शताब्दी पुरुष किञ्जल्क

सम्पादक
जेठ ६, २०७८

साहित्यकार गोपाल वैद्य किञ्जल्क आजबाट सय वर्ष पूरा गरी १ सय १ वर्षमा पदार्पण गरेका छन् । उनी १९७८ जेठ २ गते अर्थात् सीता जयन्तीका दिन प्युठानको खलंगामा जन्मिएका हुन् । आयुर्वेदमा स्नातक गरेका उनले सबैको शारीरिक स्वस्थताका लागि आयुर्वेदिक औषधालय खोलेर सेवा पुर्‍याए । समाजमा मानसिक स्वस्थता लागि पनि विभिन्न साहित्यिक रचना तथा अनुवाद गरी योगदान पुर्‍याएर आफ्नो जन्मलाई सार्थक बनाए । उनको दीर्घ जीवन स्वच्छ मनबाट गरिएको सेवाकै फल हो भन्ने हामीले ठानेका छौं । यस अवसरमा हामी उनलाई बधाई ज्ञापन गर्दछौं । साथै, सुस्वास्थ्यको कामना पनि गर्दछौं ।

पुख्र्यौली घर बागलुङ रहेका वैद्यको परिवार खलंगा हुँदै विसं २०१५ सालमा पोखरामा बसाइँ सरेको हो । सानै उमेरदेखि अध्ययनशील वैद्यले आयुर्वेदिक सेवाका साथै साहित्यिक रचना पनि गर्न थाले । साहित्यमा उनी किञ्जल्क भनेर चिनिन्छन् । किञ्जल्कको अर्थ फूलको केशर अर्थात फूल भित्र हुने पहेलो पराग हो । जसले फूलको सुगन्ध फैलाउँछ । उनले पनि साहित्यको सुगन्ध फैलाएर आफ्नो साहित्यिक नामलाई समेत सार्थक तुल्याए । हिमाद्री महिमा (संस्कृत २०६१) बद्री केदार दर्शन (पद्यात्मक २०५४), र नीतिशतकम् (पद्यात्मक्, २०५४) उनका मौलिक कृति हुन् । उनका सम्पादित तथा अनुवादित कृतिहरु चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छर (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याप्टक, उपमन्युकृत शिवस्तोत्रहरुको पद्यानुभाव (२०६१) छन् ।

आध्यात्मिक तथा धार्मिक दर्शनमा विशेष रुचि राख्ने किञ्जल्कले वैदिक सनातन धर्मका कृतिहरुलाई भाषामा सरल र सरस रुपमा पस्किएका छन् । नेपाली र संस्कृत दुवै भाषामा कलम चलाउने उनी भाषा पारखी पनि हुन् । कुनै पनि विषयलाई मिहीन तरिकाले अध्ययन गरी परिस्कृत रुपले प्रकाशमा ल्याउन उनले गरेको मिहनेतको जति नै प्रशंसा गरे पनि पुग्दैन । नम्र व्यवहार, कम बोल्ने, झुटो नबोल्ने कुराभन्दा काम बढी गर्ने, प्रचार नचाहने उनका विशेष गुण उमेरका हिसाबले मात्र होइन, शील, स्वभाव र कामका हिसाबले उनी अभिनन्दनीय व्यक्तित्व हुन् ।

खुसीको कुरा, साहित्यकार किञ्जल्कको सम्मानमा हालै अभिनन्दन समिति गठन भएको छ । कोरोना महामारीका बीच फोन सम्पर्कबाटै गठन भएको यस समितिले अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तथा अनुकूल समयमा अभिनन्दन गर्ने जनाएको छ । यस बीचमा किञ्जल्कका बाँकी अप्रकाशति कृतिहरु प्रकाशमा ल्याउने तथा प्रकाशित भएका तर हाल बजारमा अप्राप्त कृतिहरु पनि पुनः प्रकाशित गर्नेतर्फ पनि समितिको ध्यानाकर्षण गराउँछौं । समाजमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानको वातावरण बनाउन तथा उनीहरुको दीर्घ जीवनका लागि उत्साह थप्न समिति सफल रहोस् हाम्रो शुभेच्छा छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width