दुग्ध व्यवसायमा विचौलिया राज

सम्पादक
जेठ २०, २०७८

मुलकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने नारा सरकारले लगाइरहँदा परनिर्भरता झन् बढ्दो छ । खाद्यान्न र तरकारीमात्र होइन भान्सामा प्रयोग हुने धेरैजसो वस्तुका लाग अहिले विदेशकै भर पर्नु परेको छ । सरकार व्यावसायिक कृषि प्रणालीको कुरा गर्छ । बर्सेनि लगानी पनि गरिरहन्छ । अनुदानका नाममा ठूलो रकम पनि खर्च गरेकै हुन्छ । तर उत्पादनदेखि बजार व्यवस्थापनसम्मको तारतम्य नमिलाउँदा असली किसानहरु मारमा परिरहेका छन् । अनि कागजपत्र मिलाउन जानेका मौसमी किसानले सरकारी निकायबाट फाइदा उठाइरहेका छन् । सरकारले मुलुकलाई दूधमा आत्मनिर्भर बनाउने कुरा गरिरहँदा अहिले नेपाली बजारमा दूध र दूधजन्य पदार्थको व्यापार चौपट छ । नेपाल डेरी एसोसिएसनको तथ्यांक मान्ने हो भने अहिले दैनिक रूपमा १० करोड रुपैयाँ बराबरको दूध खेर गइरहेको छ । कोरोना महामारीका कारण दूध र दूग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि यो अवस्था सिर्जना भएको हो ।

सहज अवस्था रहँदा मुलुकभर दैनिक ३१ लाख लिटर बराबरको दूध र दूधजन्य सामग्रीको खपत हुने गरेको थियो । कोरोना महामारीको अवस्थामा अहिले दैनिक १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको छ । मुलुको कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत योगदान रहेको नेपालमा दुग्ध क्षेत्र चपेटामा परेको यो पहिलोपटक भने होइन । अहिले विश्वव्यापी महामारीमा पेलानमा परे पनि मुलुकमा हुने हरेक हड्ताल अनि आन्दोलनको मार दुग्ध क्षेत्रले भोग्दै आएको छ । नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी ४ प्रकारका डेरी उद्योग छन् । यी सबै प्रकारका गरी मुलुकभर अहिले ७ हजारको आसपासमा डेरी उद्योग छन् । यो महामारीको असर व्यवसायीहरु त परेकै छ । तर त्योभन्दा पनि बढी मारमा किसान छन् । यसै उत्पादन लागत धेरै भए पनि कम मूल्यमा दूध बेच्नुपरेको छ किसानले । त्यही मूल्यमा पनि नबिक्ने भएपछि सिधा असर किसानले खेप्नु परेको हो ।

पोहोरको लकडाउनका बेला पनि किसान तथा उद्योगले यस्तै मार खेपेका थिए । तर त्यतिबेला बजारमा बिक्री नहुँदा पनि किसानको दूध किनेर र धुलो बनाएर राखिएको थियो । पोहोरकै धुलो दूध र नौनी अझै बाँकी रहेकाले यो वर्ष त्यसो गर्न उद्योगहरु तयार छैनन् । एसोसिएसनका अनुसार गत वर्ष नै बनाएर राखेको करिब ३ अर्ब रुपैयाँ बराबरको धुलो दूध तथा बटर बाँकी छ । दुग्ध उत्पादनको क्षेत्रमा हाल ५ लाख किसान परिवार आबद्ध रहेको प्रारम्भिक तथ्यांक छ । ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको र अप्रत्यक्ष रुपमा लाखौं यसबाट लाभान्वित छन् । नेपालमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकम डेरी क्षेत्रबाट राजस्व संकलन हुने गरेको छ । देशभर दैनिक रुपमा ६२ लाख लिटर दूध उत्पादन भए पनि बजारीकरण भने सारै भद्रगोल छ । यसमा किसान सचेत भएरमात्रै हुँदैन । दुग्ध व्यवसायमा मौलाएको विचौलियापन अन्त्य गरी किसान मर्कामा नपर्ने गरी सरकारले कार्ययोजना बनाउनुपर्छ । आत्मनिर्भर भनेरमात्र हुँदैन । गुणस्तरीय उत्पादनमा जोड दिएर निर्यात गर्न सके व्यापार घाटा पनि कम गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width