करका दायरा बढाऊ

सम्पादक
श्रावण ५, २०७८

मुलुकभर कोरोना महामारीको प्रभाव छ । यतिखेर आर्थिक गतिविधि ठप्प प्रायः छन् । सञ्चालित केही आथिक गतिविधि पनि पहिलेकै अवस्थामा चलायमान हुन सकेका छैनन् । गण्डकी प्रदेश राजधानी पोखरामा पनि जिल्लामा जारी निषेधाज्ञाका कारण आर्थिक गविविधिमा पनि प्रभाव कायमै छ । यसबाट देशकै ठूलो क्षेत्रफल ओगटेको पोखरा महानगरपालिकाको आन्तरिक राजस्व संकलन, विकासका कार्यक्रम र नियमित सेवा प्रवाहमा प्रतिकूल असर परेको महानगरपालिकाले जनाएको छ । महानगरभित्र रोजगारी, आयआर्जन र जीविकोपार्जनका अवसर निकै नै नराम्रोसँग प्रभावित भइरहेको यो अवस्थामा विकास निर्माणका प्राथामिकता र योजनामुताविक क्रियाकलाप सञ्चालनमा समेत प्रतिकूलता सिर्जना भएको छ ।
पोखरा नेपालकै प्रमुख पर्यटकीय सहर मानिन्छ । नेपाल घुम्न आउने करिब ४० प्रतिशत पर्यटक पोखरा नघुमी फर्किदैनन् । तर झण्डै २ वर्षदेखि पोखराले बाह्य पर्यटक पाउन सकेको छ्रैन । पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्दा आम्दानीको स्रोत घटेको छ । यहाँको पर्यटन सेवा शुल्क रोयल्टी नामको शीर्षकमा ६२ लाख रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । यो वर्ष २३ लाख जम्मा भएको छ । स्थानीय तह बनेपछि पोखराको आन्तरिक आम्दानीमा खासै परिवर्तन छैन । भइरहेका स्रोतको कर बढाउने बाहेक नयाँ स्रोत खोजीमा पोखराको मिहिनेत देखिँँदैन ।
पोखराले अनुत्पादक क्षेत्रमै राजस्वको प्रमुख स्रोत मानेको छ । सम्पत्ति कर, भूमि कर र बहाल कर यहाँको आम्दानीका प्रमुख स्रोत हुन् । २ वर्षयता यिनै प्रमुख शीर्षकबाटै आम्दानी उतिसारो पाइँदैन । अघिल्लो वर्ष करिब ११ करोड संकलित बहाल करबाट यो वर्ष भिटौरीसमेत जोड्दा मुस्किलले ८ करोड उठेको जनाइएको छ । भूमि तथा मालपोत कर पोहोरभन्दा अहिले बढेको छ । पोहोर करिब ८ करोड संकलन भएकोमा यो वर्ष १० करोड नाघेको छ । अघिल्लो वर्ष साढे ८ करोड सम्पत्ति कर उठाएकोमा अहिले ७ करोड जम्मा भएको छ भने यो वर्ष व्यवसाय कर ६ करोड उठेको छ ।
महानगरभित्र कति संख्यामा घर निर्माण भए ? कति भाडामा दिइएको छ ? आधिकारिक तथ्यांक छैन । भाडामा लगाउनेहरु कागज मिलाउँदै कम आम्दानी देखाउँदासमेत अनुगमन हुँदैन । उनीहरु १० तलाको घरको १ तलाको मात्र कर तिर्छन् । कर्मचारीसँगको मिलेमतोमा राजस्व छली गर्ने परिपाटी अन्त्य हुन सकेको छैन । आन्तरिक आम्दानीको ठूलो हिस्सा नदीजन्य सामग्रीको उत्खनन् अर्थात् गिट्टी बालुवा बेचेर आम्दानी गरिरहेको पोखराले गत वर्ष १२ करोड संकलन गरेकोमा यसपालि २१ करोड उठायो । महानगरकै लगानीबाट आम्दानी गर्ने स्रोत नभएकोले अनुत्पादक क्षेत्रमा कर बढाउनुपर्ने अवस्था विद्यमान छ । महानगरले ठूला करदातालाई खोजी खोजी करको दायरामा ल्याउन सक्नुपर्छ । अनि करको दायरा बढाउनुतर्फ केन्द्रित हुनुपर्छ । सबै प्रकारका कर दस्तुर तथा शुल्क वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटि सच्याउने प्रयास गर्नुपर्छ । सम्पत्तिको मूल्यांकन आधारमा सम्पत्ति करलाई प्रगतिशील करको रुपमा परिचालन गर्ने दिशातर्फ अघि बढ्नुपर्छ । व्यवसाय करको दायरा बिस्तार गर्न अभियान सञ्चालन गर्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width