पोखराको पर्यटनमा नयाँ प्रोडक्ट

सम्पादक
असार १७, २०७८

कोरोना महामारीकै बीच पोखरामा पर्यटन क्षेत्रको नयाँ प्रोजेक्ट निर्माणको आखिरीमा छ । पोखरामा गण्डकी प्रदेशकै दोस्रो केबलकारको संज्ञा पाएको अन्नपूर्ण केबलकार निर्माणको ९७ प्रतिशत पूरा भएको हो । फेवातालदेखि सरर्र सराङकोट पुग्ने गरी निर्मित केबलकार पोखराको अर्को पर्यटकीय गन्तव्य हो । नेपालमै सबैभन्दा केबलकार सञ्चालन मनकामना केबलकारबाट सुरु भएको हो । आजभन्दा २३ वर्षअघि सन् १९९८ देखि मनकामना केबलकार सञ्चालनमा आएको हो । कुरिनटार–मनकामना जोड्ने केबलकारको लम्बाइ २ दशमलव ७ किमी छ । यस्तै, २०१६ देखि सञ्चालित चन्द्रागिरि केबलकारको लम्बाइ २ दशमलव ४ किमी छ । यसले थानकोट–चन्द्रागिरि जोड्छ । गण्डकीकै तनहुँको पर्यटकीय एवं ऐतिहासिक क्षेत्र बन्दीपुर पुग्न पनि केबलकार निर्माण धमाधम भइरहेको छ । यसरी विकासको सिलसिलामा पोखरामा पहिलोपटक अन्नपूर्ण केबलकार प्रालिद्वारा निर्मित केबलकारको विशेषता अन्यभन्दा फरक रहेको कम्पनीको दाबी छ । यहाँको केबलकारमा नयाँ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । अन्नपूर्ण केबलकारका सबै सामान जापानको निप्पोन केबलबाट ल्याइएको हो । केबलकारका लागि हाल १८ गोन्डोला (डिब्बा) सहित लठ्ठासमेत टाँगेर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण सामान्य भएसँगै परीक्षण गरी व्यावसायिक रुपमा सञ्चालनमा गर्ने कम्पनीले जनाएको छ ।
केबलकार सञ्चालनमा आएपछि सेदी बगरदेखि सराङकोट करिब ९ मिनेटमै पुग्न सकिनेछ । २ दशमलव ४ किमी लम्बाइको केबलकारमा एउटा गोन्डोलाबाट ८ जना आउजाउ गर्न सक्नेछन् । १८ वटा गोन्डोलामध्ये एउटाबाट सामानमात्र ओसारपसार हुनेछ । कम्पनीले बनाएको केबलकारको लठ्ठाले ३४ गोन्डोला धान्ने भए पनि परीक्षणका लागि हाल १८ वटामात्र राखिएको बताइएको छ । केबलकार सञ्चालनमा आएपछि प्रतिव्यक्ति ६ सय रुपैयाँमा ओहोरदोहोर गर्न सक्नेछन् । कोरोना महामारीले निर्माण समयसीमा बढेको छ । ९० करोड लगानीमा डेढ वर्षमा सक्ने गरी काम थालनी गरिए पनि कोरोनासहित विविध कारण ४ वर्षभन्दा बढी लागेको हो । निर्माण लागत २ अर्ब पुगेको बताइन्छ । केबलकारको स्टेसन भवनको संरचना बनावटमा परिवर्तन हुनु, जग्गा विवाद र दक्ष प्राविधिक कर्मचारीको अभावलगायत समस्याले लगानी बढेको बताइएको छ । केबलकारले सराङकोटको माथिल्लो स्टेसन र सेदीको तल्लो स्टेसन, टावरसहित ७५ रोपनी क्षेत्रफल ओगटेको छ ।
केबलकार निर्माणपछि पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना भाइरस प्रभावले डेढ वर्षदेखि सुस्ताएको पर्यटन बिस्तारै जुर्मुराउनेमा उनीहरु आशावादी छन् । परियोजना सञ्चालन आएपछि पोखरामा पर्यटनमा नयाँ आयाम थपिनुका साथै स्थानीय कृषि प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । पोखराका डाँडाकाँडाहरु पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेका छन् । सूर्योदयसहित उत्तरमा हिमशृंखला एवं पोखराको मनोरम दृश्य अवलोकनका लागि विगतदेखि नै चर्चित सराङकोटको अझ पर्यटन प्रवद्र्धन हुनेमा विश्वास गर्न सकिन्छ । पछिल्लो समय काहुँडाँडा, पुम्दीकोट, साल्मेडाँडा, नौडाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै जानु पनि यसकै द्योतक हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width