कवि तेजनाथ रहेनन्

सम्पादक
श्रावण २, २०७९

पोखरा ३, नदीपुर निवासी कवि तथा साहित्यकार तेजनाथ घिमिरेको शनिबार बिहान आफ्नै निवासमा निधन भयो । उनी लामो समयदेखि उच्च रक्तचाप मधुमेह र दम रोगबाट पीडित थिए । उनी पेसागत रुपमा शिक्षक थिए । उनले श्री ५ रत्न राज्यलक्ष्मी कन्या स्कुलमा प्रधानाध्यापक भएर काम गरेका थिए । उनले जुन बेला शिक्षक भएर काम गरे, त्यसबेला शिक्षकहरुका लागि महत्वपूर्ण बेला थियो । शिक्षकहरुले आफ्नो हक अधिकार र वृत्ति विकासको लागि संघर्ष गर्नु परेको थियो । त्यसबेला गठित शिक्षक संघ कास्कीका उनी संस्थापक अध्यक्ष भएर आन्दोलनमा होमिएका थिए । त्यसबेला राष्ट्रव्यापी रुपमा भएको आन्दोलनको क्रममा शिक्षकहरुको सेवा सुविधा आदि वृद्धि भएको थियो ।

बाहिर उनी कवि र साहित्यकारका रुपमा बढी चिनिन्थे । उनी छोटो मिठो कविता कोर्दथे । उनको कविता खँदिला हुन्थे । छन्दमा कविता लेख्न उनी सिपालु थिए । उनी पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष पनि भएका थिए । उनी जीवनको अन्तिम घडीसम्म पनि त्यो संस्थासँग आबद्ध रहे । संस्थाको कार्यक्रममा खास गरेर काव्य सन्ध्यामा उनी सधैं उपस्थित भएर युवाहरुलाई प्रेरणा दिन्थे । उनका देशकाल, अनावरण, कालचक्रलगायत कृति प्रकाशित छन् । साहित्यमा उनको योगदानको कदर गरेर २०३३ सालतिर हंसपुर साहित्य सम्मेलनमा गोल्डमेडल प्रदान गरिएको थियो । उनलाई कवि शिरोमणि पुरस्कार, राष्ट्रिय मुक्तक पुरस्कार पनि प्रदान गरेर सम्मान गरिएको थियो । त्यस्तै लेखक संघ केन्द्रीय समितिबाट २०७८ मा उनलाई अभिनन्दन पनि गरिएको थियो ।

पत्रकारिता क्षेत्रमा पनि उनको ठूलो योगदान रहेको छ । उनले एकताका हिमदूत पत्रिकामा पनि काम गरेका थिए । आदर्श समाज राष्ट्रिय दैनिकमा एउटा स्तम्भकारका रुपमा उनले लेख्ने गरेका थिए । आदर्श समाजमा उनले गरेको त्यो योगदानलाई आदर्श समाज परिवारले अविस्मरणीय रुपमा सम्झिरहने कुरा उल्लेख गर्न पाउँदा हामीलाई गर्वानुभूति भएको छ । स्वतन्त्र पत्रकार संघ गठनमा पनि उनको योगदान रहेको छ । उनले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गरेर उनलाई दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट पनि सम्मान गरिएको थियो । त्यस्तै उनलाई गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रजातन्त्र सेनानी सम्मानबाट सम्मान गरिएको थियो । उनले कन्या क्याम्पसको स्थापनामा उत्तिकै योगदान दिएका थिए । त्यस्तै नारायणस्थान गुठीको संरक्षण र प्रवद्र्धनका लागि पनि उनले अथक प्रयास गरेका थिए । आफ्नो जीवनको उत्तरार्धमा उनले विन्ध्यवासिनी परिसरमा रहेका ज्येष्ठ नागरिकलाई प्रत्यक्ष शुक्रबार प्रवचन गरेर ज्येष्ठ नागरिकहरुमा राम्रो प्रभाव पारेका थिए । उनी कट्टर प्रजातन्त्रवादी थिए । स्वाभिमानी थिए र आफ्नो विचारलाई तर्क र प्रमाणको आधारमा दरिलोसँग पेस गर्न कुशल थिए । उनी स्वच्छ र स्निग्ध थिए । र चरित्रवान् बन्नुपर्दछ भन्नेमा जोड दिने गर्दथे । यस्तो सम्मानीत, योग्य, प्रतिभावान् चरित्रवान् व्यक्तिको निधन हुनु अपुरणीय क्षति हो । हामी उहाँको निधनमा गहिरो शोक प्रकट गर्दछौं, उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width