संकटमा सञ्चार

Avatar सम्पादक
असार १८, २०७७

१. कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लामो समयदेखि लगाइएको लकडाउनका कारण सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । त्यसमा पनि छापा माध्यमहरु बढी मारमा परे । नेपालमा चैत्र ११ बाट लकडाउन भएसँगै धेरै पत्रपत्रिका स्थगित भए । केही लकडाउनको सुरुमै र केही एक डेढ महिना पछि रोकिए । केही अनलाईन र इ–पेपरमा सीमित रहे ।

२. प्रारम्भमा पत्रिकामा कार्यरत पत्रकार तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि प्रकाशन स्थगित गरिएको थियो । लकडाउन बढ्दै जाँदा आर्थिक संकट समेत बढ्यो । कतिपय प्रकाशनले तलब समेत दिन सकेका छैनन् । पत्रिकाको मुख्य आय श्रोतको रुपमा रहेको विज्ञापनबजार नै ध्वस्त भएपछि पत्रिका सञ्चालन हुन सक्ने अवस्था पनि रहेन । अन्य श्रोत नभएका सञ्चार गृह पत्रिकाकै आयका आधारमा मात्र पत्रिका धान्न नसक्ने भए ।

३. राजधानीबाट प्रकाशित केही ठूला पत्रिकाहरुले पनि आफ्ना सह प्रकाशनहरु बन्द गरेका छन् । प्रकाशित भईरहेकाले पनि पृष्ठ घटाई सानो साइजमा ल्याएका छन् । धेरैलाई न्यूनतम अंक पुर्‍याउन पनि धौ धौ परेको छ । कसैले प्रकाशनलाई नियमितता दिनै सकेका छैनन् । छापा पत्रकारितामा ठूलो संकट परेको छ । किनभने यो अरु सञ्चारमा माध्यम भन्दा बढी खर्चिलो पनि छ ।

४. सञ्चार क्षेत्रमा आएको यो संकटले यससँग आश्रित जनशक्ति पनि अन्यौलमा परेको छ । कम खर्चमा चलाउन बाध्यताले सेवा सुविधा कटौती आन्तरिक सम्झौता गरी सञ्चारलाई सहज बनाउने उपायको अबलम्बन गरिएको छ । प्रकाशनहरुले कर्मचारी कटौती गरिरहेका छन् । प्रकाशनको भविष्य नदेखेपछि कतिपय पलायन भएर विकल्प खोज्न तर्फ लाग्दैछन् । व्यवसाय दिगो राख्न ठूलो चुनौती खडा भएको छ ।

५. सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग भनिन्छ । तर राज्यले त्यस अनुरुपको व्यवहार गरेको छैन । राज्यका अन्य तीन अंगले राज्यका सुविधा पाइरहँदा यस्तो संकटको वेला सञ्चार क्षेत्रलाई बचाउने कुनै ठोस राहत घोषणा गरेको छैन । सञ्चार क्षेत्र कमजोर भयो भने लोकतन्त्रको हालत के होला भन्ने बारे धेरैले ध्यान दिएको पाइदैन ।

हाम्रो सुझाव