एक तिहाइले बुझाएनन् खर्च विवरण

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

पोखरा, २ माघ । पोखरा, २ माघ । कास्कीमा ६४ उम्मेदवारले मात्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ मा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन आयोगले सम्बन्धित दल तथा उम्मेदवारलाई निर्वाचन खर्च विवरण बुझाउन निर्देशन दिएकोमा अन्तिम दिनसम्म ६४ उम्मेदवारले मात्र खर्च विवरण बुझाएका हुन् ।

जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ गरी दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले अन्तिम दिन मंगलबारसम्म कुल ९५ जना उम्मेदवारमध्ये प्रतिनिधिसभा तर्फ २५ जना र प्रदेशसभातर्फ ३९ जना उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण बुझाएको जनाएको छ । यसरी ३१ जना अर्थात् एक तिहाई उम्मेदवारले अन्तिम दिन गुज्रदासमेत खर्च विवरण नबुझाएका हुन् ।

कास्कीमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ३५ जना र प्रदेशतर्फ ६० जना उम्मेदवार चुनावी मैदानमा थिए ।

निर्वाचन खर्च बुझाउनेमा अधिकांश ठूला दल छन् । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र ३ का संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेका डिलबहादुर नेपालीले सबैभन्दा धेरै खर्च विवरण बुझाएका छन् । उनले चुनावमा २४ लाख ७० हजार रुपैयाँ खर्च भएको भनेका छन् ।

त्यस्तै, सबैभन्दा कम रकम खर्च भएको भनी विवरण बुझाउने क्षेत्र २ बाट नेकपा मालेका टेकनाथ भण्डारी हुन् । उनले ३४ हजार खर्च विवरण बुझाए । निर्वाचनमा प्रतिनिधिसभातर्फ २५ लाख र प्रदेशतर्फ उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाइन्थ्यो ।

वाम गठबन्धनबाट विजयी कास्की क्षेत्र १ बाट एमालेका खगराज अधिकारीले १८ लाख ४२ हजार, क्षेत्र २ का एमालेका रवीन्द्र अधिकारीले १३ लाख ७६ हजार र क्षेत्र ३ का एमालेका जगत विश्वकर्माले १६ लाख ८९ हजार रुपैयाँ खर्च विवरण बुझाएका छन् ।

निर्वाचनमा दोस्रो बनेको काँग्रेसतर्फ कास्की १ का यज्ञबहादुर थापाले ९ लाख ८९ हजार, क्षेत्र २ बाट देवराज चालिसेले १० लाख ७४ हजार र क्षेत्र ३ बाट शुक्रराज शर्माले १७ लाख ८७ हजार रुपैयाँ विवरण बुझाएका छन् ।

उता, प्रदेशतर्फ ६५ उम्मेदवारमध्ये ३९ जनाले खर्च विवरण बुझाएकोमा सबैभन्दा बढी क्षेत्र ३ (१) का संघीय समाजवादी फोरम नेपालका उम्मेदवार चीनबहादुर नेपाली र सबैभन्दा कम क्षेत्र १ (१) का विवेकशील साझा पार्टीका नवराज खनालले निर्वाचन खर्च विवरण बुझाएका छन् । नेपालीले १४ लाख ६१ हजार र खनालले २१ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको आयोगको पोखरास्थित कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधिसभा र प्रदेश गरी कुल ९ सिटमध्ये ८ सिट जितेको वाम गठबन्धनका अधिकांश उम्मेदवारले विवरण बुझाएको कार्यालयले जनाएको छ । काँग्रेसका तर्फबाट प्रदेशमा एक सिट जितेका बिन्दुकुमार थापाले ११ लाख रुपैयाँ खर्च विवरण बुझाए।

यता, क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीका अनुसार निर्वाचन खर्च नबुझाउने उम्मेदवारले ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नपाउने सहित खर्च विवरण अनुसारको नगद असुल गर्ने लगायत कारबाही हुन्छ । यद्यपि, उनले २०७० सालको निर्वाचनमा आयोगले सम्बन्धित उम्मेदवार वा दललाई स्पष्टिकरण सोधेको र ५ सय रुपैयाँसम्म जरिवाना गरेको आफूलाई सम्झना भएको बताए । यद्यपि, यसपालि आयोगले के कति कारबाही गर्छ भन्ने यकिन नभएको बताए ।

तर, निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ को दफा ३१ मा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ । दफा ३१ को उपदफा ९४० बमोजिम त्यस्तो विवरण सार्वजनिक नगर्ने दल र उम्मेदवारलाई आयोगले १५ हजार जरिवाना गरी मनासिव समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्नेछ । आदेशानुसार तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने दल वा उम्मेदवारलाई आयोगले पटकैपिच्छे १५ हजार जरिवाना गर्न सक्ने उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width