तारानाथ शर्मा रहेनन्

सम्पादक
फागुन ५, २०७८

नेपाली आकाशमा चम्किलो ताराका रुपमा उदाएका वरिष्ठ साहित्यकार प्राडा तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार काठमाडौंस्थित आफ्नै निवासमा निधन भयो । उनी इलामको बरबोटे भन्ने स्थानमा १९९१ असार ९ गते जन्मेका थिए । उनी केही समय पहिलेदेखि विस्मृति रोगको समस्याका साथै उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । प्राडा तारानाथ शर्माले त्रिभुवन विश्वविद्यालयमा पढाए, बेलायतमा भिजिटिङ प्रोफेसरका रुपमा भएर पढाए । उनी सञ्चारकर्मीका रुपमा पनि परिचित छन् । उनले विद्यार्थी कालमा धेरै पत्रपत्रिकाको सम्पादन पनि गरे । भाषा साहित्यमा उनको पकड थियो । समालोचना विधामा उनले ख्याति कमाएका थिए । उनको बेलायततिर बरालिँदा नियात्राले २०२६ मा मदन पुरस्कार प्राप्त गरेको थियो । २०२९ मा उनको ‘समर समका कृत्ति’ ले साझा पुरस्कार प्राप्त गरेको थियो ।
प्रा.डा. शर्माले साहित्यका धेरै विधामा धेरै काम गरे । तर उनले २०१३ सालमा बल्लमणि दाहाल र भाषाशास्त्री बालकृष्ण पोखरेलसँग मिलेर जुन झर्राेवादको अभियान चलाए, त्यो अविस्मरणीय रहेको छ । उनीहरुले त्यो अभियान सञ्चालन गर्नुअघि नेपाली साहित्य ‘इन्डिया रिटर्न र बनारस रिटर्न’ बाजेहरुको प्रभावमा थियो । इन्डिया रिटर्नहरुले नेपाली साहित्यमा हिन्दी शब्दहरु तथा बनारस रिटर्नहरुले संस्कृत शब्द जथाभावी प्रयोग गर्दथे । जति धेरै त्यस्तो शब्द प्रयोग गरियो, उति त्यो साहित्य स्तरीय र महत्वपूर्ण मानिन्थ्यो । झर्राेवादले ती दुबै प्रवृत्तिको विरोध गरी नेपाली शब्दलाई प्राथमिकता दिए । नेपालीले नेपाली शब्द नै प्रयोग गर्नु पर्दछ भन्ने भावनाको विकास गरे ।
उनी विद्यार्थी अवस्थामा कम्युनिष्ट विचारधाराका थिए । जहाँ पनि परिवर्तन र क्रान्तिको कुरा गर्दथे । उनले आफ्नै नाममा पनि परिवर्तन ‘ताना शर्मा’ भनी शर्माको ‘श’ लेख्नु पर्नेमा ‘स’ लेखे । मविवि शाहका ‘उसैका लागि’ भन्ने कविताको कडा शब्दमा आलोचना गरे । पञ्चायत कालमा त्यसरी आलोचना गर्नु साधारण कुरा थिएन । तैपनि उनले गरे तर बेलायतबाट फर्केपछि उनको विचारधारमा धेरै परिवर्तन भयो । उनले शर्माको ‘स’ लाई त्यागी ‘शर्मा’ नै लेख्न थाले । त्यत्तिमात्र होइन चाँदनी शाहको गीतको प्रशंसा गरी जब उनले लेखे, त्यसबेलादेखि उनमा आएको वैचारिक परिवर्तनको सबैलाई प्रष्ट भयो । उनले यस्ता धेरै घुम्ती पार गरेका छन् । जहाँ जस्तो गरे तापनि भए तापनि उनी आजको विश्वविद्यालयका गुरुहरुका पनि गुरु हुन् । साहित्यिक फाँटमा उनको नाम झर्राेवादीका रुपमा रहिरहनेछ । त्यो झर्राेवादले गर्दा ठेट नेपाली भाषाको विकास भयो । नेपाली भाषाको विकासका लागि संस्कृत भाषाको या हिन्दी भाषाको बैसाखी टेक्नुपर्दछ भन्ने जुन मानसिकता थियो, त्यो पनि हट्दै गयो । यी सबै कुरा सम्झँदा नेपाली भाषाको विकास एवं उन्नथनमा उनको योगदान अविस्मरणीय मानिन्छ । उनको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको मानिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width