-० ले पछि परेपछि भने आक्रामक रुपमा प्रस्तुत भयो। बराबरीपछि भने ऊ रक्षात्मक बन्न बाध्य भयो।

यसअघि तीन पटक फाइनल यात्रा तय गरेको आर्मीले आधा दर्जन बढी गोल गर्ने अवसर गुमायो। ८८ औं मिनेटमा नवयुग श्रेष्ठले हेड गरी बललाई जाली चुमाए पनि रेफ्री सुदीश पाण्डेले अफ्साइड रहेको भन्दै मान्यता दिएनन्। अतिरिक्त समयको दोस्रो मिनेटमै नवयुग श्रेष्ठको प्रहार पोलमा लागेर फर्कियो। युवा खेलाडीले भरिएको धरानले पनि केही राम्रा गोल गर्ने अवसर गुमाउँदा निर्धारित समयभित्रै जित निकाल्न सकेन। खेलको १५ औं मिनेटमै धरानले अवसर पाएको थियो। दीपेश मगर चुके।

धरानका म्यानेजर अशोक राईले अघिल्लो खेलभन्दा सुधारिएर खेल्दा जित निस्केको प्रतिक्रिया दिए। उनले बलियो आर्मीसँग रक्षात्मक खेल्ने रणनीति सफल भएको बताए। आगामी खेल मनाङसँग नै खेल्न आफू इच्छुक रहेको उनको प्रतिक्रिया थियो। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीले विपक्षीलाई कम आँक्दा र सहयोगी भावमा नखेल्दा पराजित हुन पुगेको प्रतिक्रिया दिए। १ गोलको अग्रता लिएपछि खेलाडीले सहजै जितिन्छ भनेर ‘इजी’ सोच्दा हार्नुपरेको उनको भनाइ थियो। पहिलो रोजाइको गोलकिपर विकेश कुथु, जितेन्द्र कार्की लगायत खेलाडी घाइते भएकाले पनि सोचेजस्तो प्रदर्शन गर्न नसकेको उनले बताए।

आइतबारको खेलमा धरानका लागि बराबरी गोल गर्ने निशान लिम्वु म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो।

प्रतियोगिताअन्तर्गत सोमबार एपीएफ क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ। इटहरी गोल्डकप विजेता थ्रीस्टारको पोखरामा यो ११ औं पटकको उपस्थिति हो। गत वर्ष एन्फासँगको टकरावका कारण कुनै पनि फुटबल नखेलेको थ्रीस्टार १४ औं संस्करणमा पहिलो खेलमै आर्मीसँग १-० गोलअन्तरले पराजय व्यहोर्दै बाहिरिएको थियो। चार पटकको विजेता थ्रीस्टार चौधौसहित दोस्रो, चौथो, आठौं र १२ औं संस्करणमा सहभागी भएन। उसले पाँचौं, नवौं, ११ औं र १३ औं संस्करणमा उपाधि चुमेको थियो।

एपिएफले पहिलो खेलमा सिएमजी क्बल संकटालाई १-० झिनोअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। आहारारा गोल्डकपमा यो सहित १२ औं पटक सहभागी एपीएफ लगातार ३ वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो। छैटौं संस्करणको फाइनल खेलेको उसलले त्यसको अघिल्लो वर्ष सेमिफाइनल यात्रा तय गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…
  • बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । बगर भाइखलक आयोजनामा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…
  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।…
  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…

hero news full width