सभ्यतामा कालो पोतिएको दिन

सम्पादक
जेठ ७, २०७८

४ जेठ २०७८ मा स्याङ्जाबाट एउटा सारै नमिठो खबर आयो । हाम्रो संस्कार भन्दा परको । मानवीयताभन्दा परको । खबर पढ्नेहरु त दुखी भए नै आँखै अगाडि अनुभूति गर्नेलाई कस्तो भएको होला ? भनाइ न छ नि जिउँदाको जन्ती, मर्दाको मलामी । अनि भनिन्छ जेजस्तो भए पनि छिमेकी र आफन्त चाहिने मर्दापर्दा हो । तर अहँ, आँधिखोला गाउँपालिका २ चिलाउनेवासको १ परिवारले मलामी त पाएन नै, ९३ वर्षे आमाको निधनपछि नजिकैको खोलामा पुर्‍याएर दाहसंस्कार समेत गर्न पाएन । ती आमाका छोरा बुहारी कोरोना संक्रमित भएकै कारण गाउँलेहरुले यो व्यवहार देखाएका हुन् । खोलामा जलाउँदा धुँवाबाट समेत संक्रमण सर्छ भन्ने भएर गाउँहरु विरोधमा उत्रे । बिहान ७ बजे बितेकी आमाको शव बेलुका ७ बजेसम्म उठेन । गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले गरेको प्रयास पनि सफल भएन । अनि पालिकाकै पहलमा आर्मी बोलाएर घर नजिकै शव गाडियो । यो दृश्य छोराबुहारी पिँढीमा बसेर टुलुटुलु हेर्न वाध्य भए । गाउँलेको दुव्र्यवहार खेप्न वाध्य भए ।

त्यो त चिलाउनेवासको परिवार नै पहिलो भने यस्तो दुव्र्यवहार खेप्ने । पोहोर जब नेपालमा भर्खरै कोरोना संक्रमण सुरु भयो । मानिसको यसरी भकाभक ज्यान जाला भनेर कसैले सोचेकै थिएन । कोरोनाकै कारण ज्यान गुमाउन वाध्य भए कतिपय । गण्डकीमा कोरोनाले ज्यान गुमाउने पहिलो व्यक्ति पनि स्याङ्जाकै थिए । पहिला त उनको शव गण्डकी अस्पतालबाट उठाउनै मुस्किल भयो । किन भने संक्रमितको शव गाडीमा राख्न कोही तयारै भएनन् । जब शव उठाइयो कहाँ अन्त्येष्ठी गर्ने भन्ने भयो । दिनभरको मेहनतपछि मनिपाल मेडिकल कलेजभन्दा केही माथि शव व्यवस्थापन गर्न लागि जसमा स्थानीय जनप्रतिनिधि नै विरोधमा उत्रे । प्रहरीले लाठी नै चलाउनु परेको थियो । त्यसपछिका शव लामेआहालमा व्यवस्थापन गर्ने भनिए पनि त्यति सहज भएन । त्यहाँका पनि स्थानीय विरोधमा उत्रे । आखिर गण्डकीका धेरैजसो शव लामेआहालमा नै व्यवस्थापन हुन्छन् ।

हो, अहिले कोरोनाले मानिसलाई विवेक गुमाएको जस्तो बनाइदिएको छ । कोही बिरामी पर्दा भेट्न जाने त कुरै छाडौं संवाद पनि हुन छाडेको छ । कसैको जुठोसुत्केरो परेका बेला समेत छिमेकी आफन्त जोडिने कुरा निकै परको हुन थाल्यो । तर त्यसो भन्दैमा हामीले विवेक गुमाउनु हुन्छ त ? आज अरुको घरमा परेको घटना भोलि हाम्रै घरमा हुनसक्छ । कसलाई के थाहा भोलि के हुन्छ भनेर ? अनि स्याङ्जा, त्यो पनि आँधिखोला गाउँपालिकाको चिलाउनेवास शिक्षा र चेतनाका हिसावले निकै अब्बल मानिएको ठाउँ । अनि त्यहिँका स्थानीयबाट यस्तो व्यवहार कत्ति पनि शोभनीय भएन । रोग के हो र कसरी सर्छ भन्ने बारेमा अब कुनै अन्यौल छैन । सुरक्षित तरिकाले शव दहन गर्दा गाउँलको टाउको दुखाइ किन ? आखिर उनीहरु कुन संस्कारबाट हुर्के ? उनीहरुले दिन खोजेको सन्देश के हो ? सामाजिक मान्यतामा आखिर किन यति ठूलो कलंक पोतेको ? यी यावत प्रश्नहरुको जवाफ ती गाउँलेले दिनुपर्छ, जसले ती आमाको शवप्रति दुव्र्यवहार गरे ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width