शासकको सनक

सम्पादक
जेठ ९, २०७८

काठमाडौंका सम्पादकहरु बोलाएर दिउँसो केपी ओली भन्दै थिए, मलाई अब सत्तामा बस्न रहरै छैन । विपक्षी पार्टीहरु आउँछन् भने उनीहरुलाई खुला दिलले सहयोग गर्छु । पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण हेरिरहेका एकजना साथीले भन्दै थिए, ‘प्रधानमन्त्री यति खुलेर कुरा गरेका छन् । कुनै लप्पनछप्पन छैन । खुलस्तै बताएका छन् । संवैधानिक अड्चन ल्याउने आफ्नो कुनै मनसाय छैन भनेकै छन् ।’ तर जसै पत्रकार सम्मेलन सकियो, प्रधानमन्त्री ओली सिधै शीतल निवास पुगे प्रधानमन्त्रीका लागि दरखास्त हाल्न । विपक्षी दलहरु पुग्नु अगावै उनी शीतल निवास पुगिवरि १ सय ५३ सांसदको समर्थन आफूसँग रहेकाले अबको प्रधानमन्त्री फेरि आफैं हुनुपर्ने जिकीर गरिसकेका थिए । त्यसपछि बल्ल पुगेका थिए १ सय ४९ जनाको हस्ताक्षर लिएर विपक्षी दलहरु । विभिन्न आकलन भए । अब लगत्तै दउवा प्रधानमन्त्री हुन्छन् पनि भनियो । कहाँ हुनु ओलीले कुनै हालतमा छाड्दैनन् पनि भनियो । अनि राष्ट्रपतिको निर्णयमा नै भरपर्छ पनि भनियो । त्यही अनुमानका बीच मध्यरातमा राष्ट्रपति कार्यालयबाट विज्ञप्ति आयो, दुवैको दाबी बदर भयो भनेर । उता प्रम ओली सुतेकै थिएनन् । तत्काल मन्त्रिपरिषद बैठक बोलाए, संसद विघटन र चुनावको मितिसमेत तोकेर सिफारिस गरे । सिफारिस तुरुन्तै सदर भयो । अघिल्लो दिनका सांसद भोलिपल्ट उठ्दा त पदविहीन बने ।

प्रधानमन्त्री ओलीका पछिल्ला कदमहरु हेर्दा मुलुकको राजनीतिक भविष्य अब अन्धकारतिर गयो भन्ने प्रष्ट हुन्छ । के मन लागेको थियो प्रचन्डसँग पार्टी एकता गरे, के मन बिग्रियो एकता त भंग भयो नै पूरै मुलुकलाई नै प्रयोगशाला बनाएर भताभुंग पारे । उनलाई लाग्दो हो, म प्रधानमन्त्री हुँ, म शासक हुँ, मसँग अधिकार छ । हो उनीसँग अधिकार छ । तर अधिकार प्रयोग गर्ने विवेकले हो सनकले होइन । जसरी संसदलाई खेलौना बनाएर पूरै मुलुकलाई क्रीडास्थल बनाएका छन् प्रधानमन्त्री ओलीले, यसको मूल्य हामी नेपालीका लागि भारी पर्नेछ । माथि प्रसंग आएको थियो, प्रधानमन्त्री ओलीको फरासिलो र नरमपनको । इतिहास पल्टाएर हेर्ने हो भने मनमा वैरभाव साँध्नेहरु बाहिर बडो मिजासिलो भएर बोल्न सक्छन्, हो कि झैं पारेर बोल्न सक्छन् । प्रधानमन्त्री ओलीमा यही खुबी छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरिन् । चुनावमा मितिसमेत तोकिदिइन् । प्रजातान्त्रिक पद्धतिमा चुनावसँग डराउनु हुँदैन । तर अहिले बेला चुनावको होइन् । नागरिकहरु अक्सिजन नपाएर ज्यान गुमाइरहेका छन् । सत्ताधारीहरु भने नागरिकको स्वास्थ्यप्रति बेप्रवाह छन् । कुर्सीबेगर एकछिन रहन हुँदैन भन्ने लागेको छ उनीहरुलाई । प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधिका कारण अहिले संघीयता नै धरापमा परेको छ । अब केन्द्रको रोग फेरि प्रदेशमा सर्नेछ । प्रदेशका संसदहरु विघटन हुनेछन् । अनि फेरि चुनाव घोषणा हुनेछ । बिचरा ! नेपाली नागरिकहरु बेलगाम नेताहरुको नाटक हेर्न बाध्य छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width