दलहरु कहिले जिम्मवार बन्ने ?

सम्पादक
जेठ १९, २०७८

मुलुकमा ठूला राजनीतिक परिवर्तन भए । त्यसको मूल कारण राजनीतिक पार्टीहरु नै हुन् । जहानीय राणा शासन पल्टाउन होस् या ३० वर्षे पञ्चायती शासन, राजनीतिक दलहरुले नै ढाले । यसका लागि दलका नेताहरु विभिन्न आरोपमा दशकभन्दा बढी जेलमा बसे । त्यतिमात्र कहाँ हो र ? मुलुक नै छाडेर भारत निर्वासनमा बस्नु परेको थियो नेताहरु । नेपालभित्रको समस्यामात्र होइन, छिमेकी मुलुकहरुमा भएका घटनाका बेला पनि यहाँका राजनीतिक दलहरुले प्रतिक्रिया जनाउँथे । सांकेतिक रुपमा विरोध गर्थे । राजनीतिक दलका नेताहरुकै अगुवाइमा कार्यकर्तामात्र होइन सर्वसाधारण पनि आन्दोलनमा होमिए । कतिले ज्यानै पनि गुमाए । जसरी राजनीतिक दलहरुले नागरिकलाई प्रयोग गरे । त्यसअनुसार प्राप्त उपलिब्धिलाई रक्षा गर्ने बेलामा दलहरु जहिल्यै चुकेका छन् । यसको प्रमुख कारण सत्ता लिप्सा नै भएको छ । सत्तामोहकै कारण राजनीतिक दलहरुमा विग्रह आइरहेको छ । जसले गर्दा मुलुकको राजनीतिक भविष्य नै अन्धकारतिर धकेलिएको छ ।

२०७४ मा संघ तथा प्रदेशको निर्वाचनका बेला एउटै घोषणापत्र लिएर चुनावमा होमिएका २ दल नेकपा एमाले र माओवादी केन्द्र चुनावलगत्तै एकीकृत भए । केन्द्रसहित ६ प्रदेशमा तत्कालीन नेकपाको सरकार बन्दा नागरिक हौसिएका थिए । अब त राजनीतिक स्थिरता आउने भयो कि भनेर । प्रतिपक्षमा रहेको नेपाली कांग्रेस ५ वर्ष ढुक्कसँग सरकारबाहिर बस्न मानसिक रुपमै तयार भयो । तर चुनाव सकिएको ३ वर्ष पुग्दा नपुग्दै सरकारमा रहेको दलभित्र विग्रह सुरु भयो । केपी ओली र प्रचण्डबीचको मनमुटावले ठूलै रुप लियो । सर्वोच्चले पार्टीलाई पुरानै अवस्थामा रहने फैसला गरिदिएपछि छ झन् राजनीतिले अर्काे मोड पो लियो । ठिकै थियो, दलहरु कहिले मिल्छन्, कहिले फुट्छन् । तर त्यसले पूरै मुलुकको भविष्यलाई अन्धकारतिर धकेलियो । भर्खर सुरु भएको संघीय शासन प्रणालीमाथि नै यस प्रश्न उब्जायो । बाँकी रहेको एमालेभित्रको विग्रहको राप अझै शान्त भएको छैन ।

२०६२÷६३ को आन्दोलनपछि जन्मेका मधेशवादी दलहरु कहिले जुट्ने त कहिले फुट्ने गरी नै रहे । सीमित भूगोललाई आधार मानेर गठित ती दलहरुले सुरुमा उठाएका मुद्दा संवेदनशील नै थिए । मधेशी जनताले खेपिरहेको विभेदको पर्खाल चिर्न उनीहरु सफल हुने हुन् कि झैं लाग्थ्यो । नेपाली कांग्रेसमा राम्रै हैसियत बनाएका केही नेताहरु पनि मधेशवादी दलतिरै लागे । त्यसको मूल कारण थियो सत्ता मोह । कुनै दलको बहुमत नभएका बेला साना र क्षेत्रीय दलहरुले अवसर पाउँथे । त्यसैमा रमाए उनीहरु । जनता समाजवादी पार्टीमा उसैगरी अहिले विग्रह आएको छ । त्यसको मुख्य कारण पनि सत्ता नै हो । केपी ओलीको नेतृत्वमा रहेको सरकारमा जानकै लागि उक्त पार्टीको महन्थ ठाकुर समूहले गोडा उचालिसकेको छ । उपेन्द्र यादव समूह त्यसको विरोधमा छ । अहिले त दुबै पक्षले दुबै पक्षलाई कारबाहीको शृंखला चलाएका छन् । यो शृंखला कहाँ गएर टुंगिने हो थाहा छैन । तर यो मुलुकका लागि हितकारी पटक्कै छैन । राजनीतिक दलहरुको यस्तै अपरिपक्व व्यवहारका कारण विदेशी शक्ति यहाँ चलमलाइरहेका छन् । खारेज भइसेकको राजसंस्था फेरि व्युँतिनेसम्मका प्रसंग आउन थालेका छन् । यी सबै समस्याको निराकरणको जिम्मा राजनीतिक दलहरुकै हो । त्यसैले बेलैमा संयमित भएर देश र जनताप्रति जिम्मवार बन्नुपर्छ दलहरु ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width