अर्थमन्त्री शर्माको राजीनामा

सम्पादक
असार २३, २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेट तयारीका क्रममा अनाधिकृत व्यक्तिलाई बोलाएर करको दर हेरफेर गराएको आरोप लागेको छ । त्यो जति पछि भयो, उति चर्कंदै गएको छ । त्यसमा पनि अर्थमन्त्रालयमा राखिएको सिसी टिभीको फुटेज मेटेर गएको भन्ने कुरा बाहिर आएपछि यो प्रकरणका सम्बन्धमा व्यापक विरोध सुरु भएको छ । एउटा अपराधलाई ढाकछोप गर्न अर्को अपराध गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ । हिजो पत्रकारले आफ्नो अनुसन्धानबाट त्यो कुरा थाहा पाएर आरोप लगाएका थिऐ भने अब त्यो विषय ओपन सेक्रेट भएको छ र सबैले थाहा पाएजस्तै भएको छ । त्यसबारे संसदमा कुरा उठेको छ । प्रतिपक्षी पार्टी एमालेले संसदीय समिति गठन गरेर त्यसबारे सबै कुरा बाहिर ल्याउनुपर्ने माग गरेको छ ।

एकातिर अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने कुरा उठेको थियो अर्काेतर्फ उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने दवाब प्रधानमन्त्री माथि परेको थियो । अर्थमन्त्री शर्मालाई कारबाही नगरेकोमा नैतिकताको सवाल प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतिर तेर्सिएको छ । ती नेताहरुले यस प्रकरणबार मुख नखोल्नुको रहस्य के हो भन्न थालिएको छ । अन्य विषयमा तुरुन्त प्रतिक्रिया व्यक्त गर्ने प्रचण्डले यसमा मौन धारण गरी बसेका छन् । उनको मौनताले एउटा सत्य देखाइरहेको छ तर वाणीको रुपमा बाहिर आउन सकिरहेको छैन । अहिले सबैको ध्यान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालतिर गएको छ । सत्तापक्ष यो प्रकरणलाई लम्ब्याएर निस्क्रिय पार्ने पक्षमा देखिन्छ भने अर्को पक्ष यसलई लम्ब्याएर चुनावसम्म लैजाने र यसैलाई चुनावी नारा बनाउने सोचमा छ ।

यो गम्भीर विषय हो, गम्भीर भएरै सत्ता पक्षका नेताहरुले समेत आफ्नो मुख खोल्न थालेका छन् । यो विषय जति लम्बिन्छ, उति सत्ता पक्षलाई नोक्सान हुन्छ । जनमत यसको विपक्षमा गएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिविविका पूर्व उपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोन्विन्द केसीले अर्थमन्त्री शर्माको राजीनामा माग्दै अपिल प्रकाशित गरे । यत्ति मात्र होइन, राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षहरु – पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले संवैधानिक निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् । अर्कोतिर कांग्रेसका नेता डा. शेखर कोइरालाले यसलाई ढाकछोप गर्न खोजियो भने देशको प्रतिष्ठा दाउमा लाग्ने र मुलुकको प्रणाली ध्वस्त हुने र गलत नजिर बस्नेतर्फ सजग हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रको बैठकमा पनि यस विषयमा कुरा निस्केको समाचार छ, चौतर्फी विरोध भइरहेको यस विषयलाई लम्ब्याउनु र ढाकछोप गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो अर्थमन्त्री शर्माले यसअघि राष्ट्रबैंकका गभर्नरलाई निलम्बन राख्ने प्रयास गरे । त्यतिबेला पनि उनले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो । उनले गरेका यस्ता धेरै गल्तीहरु बाहिर आउँदै छन् । ती सबैको मूल्यांकन गरेर अध्यक्ष प्रचण्डले अविलम्ब उनलाई फिर्ता गर्नुपथ्र्यो तर त्यसो गरिएन । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो अस्तित्व देखाउन पनि उनलाई बर्खास्त गर्नुपथ्र्यो, गरेनन् । अन्ततः बजेट प्रकरणमा जोडिएर अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width