ट्याक्सी व्यवसायीको मनोमानी

आदर्श समाज सम्वाददाता
पौष २७, २०७४

पोखरा, २६ पुस । पोखरामा ट्याक्सी मिटरमा गुड्दैनन् । धेरै प्रयास भयो मिटर प्रणाली लागू गर्ने तर कार्यान्वयनमा आउन सकेको छैन । ट्याक्सीले आफूखुशी भाडा असुलेको यात्रुको गुनासो छ भने मिटरमा गुड्ने सडक नै नभएको र मिटर समायोजन व्यवस्था प्रभावकारी नभएको ट्याक्सीचालक/व्यवसायीको आफ्नै तर्क छ ।

यसैबीच, कास्की प्रहरीले मंगलबारदेखि मिटरमा नचल्नेमाथि कारबाही थाल्यो । मंगलबार १८ जना ट्याक्सीचालक पक्राउ परे । उनीहरु रातभर थुनिएपछि यसको विरोधमा बुधबार बिहानदेखि ट्याक्सी व्यवसायी तथा मजदूर आन्दोलनमा उत्रिए ।

पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक लगायत पोखराका मुख्य चोकमा ट्याक्सी तेर्साएर पूर्वान्ह ९ बजेदेखि नै सडक आवागमन ठप्प बनाए । यसको प्रत्यक्ष मारमा सवारी चालक परे । मोटरसाइकल समेत छिर्न नसक्ने गरी ट्याक्सीले बाटो अवरोध गरेको थियो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह आफै बाटो अवरोध गर्ने ट्याक्सी हटाउन कस्सिए । प्रहरीले चोकचोकमा रहेका ट्याक्सी उचालेरै छेउ लगाए । ३ घण्टा अबरुद्धपछि दिउँसो १ बजेदेखि नै सडक खुल्यो । बुधबार थप १६ ट्याक्सीचालक थुनिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले मिटरमा चल्न नमाने वा बढी भाडा लिएमा प्रहरीलाई खबर गर्न आग्रह गर्दै अनुगमन नै गरेको थियो । पहिलो दिन पक्राउ परेका १८ जना ट्याक्सीचालक ५ हजार जरिवाना तिरेर छुटेका छन् ।

प्रहरी प्रमुख सिंहले भने कास्की जिल्लाभित्र चल्ने भाडाका ट्याक्सीहरुले मिटरमा चलाउन नामानेमा, बढी भाडा लिएमा वा यात्रुले भनेको स्थानमा जान नमानेमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

मिटरमा ट्याक्सी गुडाउने पूर्वाधार नै तयार नभएको भनिरहेका बेला चालकलाई नै थुनामा राख्ने गरी किन उत्रिएको – भन्ने जिज्ञासामा उनले भने-‘चालक मिटरमा चलाउन मान्छन् । व्यवसायी भने मान्दैनन् । कुरा बाझिएको छ । यात्रु ठगी गर्ने अनि गुन्डागर्दी शैलीमा सबैलाई दुःख दिएर ट्याक्सी तेर्साउने ?’  सिंहले भाडादर समायोजनका लागि पहल गर्न आग्रह गर्दै प्रहरीले आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताए । वार्ता र संवाद लत्याउँदै प्रहरी सस्तो लोकप्रियताका लागि धरपकडमा उत्रेको आरोप व्यवसायीले लगाइरहँदा उनले भने-‘प्रहरीले वार्ता गर्ने हो र भन्या ? प्रशासन, यातायातमा जाने हो नि । पोखराको कोर ठाउँमा बाटो अवरुद्ध गर्ने यो तरिका त भएन नि ।’

प्रहरी नायब निरीक्षक शिव थापाले अनियमित किसिमले भाडा लिने वा मिटरमा जान नमान्नेलाई कारबाही थालिएको बताए । उनले जनगुनासो मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले छड्के जाँच शुरु गरेको बताए । यातायात कार्यालयले पक्राउ परेकालाई जनही ५ हजार रुपैयाँ जरिवाना तिरेर भोलिपल्ट छाडेको छ ।

