दुख हटाउन सके शान्ति प्राप्त हुन्छ

सम्पादक
जेठ १३, २०७८

विश्वभर २५६५ औं बुद्धजयन्ती मनाइरहँदा मुलुक राजनीतिक रन्थरुमलोमा छ । नागरिकहरु अक्सिजन नपाएर अस्पतालका ओछ्यानमा तड्पिएका बेला उनीहरुलाई सत्ताकै पिरलो छ । २ हजार ५ सय ६५ वर्ष पहिला नेपालमै जन्मेका बुद्धले शान्तिको सन्देश दिएर गए । अहिले ती सन्देश हरेक राजनीतिक दलहरुलाई आद्योपान्त पढाउनुपर्ने भएको छ । बुद्धले ४ आर्य सत्य, आर्य अष्टांगिक मार्ग, प्रतीत्य समुत्पाद र पञ्चशीलको उपदेश दिएका छन् । ४ आर्य सत्यमा, संसार दुखमय छ, दुखको कारण छ, दुखको नाश सम्भव छ र दुख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । आर्य अष्टांगिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो ।

हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्दछन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुखबाट मुक्ति पाउन सक्दैन । दुख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ । यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य ३ सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिएका उपदेशहरुलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी ३ ग्रन्थमा विभाजन गरिएको छ ।

विश्वमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान् गौतम बुद्ध स्थापित भएका छन् । बुद्धले ८ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूपधारण गरेको छ । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए । जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा संग्रहित छन् । सम्राट अशोकले इशापूर्व २ सय ४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको १ शताब्दी पूरा भइसकेको छ । जसका कारण बुद्धका बारेमा थप तथ्य पत्ता लाग्न सहज भयो । ‘संसारमा दुख छ र दुख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् । यिनै बुद्धलाई स्मरण गरेर नेपालका राजनीतिक दलहरु नेपाल र नेपालीमाथि परेको दुखलाई पार लगाउनका लागि डट्नुपर्ने बेला हो यो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width