पोखरा बसपार्क निर्माण थालनी

सम्पादक
जेठ २७, २०७९

सहरीकरणतिर अग्रसर भएर बढिरहेको पोखरामा दिनहुँ ठूला–साना समाचार बन्ने गर्छन् । तीमध्ये केही यस्ता समाचार हुन्छन्, जसले पोखरेलीको रुचि बढाउँछन्, अनुहारमा खुसी ल्याइदिन्छन् । त्यस्तै समाचारमध्ये अहिले एउटा समाचार आएको छ, त्यो हो–पोखरा बसपार्क बन्ने । पोखराको बसपार्क बनाउने भनेर नवनिर्वाचित नगर प्रमुख धनराज आचार्य र गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सम्बन्धित वडा ९ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र मर्सानीको उपस्थितिमा नाला निर्माण कार्य शुभारम्भ अवसरमा नगर प्रमुख आचार्यले आफूले सपथ ग्रहण गरेको ९ दिनमा बसपार्क निर्माण सुरु गरेको बताउँदै ३ वर्षभित्र बसपार्क निर्माण गर्ने कामले पूर्णता पाउने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा बसपार्क व्यवस्थितरुपले बनाउने सपना पोखरेलीको २०३२ सालदेखिको हो । त्यो सपना साकार पार्ने भनेर त्यस बेलादेखि प्रत्येक निर्वाचनको बेला उम्मेदवारले आफ्नो घोषणापत्रमा उल्लेख गर्दै आएका छन् । हालैको स्थानीय तह निर्वाचनमा पनि घोषणापत्रमा त्यो कुरा उल्लेख थियो । हामीले पनि बराबर पार्टीहरुको र उम्मेदवारको त्यो प्रतिबद्धताबारे प्रश्न उठाएर ध्यान आकर्षित गर्दै आएका छौं । तर अहिले अकस्मात जस्तै गरी नाला खन्ने काम गरिएबाट त्यसमा पोखरेलीको ध्यान आकर्षित भएको छ । बसपार्कमा जग्गाको विवाद छ । सुकुमबासी समस्या पनि छ । बसपार्कको जग्गामा अतिक्रमण भएको छ । ती विवादको समाधान गर्न नसकेका कारणबाट पनि बसपार्क बन्न ढिलाइ भएको सम्बन्धितले बताउने गरेका छन् ।

बसपार्क बनाउने भनियो । यो निश्चय नै खुसीको कुरा हो । तर बसपार्क कस्तो बनाउने ? त्यसको नाम नक्सा सार्वजनिक गरिएको छैन । डिपिआर तयार भएको छैन । त्यसको लागि बजेट कहाँबाट कसरी आउने हो ? त्यो पनि सुनिश्चित भएको छैन । त्यो केही नभए पनि सरकारले चाहियो भने ती सबै कुराको समाधान केही महिनाभित्रै हुन सक्दछ । मुख्य कुरा इच्छाशक्तिको कुरा हो । विगतका स्थानीय सरकार यस दिशातिर किन ध्यान दिएनन्, त्यो आश्चर्य कुरा भएको छ । हामीले प्रश्न उठाउँदा पनि त्यसको कही कतैबाट प्रतिक्रिया समेत नआएको अवस्था थियो । त्यस्तो अवस्थाबाट गुज्रिरहेको बसपार्कमा अहिले नाली खनेर काम सुरु गरिएको समाचार सम्प्रेषण हुँदा त्यो समाचार चर्चित हुनु स्वभाविक हो । पोखराको मूलबजारमा अवस्थित पोखरा बसपार्कको त्यो अस्तव्यस्त अवस्थाले सिंगो पोखराको सौन्दर्यमा धब्बा लगाएको अनुभूति हुन्थ्यो । तैपनि सम्बन्धित पदाधिकारीले संवेदनशील भएर त्यसलाई आफ्नो पालामा गरिहालौं भनेर सोचेनन् । वर्तमान स्थानीय सरकारले त्यसमा तत्परता देखाएको छ । यो खुसीको विषय हो । यो कामले निरन्तरता पाओस्, हाम्रो शुभकामना छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width