यता, ट्याक्सीचालकहरु भने मिटरमा चल्नै नसक्ने बताउँछन् । ट्याक्सीचालक अञ्जन अधिकारीले भने-‘हामी आफूखुशी ट्याक्सी चलाउन पाइँदैन । हाम्रो पनि आफ्नै क्षेत्र छ । क्युमा बसेर यात्रु आएपछि पालैसँग छुट्ने हो । कहिले त घण्टौसम्म पनि यात्रु मिल्दैन । पोखराको ठाउँमा मिटरमा एक सय पनि उठ्दैन भने कसरी हामी बाँच्ने ? खाली खाली र्फकनुपर्ने भएपछि गएको तेल खर्च पनि उठ्दैन ।’ उनले मिटरमा गए पनि र्फकदाँ यात्रु नपाउने भएकाले काठमाडौंजस्तो ठाउँ भए कुनै समस्या नहुने बताए ।

ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारी पनि काठमाडौमा लागू भयो भन्दैमा पोखराजस्तो ठाउँमा मिटरमा चल्न नसक्ने दाबी गर्छन् । ‘प्रहरी र प्रशासनको दादागिरी हो, यो धरपकड । राजधानीका सिडिओ, एसपीको तलब र दुर्गमका सिडिओ, एसपीको तलब एउटै हुन्छ ? दुर्गममा रहनेलाई किन भत्ता दिइन्छ ? पोखराका सडक पनि काठमाडौंजस्तो छ र, यात्रु त्यस्तै छ ?’

उनले यथास्थितिमा मिटरमा चलाउन सकिने कुनै पनि सम्भावना नरहेको जिकिर गर्दै राज्यले नीतिगत निर्णय गरेर यात्रु पनि नठगिने र व्यवसायी पनि नमर्ने गरी भाडा समायोजन गर्न आग्रह गरे ।

बिनापूर्वाधार एकतर्फी ढंगले प्रहरी लागेको भन्दै वार्ता र संवादका लागि वास्ता नै नगरेको आरोप उनको छ । पोखरा नगर क्षेत्रका केही स्थानमा बाहेक अन्यत्र मिटरमा चलाउन सक्ने अवस्था पनि नरहेको दावी गरे । ‘पोखरामा २७ किमी क्षेत्रमात्र ओहोरदोहोर हुन सक्ने भएकाले सो बाहेक अन्य सडक खण्डमा मिटरमा गुड्नै सक्दैन । टु वे मिटर सञ्चालन हुनुपर्ने ठाउँ खै ?’-उनले भने-‘पोखराका भित्री बाटामा मिटरमा बोक्न सकिँदैन ।’ उनले प्रशासन दादागिरी शैलीमा अघि नबढ्न चेतावनी दिँदै आफूहरु वार्ता  र संवादबाटै समस्या हल गर्न चाहेको बताए ।

यसैबीच, पृथ्वी राजमार्ग बस सञ्चालक समितिले समेत ट्याक्सीचालकलाई धरपकड गरी थुनामा राखेको विरोधमा बिहीबार आफू मातहतका सबै सवारीसाधन नचलाउने निर्णय गरेको महासचिव योगेन्द्रबहादुर केसीले जनाएका छन् ।

समितिका अध्यक्ष ऐनकुमार साईले वार्ता र संवादबाट समस्याको समाधान निकाल्नुपर्नेमा बलमिच्याईं ढंगले प्रहरी अघि बढेको दाबी गरे । यद्यपि उनले चक्काजामको कार्यक्रम भने नरहेको स्पष्ट पारेका छन् । आफू मातहतका सवारीमात्र नचलाउने, सडकमा चल्ने सवारी बन्द नगर्ने उनले प्रष्ट पारे ।

यता, ट्याक्सी व्यवसायी समितिले गरेको सडक अवरोधप्रति उपभोक्ता मञ्च कास्कीले ध्यानाकर्षण भएको जनाएको छ । विगत लामो समयदेखि पोखरामा ट्याक्सीहरु मिटरमा नचलेर मनोमानी रुपमा चल्दा आमउपभोक्ता चर्को मारमा परिरहेको व्यहोरा सर्वविदितै छ भन्दै प्रहरी प्रशासनले मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही सुरु गरेकोमा मञ्च कास्की हार्दिक स्वागत गर्दछ भनिएको छ । मञ्च अध्यक्ष कपिलनाथ कोइरालाले विज्ञप्तिमार्फत् उपभोक्ता ठगीमा आफ्नो पेसा सुरक्षित देख्ने हो भने अराजक अवस्था सिर्जना हुने भन्दै पेसामै रही उपभोक्ता लुट्न पाइरहनुपर्छ भन्नु सर्वथा अनुचित हो भनेका छन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width