मनीषाको रोजाइमा राप्रपा

सम्पादक
कार्तिक २७, २०७९

नेपाल र भारतका चर्चित अभिनेतृ मनीषा कोइराला राजनीतिमा आउँछिन् कि आउँदिनन्, आए कसरी आउँछिन् भन्ने सम्बन्धमा बराबर चर्चा हुने गर्दथ्यो । उनलाई सक्रिय राजनीतिमा आउन र आफ्नो पार्टीमा आउन पार्टीका नेताहरुले दबाब पनि दिने गर्दथे । तर उनले निर्णय गरेकी थिइनन् । कहिलेकाहीं उनले सक्रिय राजनीतिमा आउनका लागि आफ्नो लागि आफ्नो बाजेले स्थापना गरेको पार्टी नेपाली कांग्रेस भएको औंल्याउने गर्दथिन् । कांग्रेसका नेताहरु पनि उनी सक्रिय राजनीतिमा आए कांग्रेस पार्टीमा नै आउने छिन् भनेर उतातिर वास्ता नै नगरी बसिरहेका थिए । यसैबीच उनले राष्ट्रिय प्रजातन्त्र पार्टी रोजेको समाचार आयो । त्यो समाचारको पुष्टि उनले राप्रपाको शुक्रबार बिहान पोखरामा आयोजित चुनावी सभामा उपस्थित भएर तथा भाषण गरेर नै गरिन् ।

उनको त्यो निर्णय राजनीति र कला क्षेत्रमा चर्चाको विषय भएको छ । भारतमा चर्चित कलाकारहरु कहिलेकाहीं राजनीतिमा आउने गर्दछन् । कहिले उनीहरुले चुनाव लडेर संसद्मा पुग्छन् भने कहिले मनोनीत भएर पनि त्यहाँ पुग्ने गरेका छन् । नेपालमा थोरै कलाकारले मात्र राजनीतिमा रुचि राख्ने गरेका छन् । त्यसो भए तापनि केही कलाकारहरु यस पटक चुनावी मैदानमा उत्रेका छन् । तर मनीषा कोइराला चुनावी मैदानमा छैनन् । उनी चुनाव प्रचारका लागि मञ्चमा देखिएकी हुन् । उनको साथ र सहयोगबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा केही उत्साह थपिएको महसुस गरिएको छ । उनी कोइराला परिवारकी भएकाले मात्र होइन, विपी कोइरालाकी नातिनी भएकीले पनि र उनले चुनावको मौसममा त्यो निर्णय लिएकीले पनि यो परिघटना चर्चित भएको हो ।

मनीषा कोइरालाले आफूले राप्रपा रोज्नुपर्ने कारण पनि प्रष्ट्याएकी छन् । उनले विपी कोइरालालाई सबैले बिर्सेको भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले सम्झिराखेको र उनी बिपीको बाटोमा हिँडेकै कारण आफूले राप्रपा रोजेको बताइन् । उनले आफ्नो संक्षिप्त भाषणमा बिपीले राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी राजसंस्थासँग आफ्नो घाँटी जोडिएको कुरा गर्नु र भ्रष्टाचारको विरोध गरेका कारण आफू अध्यक्ष लिङ्देनसँग उभिएको बताइन् । अध्यक्ष लिङ्देन भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । उनले भ्रष्टाचार गर्नु आफ्नै आमाको रगत चुस्नु बराबर हो भनेर बराबर भन्ने गरेका छन् । बिपी कोइराला भ्रष्टाचारको कट्टर विरोधी थिए । नेताहरुले बिपीको सिद्धान्त आदर्शअनुसार आचरण नगरेकोमा उनको भित्री दुखाइ भएको उनको अभिव्यक्तिले प्रष्ट पार्दछ । त्यसलाई उनले नेताहरुले बिपीलाई बिर्सेको भनेकी छन् । राप्रपाले बिपीलाई कसरी सम्झिरहने हो र त्यसले सम्झेको कुरा मनीषालाई के–कति चित्त बुझ्ने हो, त्यो भने चुनौतीको रुपमा रहिरहने छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width