माछापुच्छ्रे आरोहण खोलौं

सम्पादक
भाद्र २९, २०७८

माछापुच्छ्रे हिमाल (६,९९३ मिटर) पर्वतारोहणका लागि खुला गर्ने/नगर्ने भन्नेबारे फेरि बहस सतहमा आएको छ । कोरोना अघि निकै तातेको थियो बहस । पछि सेलाउँदै गयो । तर स्थानीय माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले औपचारिक कार्यक्रममा हिमाल आरोहण खोल्नुपर्ने बताएपछि बहस चुलिएकोे हो ।
फेवातालमा छाया देखिने सुन्दर माछापुच्छ्रे हिमाल आरोहणका लागि हालसम्म खुला छैन । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको पहिलो बैठकबाटै आफ्नो गाउँको शिरमा अवस्थित प्रसिद्ध हिमाल चढ्नका लागि खुला गर्न त्यतिबेलै संघीय सरकारलाई अनुरोध गर्ने निर्णयसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा फाइल पुर्‍याइएको थियो । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई गाउँपालिकाको टोलीले भेटेर आरोहण खुला गर्न आग्रह गरे पनि विवादित विषय भएकाले त्यसै सेलाएको थियो ।
त्यसो त माछापुच्छ्रे आरोहण प्रयास आजभन्दा करिब ६४ वर्षअघि नै भइसकेको हो । सन् १९५७ मा ब्रिटिस पर्वतारोही जिमी रोबट्र्स माछापुच्छ्रेको चुचुरोभन्दा केही तलसम्म पुगेका थिए । त्यसयता त्यो हिमाल औपचारिक रुपमा आरोहण भएको छैन । तर आरोहणका लागि खुला हुनुपर्ने बहस यसरी नै बेलाबखत उठ्ने गरेको छ । कतिपयले यो हिमाल हिन्दू देवताको शिरको प्रतीक भएकोले त्यसमाथि चढ्न नहुने मत राखेका छन् । माछापुच्छ्रेलाई गुरुङ समुदायको धार्मिक आस्थासँग जोडिएको पाइन्छ । संस्कृतिविद् डा. जगमान गुरुङले नरनारायणको प्रतीकका रुपमा चित्रित गरेका छन् । धेरैले उनको विचारलाई समर्थन गरेर आरोहण खुल्न नहुने अडानमा छन् । सर्वाेच्च शिखर सगरमाथालाई पनि तिब्बती र शेर्पा समुदायका मानिस देवीको प्रतीक मानेर पुज्ने गर्दछन् । चोमोलोङ्मा पनि भनिने सगरमाथा चढ्नुअघि आरोहीले पूजाप्रार्थना गर्ने चलन अद्यापि छ । पोखराका पर्यटन व्यवसायी माछापुच्छ्रे आरोहण खोल्न हुने र नहुने दुई पक्षमा विभाजित छन् । माछापुच्छ्रे हेर्नको लागि मात्र हो भन्दै उनीहरुले अरु ब्रान्ड बेच्नुपर्ने सुझाव दिन्छन् । गाउँपालिकाको अध्ययन टोलीले खुम्बु क्षेत्रको अध्ययनमा आरोहणका लागि भित्रिने पर्यटकमध्ये ९० प्रतिशत त्यतै झुम्मिने गर्दछन् भनी निष्कर्ष निकालेको थियो । तर यहाँ ८ हजारभन्दा अग्ला ३ हिमाल हुँदाहुँदै पनि यता पर्यटक नगण्य छन् ।
कोरोनाले थलिएको पर्यटन माथि उकास्दै आर्थिक उपार्जन गर्न माछापुच्छ्रे हिमाल अब खुला गरिनुपर्छ । यसलाई आयआर्जनसँग जोडिनुपर्छ । यो हिमाललाई पर्यटनको हट केक बनाएर विश्वभर बेच्न सकिने तर्फ विभिन्न योजना ल्याउनु पर्छ । आरोहण छुटसँगै प्रशस्त रोजगारी सिर्जना हुन्छ । आम्दानीको स्रोत अवश्य बढ्ने छ । माछापुच्छे« गाउँपालिकामात्र नभई पोखरा र नेपालले पनि यसबाट प्रशस्त फाइदा लिन सक्छ । आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न सक्छ । माछापुच्छ्रे हिमालको आरोहण खुला गरेर प्रशस्त विदेशी मुद्रा आर्जन गर्नतर्फ गण्डकी प्रदेश सरकारले बढी ध्यान दिनुपर्छ । आरोहणमा यसको सुन्दरता नमासिने गरी आवश्यक मापदण्ड भने अवश्य अपनाउनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width