शपथ हतारोले फाष्टट्रयाकमा मर्मत

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४
pradesh pramukh in pokhara

पोखरा, ६ माघ । तालिम र सभा सम्मेलनका लागि बनाइएको पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र अब सांसदको भेला हुने ठाउँ बनेको छ । २०२८ सालमा नगर प्रशिक्षण केन्द्रका भवनहरु निर्माण भएपछि २०४९ सालमा सभाहल बनेको थियो ।

तत्कालीन प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाले उद्घाटन गरेको सभाहल २५ वर्षपछि संघीय संरचना अनुसार प्रदेशसभामा परिणत भएको छ । सामान्य टुटफुट मर्मत गरिए पनि निर्माणकै बेलादेखि यहाँका भवनहरु मर्मत सम्भार भएका छैनन् । तर राज्यको पुनर्ःसंरचनाले लामो समयपछि नगरविकास प्रशिक्षण केन्द्र रंगिएको छ । यहाँको चहलपहल बढेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । देश संघीय संरचनामा गएपछि आवश्यक पर्ने प्रादेशिक कार्यालय खोज्ने क्रममा प्रादेशिक संरचना सिफारिस समितिले नगर प्रशिक्षण केन्द्रलाई प्रदेशसभा र सचिवालयका लागि उपयुक्त भनि सिफारिस पठाएको थियो । सोही सिफारिसका आधारमा अहिले मर्मत सम्भार थालिएको क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले जानकारी दिए ।

‘आइतबार प्रदेशका सांसदज्यूको शपथको कार्यक्रम छ । सरकारको निर्णय ढिलो भएका कारण काममा हतारो पनि बढी छ’-उनले भने-‘आइतबारदेखि नगर प्रशिक्षण केन्द्र प्रदेशसभाको रुपमा स्थापित हुनेछ ।’ यो भवन नेपाल सरकार र संघीय गणतन्त्र जर्मन सरकार (जिटी जेड) को संयुक्त सहयोगमा निर्माण गरिएको हो ।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी केन्द्र तोकिएपछि पोखरामा प्रादेशिक कार्यालय धमाधम मर्मत भैरहेका छन् । प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा कार्यालयको मर्मत र सरसफाईमा पूरै शक्ति खटिएको छ । अध्यागमन कार्यालयलाई पर्यटन कार्यालयमा सारेर त्यहाँ प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । रंगरोगन सहित आवश्यक फर्निचरको व्यवस्था मिलाइएको छ । अध्यागमन कार्यालयको साईनबोर्ड हटाएर प्रदेशप्रमुखको कार्यालय लेखिएको साईनबोर्ड टाँसिएको छ ।

उता, प्रदेश सांसदलाई शपथ खुवाउने कार्यालय नगर प्रशिक्षण केन्द्रमा पनि अत्यावश्यक व्यवस्थापनको काम भैरहेको छ । शनिबार दिनभर रंगरोगन र स्टेज तथा कुर्चीको व्यवस्था मिलाइएको र बाँकी काम आइतबार बिहानै हुने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । सहज जनसम्पर्क हुन सक्ने, सुरक्षाका दृष्टिले सहज तथा भौतिक पूर्वाधारलाई मुख्य आधार बनाएर प्रदेशका कार्यालय व्यवस्थापन गरिएको उनको भनाइ छ । ‘सबै काम हतारमै भैरहेका छन् । तर हतारो देखाएर व्यवस्थापनमा कुनै कमजोरी भएको छैन’-उनले भने-‘प्रदेश प्रमुखको कार्यालय लगभग तयार भएको छ । प्रदेशसभा आइतबार बिहानै रेडी हुन्छ ।’

गत बुधबार अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै प्रदेशका आवश्यक सबै कार्यालयहरु राख्ने तयारी गरिएको हो । मुख्यमन्त्री, प्रदेशप्रमुख लगायत आवश्यक सबै मन्त्रालयहरु साविकका सरकारी भवनमै रहनेछन् । प्रदेशसभाको पहिलो बैठक बसेको २० दिनभित्रै मुख्यमन्त्री निर्वाचित हुनेछन् । त्यसपछि मन्त्रीमण्डल विस्तार हुनेछ । मुख्यमन्त्री र अन्य मन्त्रालयहरुको व्यवस्थापन पनि थप चुनौती छ । जिल्ला समन्वय समितिमा मुख्यमन्त्री र अरु क्षेत्रीय तथा जिल्लास्तरका कार्यालयहरुमा सम्भावित मन्त्रालय राख्ने गरी तयारी भैरहेको छ । यसको सबै रुपरेखा समितिले सरकारलाई बुझाएर मर्मत खर्च समेत मागेको छ । तत्कालको मर्मतका लागि २८ करोड मागिए पनि हालसम्म बजेट निकासा नभएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।

के हुन्छ मनाङ्गेको शपथ ?

प्रदेश सांसदले आइतबार शपथ लिँदा मनाङबाट निर्वाचित सांसद दीपक मनाङ्गे भने सहभागी हुने छैनन् । सवोर्च्च अदालतले अपराधी ठहर गरी ५ वर्ष कैद सजाय सुनाएका कारण उनी सहभागी नहुने सम्भावना छ । यद्यपि अदालती काजगात निर्वाचन आयोगमा नपुगेका कारण शपथका लागि खबर गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । तर उनी शपथका लागि आए पनि प्रहरीलाई दीपक मनाङ्गे पक्राउ गर्ने आदेश भएका कारण शपथ अघि नै प्रहरीले पक्राउ गर्ने बुझिएको छ । ‘शपथका लागि सांसदकै हैसियतले वहाँलाई खबर पुगेको छ’-श्रोतले भन्यो-‘प्रहरी पक्राउ पुर्जी लिएर बसेका कारण शपथ अघि नै पक्राउ गर्ने सम्भावना छ ।’

शपथपछि तत्काल उनलाई पक्रिन कानुनले पनि अवरोध मान्छ । त्यसैले झन्झट नहुँदै पक्राउ गर्ने प्रहरीको तयारीका कारण उनी यहाँ आउने सम्भावना नरहेको श्रोतको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । साहित्यकार एवं गायिका चन्द्रावती वाग्लेको तीजगीतको म्युजिक भिडियो ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक गरिएको छ । पोखरामा…
  • तीज महत्वविषयक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । विश्व हिन्दु महासंघ नेपाल मातृशक्तिद्वारा तीजको महत्व विषयक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विश्व हिन्दु…
  • निस्सा वितरण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिका वडा ११ मा बिहीबार निस्सा वितरण गरिएको छ । त्यस अवसरमा ३ जना भूमिहीन दलित, ८…
  • गाईजात्रा नाच प्रदर्शन

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । नयाँ सडक नेवाः पुचः, पोखरा–९ ले शनिबार गाईजात्रा नाच प्रदर्शन गरेको छ । विभिन्न रंगीचंगी पोशाकमा सजिएका कलाकारले…
  • परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको १६ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाले…

hero news full width