पोखरा, ७ माघ । प्रदेश ४ का सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई शपथ गराए । ६७ वर्षीय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुँवरसँग उनकै कार्यकक्ष -साविक अध्यागमन कार्यालय) मा शपथ बुझेका थिए । श्रेष्ठ नयाँ सभामुख निर्वाचित नभएसम्मका लागि स्वतः सभामुख समेत तोकिएका छन् ।
प्रस्तावित प्रदेशसभाको भवन पोखरा नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा शपथको कार्यक्रम गरिएको हो । सामूहिक शपथ ग्रहण हुँदा २ जना सांसद सहभागी भएनन् । तनहुँ क्षेत्र १ प्रदेशसभा (क) का सांसद रामबहादुर गुरुङ र मनाङ प्रदेशसभा (ख) का सांसद राजीव गुरुङ -दीपक मनाङे) सहभागी नभएका हुन् । तर ढिलो गरी उपस्थित भएकाले रामबहादुरलाई पछि शपथ गराइएको छ ।
मनाङे भने ज्यान मार्ने उद्योग मुद्दामा अदालती फैसलापछि पक्राउ आदेश लिएर बसेको प्रहरी नजिक पर्न चाहेनन् । उनी पक्राउ पुर्जी काटेको खबर पाएपछि फरार छन् । हाल शपथ नलिएका कारण मनाङे राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि सहभागी हुन पाउने छैनन् । ‘आज निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ । आइतबार शपथ लिएका जति सबै मतदाता भएका छन्’-क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले भने-‘राजीव गुरुङको बारे हामीले केन्द्रमा लेखी पठाएका छौं । सम्भवतः वहाँले भोट हाल्न पाउनुहुन्न ।’ उनको नाम घटेपछि राष्ट्रियसभा सदस्य चुनावका लागि प्रदेश ४ बाट २ सय २९ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले माघ २५ का लागि चुनाव घोषणा गरेर कार्यतालिका अनुसार काम गरिरहेको छ ।
सांसदले पद तथा गोपनीयताको शपथ लिएपछि देशको संघीय प्रणाली अनुसार दोश्रो तहको सरकारले आकार लिन थालेको छ । शपथ बुझेपछि यहाँका सांसद आपसी भेटघाट र विकासे एजेण्डाबारे छलफल गर्न थालेका छन् । मुस्ताङका सांसद इन्द्रधारा विष्ट प्राकृतिक श्रोत र सम्पदालाई उच्चतम उपयोग गरेर आर्थिक वृद्धिदर बढाउने बताउँछन् । नवलपुरका सांसद कृष्णचन्द्र नेपाली पनि विकासका आधारभूत पूर्वाधार विस्तारका लागि आफ्नो सक्रियता रहने धारणा राख्छन् । ‘कालिगण्डकी कोरिडोर ४ नम्बरको विकासे ढोका हो । त्यसबाहेक यहाँका अन्य राजमार्ग पनि स्तरोन्नति र विस्तार गर्नुछ’-उनले भने-‘जनताले मलाई काम गर्नका लागि निर्वाचित गरेका हुन् । उनीहरुको भावना मर्न दिन्न ।’
कास्कीका सांसद विन्दुकुमार थापा पनि प्राकृतिक श्रोतसाधन प्रयोग तथा निजी क्षेत्रको लगानी बढाउने योजना बुनिरहेका छन् । उनले एग्रो टुरिजमलाई समृद्धिको मुख्य एजेण्डाको रुपमा स्थापित गर्ने बताए । गोरखाका सांसद हरिशरण आचार्यले राजनीतिक सहमतिमै मन्त्रिमण्डल विस्तार गर्ने र विकासको गुरुयोजना तयार गरेर काम थाल्ने प्रतिक्रिया दिए । तनहुँकी सांसद आशा खनालले विकेन्द्रिकरणको अभ्यास शुरु भएकाले यसलाई टुंगोमा पुर्याउने प्रतिबद्धता जनाइन् । सबैजसो सांसदले विकासे मोडलबारे आफ्ना धारणा पोखिरहेका छन् ।
प्रदेशको पहिलो बैठक निर्वाचन परिणाम आएको २० दिनभित्र बोलाउनुपर्ने प्रावधान छ । प्रदेश प्रमुखले सभाको बैठक बोलाउनेछन् । अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नेछन् । प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानमा छ । एकल पार्टीको बहुमत नपुगे दुर्इ दलको समर्थन प्राप्त गर्नेलाई नियुक्त गर्नुपर्ने छ । बैठकको १५ दिनभित्रै प्रदेशसभाको सभामुख र उपसभामुख निर्वाचित हुनेछन् । त्यसपछि प्रदेश सरकारले आफ्नो मन्त्रिमण्डल विस्तार गर्नेछ।
शपथसँगै सरकार गठनमा नेताको चासो
प्रदेश सांसदको शपथपछि अहिले मुख्यमन्त्री र सरकार गठनको बहस शुरु भएको छ । वाम गठबन्धनको बहुमत रहेको यो प्रदेशमा एमाले र माओवादीकै संयुक्त सरकार गठन हुने पक्काजस्तै छ । यद्यपि पार्टीएकीकरण र आन्तरिक तयारी सार्वजनिक नभएकाले यसै भन्न सकिने अवस्था छैन । एमाले एक्लैले प्रदेश ४ को सरकार गठन गर्न सक्दैन । सरकार गठनका लागि चाहिने ३१ सिट माओवादी बाहेक एमालेको सामान्य कसरतबाट पनि पूरा हुन सक्छ । स्वतन्त्र भनिएका मनाङका सांसद राजीव गुरुङ -दीपक मनाङ्गे) ले एमालेकै सहयोगमा चुनाव जितेका हुन् । उनी एमाले प्रवेश गर्ने र अपुग ३ सांसद जनमोर्चाबाट लिए पनि एमालेकै नेतृत्वमा सरकार गठन हुन सक्छ । एमाले एक्लैले यो प्रदेशमा २७ सिट पाएको छ । प्रत्यक्षमा १७ सिट जितेको छ भने १० जना समानुपातिक सांसद छन् ।
उता, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिक ३ गरी १२ सिट पाएको छ । दुवैको मिलाउँदा ३९ सिट वाम गठबन्धनले मात्रै पाएको छ । अझै राष्ट्रिय जनमोर्चाको ३ जना जोड्दा ४२ सिट हुन्छ । काँग्रेसको यो प्रदेशमा १५ सांसदमध्ये प्रत्यक्ष ६ र समानुपातिक ९ जना छन् । बाँकी रहेको ३ सांसदमा नयाँ शक्तिको २ र १ जना स्वतन्त्र छन् ।
काँग्रेसमा संसदीय नेता को ?
