वाङ्मयी शताब्दी पुरुषप्रति श्रद्धाञ्जली

सम्पादक
कार्तिक १, २०७९

मानिस जन्मेपछि मर्नु पर्दछ, यो शाश्वत नियम हो । जन्मनु र मर्नु शाश्वत भएकाले दार्शनिकहरुले यसलाई सत्य भन्ने गरेका छन् । त्यही सत्यको आत्मबोध गरेर वाङ्मयी शताब्दी पुरुषको पहिचान बनाएका सत्यमोहन जोशीले २०७९ असोज ३० गते आइतबार जीवनको अन्तिम सत्यको अनुशरण गरे, महाप्रस्थान गरे । १०३ वर्षसम्म अर्थात् जीवनको अन्तिम घडीसम्म अथक परिश्रम गरेर सक्रिय रहेर सार्थक जीवन बाँचे । उनले नेपाल र नेपाली भाषा, साहित्य, संस्कृति, लोककला र नाटकको उन्नयनमा धेरै काम गरेर धेरै योगदान दिए । उनी गुणग्राही थिए, असल स्वभावका थिए । आँखामा राखे पनि नबिझाउने उनले आफ्नो पहिचान बनाएका थिए । उनी राणा शासन कालमा जन्मे, पञ्चायतमा खेले, राजाहरुको संगत गरे, गणतान्त्रिक व्यवस्थापनमा पनि काम गरे, तर कसैको सिकायत गरेनन् । आफ्नो काम निरन्तर गरिरहनुलाई नै उनले आफ्नो धर्म सम्झन्थे र काम गरिरहन्थे । काम गरेरै उनले सबैको मन जितेका थिए ।

उनले पहिलो पटक लोक संस्कृति भन्ने किताब लेखे । त्यो किताबले २०१३ सालमा पहिलो मदन पुरस्कार प्राप्त ग¥यो । त्यही किताबको आधारमा उनी २०१६ सालमा नेपालका पहिलो पुरातात्विक निर्देशक बने । मदन पुरस्कारको इतिहासमा उनी यस्तो व्यक्ति भए जसले ३ पटक मदन पुरस्कार प्राप्त गरे । उनी नेपाल प्रज्ञाप्रतिष्ठानको सह–प्राज्ञ भए, सदस्य सचिव भए । उनी नेपाल भाषा एकेडेमीका उपकुलपति पनि भएका थिए । उनले नेपाली भाषामा करिब ३ दर्जन र नेपाल भाषामा करिब ४ दर्जन पुस्तक लेखे । उनका कृतिहरु खोजमूलक हुन्थे र अनुसन्धानमा आधारित हुन्थे । पछिल्लो समय उनी आफैं इतिहास पुरुष भए र उनले जे भन्छन, त्यही नै इतिहास भए । उनलाई सुन्नु पनि ठूलो कुरा भयो । उनले पनि बोलाएको ठाउँमा गएर आफूमा भएको ज्ञान, सीप र सूचनाहरु विशुद्ध किसिमले व्याख्या गरी भन्ने गर्दथे र स्रोताहरुलाई सूसूचित गर्दथे । हाम्रो लागि उनी ज्ञानको भण्डार थिए ।

राष्ट्रका लागि उनले गरेको योगदानको कदर गरेर उनलाई दर्जनौं संघ, संस्थाहरु, प्रतिष्ठानदेखि विश्व विद्यालयहरुले समेत उनलाई मानार्थ पद दिएर सम्मान गरेका थिए । उनलाई न्हूज गुठीले उनको अनुहार अंकित २० ग्रामको चाँदीको सिक्का प्रकाशित गरेको थियो भने अर्को संस्थाले उनकै उचाइको ताम्रपत्र र नगद प्रदान गरेको थियो । साकारको निर्देशनमा राष्ट्र बैैंकले उनको नाम र मुहार अंकित १ सय, १ हजार र २५ सय रूपैयाँको चाँदीको सिक्का प्रकाशित गरेको थियो । व्यक्तिमात्र होइन, हुलाक विभागले उनको तस्बिर अंकित हुलाक टिकट पनि प्रकाशित गरेको थियो । उनको नाम र दर्शकबारे ३ वटा किताब प्रकाशित भएका छन् । उनको ठूलो इच्छा थियो, नेपाली साहित्यले नोबेल पुरस्कार प्राप्त गरोस् भन्ने । त्यस्तै उनले जीवनको उत्तराद्र्धमा बुद्ध धर्मको चक्रसंवरको पौभा चित्र तयार गरी संग्रहालयमा राख्न लक्ष्मी शाक्यको नेतृत्वको टोलीलाई आग्रह गरेका थिए । त्यसको लागि उनले ३ लाख नगद पनि प्रदान गरेका थिऐ । तर त्यो पौभा चित्र अन्तिम चरणमा पुगेको बेला उनको निधन भयो । उनको निधन राष्ट्रका लागि ठूलो क्षति हो । हामी उनको निधनमा गहिरो दुःख प्रकट गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं र उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेर उहाँको सुखावती भूवनमा बास होस्, भन्ने कामना गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width