उत्साहका साथ उम्मेदवार मनोनयन

सम्पादक
वैशाख १२, २०७९

स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएकै दिनदेखि नै राजनीतिक सरगर्मिता बढेको छ । पार्टीभित्र आफ्नो प्रभाव बढाउन आफू र आफ्नो मान्छेलाई उम्मेदवार बनाउन दौडधुप चर्काे छ । केही दिनको आन्तरिक संघर्षपछि पार्टीहरुबाट नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुका उम्मेदवार छनोट भएका छन् । पार्टीका उम्मेदवारहरुले आफ्नो भाग्यको फैसला गर्न/गराउन निर्वाचन आयोगमा आफ्नो मनोनयनपत्र दाखिला गर्ने काम प्रारम्भ गरेका छन् । आइतबारदेखि प्रारम्भ भएको मनोनयनको काम आज ५ बजेसम्म जारी रहनेछ ।

यस पटक उम्मेदवार छान्ने काम हिजोभन्दा गाह्रो भएको महशुस गरिएको छ । खास गरेर सत्ता गठबन्धनका पार्टीहरुलाई आपसमा तालमेल गरेर भागबन्डा गर्नु नै फलामको चिउरा चपाउनु सरह भयो । ती पार्टीका नेताहरुले अन्तिम समयसम्म पनि भागबण्डा गर्न मै तल्लीन हुनुपर्‍यो । एकातिर नेताहरुलाई भागबन्डा मिलाउन त्यस्तो सकस भयो भने जिल्लाका अधिकांश नेता र कार्यकर्तालाई भागबन्डाको अवधारणा स्वीकार्ने उत्तिकै गाह्रो भयो । खास गरेर नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुले अन्तिम समयसम्म त्यसको विरुद्धमा विषवमन गर्दै गरे । केही नेता र कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिने घोषणा नै गरेका छन् भने केहीले विद्रोही उम्मेदवार बन्ने, बनाउने प्रयास गरिरहेका छन् । ती सबै कारणले गर्दा तिनीहरुलाई उम्मेदवार छान्नका लागि समय नै नपुगेको जस्तो भयो । केही ठाउँहरुमा आज बिहानसम्म पनि उम्मेदवार छान्ने काम जारी रहेको छ ।

हाम्रो देशमा गठबन्धन गरी सरकार चलाउने काम केही वर्षदेखि अभ्यासमा रहेका सर्वविदित छ । गठबन्धन गरी सरकार चलाउने र गठबन्धन गरी चुनाव लड्ने काम सर्वथा बेग्लै रहेछ भन्ने कुरा यस पटक अनुभव गरियो । सधैं एउटै निर्वाचन चिन्हमा छाप हान्ने गरेका कार्यकर्ताहरुले अर्काे पार्टीको चुनाव चिन्हमा छाप हान्नु त्यत्ति सजिलो नहुँदो रहेछ । यो मनोवैज्ञानिक कुरा पनि हो । फेरि हाम्रो देशमा चुनाव प्रचारप्रसार गर्ने क्रममा आफ्नो पार्टीको सिद्धान्त, विचार, उम्मेदवारको योग्यता दक्षता आदिको प्रचार गर्नुका साथ चुनाव चिन्हको महत्वका सम्बन्धमा पनि प्रचार गर्दै आएको तथा त्यस सन्दर्भमा विरोधी पार्टीको चुनाव चिन्हको आलोचना गर्ने गरेकाले पनि अहिले यो सकस आएको हो । हिजो जुन चुनाव चिन्हको आफूले विरोध गरेको थियो, आज त्यही चुनाव चिन्हमा भोट हाल्नुलाई कार्यकर्ताहरुले साधारण सम्झेका छैनन् । केही कार्यकर्ताले त विपरीत सिद्धान्तका नेताका लागि भोट माग्न नै कसरी जाने भनेर समस्या तेस्र्याउने गरेका छन् । तर नेताहरुले यो समस्यालाई निर्मलीकरण गर्ने प्रयास गरिरहेका छन् । तिनीहरुले प्रदेश–प्रदेशमा गठबन्धनका शीर्ष नेताहरुले संयुक्त आम सभाको आयोजना गरेर सम्बोधन गर्ने कार्यक्रम तयार गरेका छन् । नेताहरुको त्यो प्रयासले स्थितिलाई केकति अनुकूल बनाउने छ, त्यो भने हेर्न बाँकी छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width