गठबन्धन भएमा यो प्रदेशमा काँग्रेसको सरकार हुँदैन । तर बलियो प्रतिपक्षी भने कायमै छ । १५ सिट जितेको काँग्रेसमा अहिले संसदीय दलको नेता को बन्ने भन्ने नामावली चर्चामा छन् । काँग्रेसबाट नवलपुरका सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको नेतामा मुख्य दावेदार हुन् । नवलपरासीका काँग्रेस पूर्व सभापति र केन्द्रिय सदस्य समेत बनिसकेका उनी प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री बन्ने दाउमा थिए । तर काँग्रेसको पराजयले उनको त्यो यात्रा लगभग टुंगिएको छ । यद्यपि संसदीय दलको नेता बन्ने अवसर कायमै छ । यता प्रदेश राजधानी र बलियो प्रतिष्पर्धामा चुनाव जितेका कास्कीका सांसद विन्दुकुमार थापा पनि बलिया दावेदार हुन् । प्रदेश राजधानी पोखरामा भएको कारण र उनी पनि पोखराकै सांसद भएका कारण उनलाई केही नेताहरुले दावेदारको रुपमा अघि सारेका छन् । काँग्रेस पूरै क्लीन स्वीप भएको कास्कीमा बागी उम्मेदवारबीच पनि उनले चुनाव जितेका थिए ।
समानुपातिकतर्फ सांसद संसदीय दलको नेता भए कुमार खड्का बलियो छन् । खड्का अखण्ड पार्टीाई काँग्रेसमा विलय गराएर प्रदेशको समानुपातिक सांसद बनेका हुन् । उनी हाल काँग्रेसको केन्द्रिय आमन्त्रित सदस्य पनि हुन् । खड्का पनि मुख्यमन्त्रीका लागि प्रदेश सांसद बनेका काँग्रेस श्रोत बताउँछ ।
‘सरकारी सुविधा समाजसेवामा’
गोरखा क्षेत्र २ प्रदेशसभा (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आफूले सांसदको हैसियतमा पाउने सबै सेवा र सुविधा समाजसेवामा लगाउने बताएका छन् । आइतबार शपथग्रहणपछि बाहिरिँदै उनले सरकारी सुविधा आफ्नै निर्वाचन क्षेत्रको वडातहमा खर्च गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘सबैभन्दा पहिले मलाई यहाँ पुर्याइदिने जनतालाई धेरै धन्यवाद छ । समाजसेवाबाट मेरो राजनीति शुरु भएको हो’? पत्रकारसँग कुरा गर्दै उनले भने-‘५ वर्षसम्म पाउने सुविधा मेरै क्षेत्रको हरेक वडामा दिने घोषणा गरेको छु । राजनीति र सामाजिक सेवामा हामी जसरी होमिन्छौं, त्यसको उदाहरण म देखाएरै छाड्छु ।’ उनले आफ्नो निर्वाचन क्षेत्र र प्रदेश ४ को विकासका लागि तत्कालै योजना तय गर्ने र कार्यान्वयनका लागि सम्बन्धित निकायसँग घचघच्याउने प्रतिबद्धता जनाए ।
दवाडीले प्रदेशमा गोरखाको बलियो उपस्थिति जनाउने बताएका छन् । ‘राजनीतिकर्मी भएकाले मेरो पार्टीको धारणा पनि मैले बुझ्नुपर्छ । जनताका आवश्यकता मनन गर्नुपर्छ’-उनी भन्छन्-‘गोरखाको बलियो उपस्थिति प्रदेशमा रहनेछ । त्यसमा मेरो भूमिका सक्रिय हुन्छ ।’ उनले राजनीतिभन्दा अघिदेखि नै गोरखाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत रुपमा छात्रवृत्ति सहयोग गर्दै आएका थिए । हालसम्म १ सय ५६ जना विद्यार्थीलाई सहयोग गरेको दवाडीले बताए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९