खोपलाई प्राथमिकतामा राख

सम्पादक
जेठ १०, २०७८

कोरोना महामारी नियन्त्रणको मुख्य उपाय हो, मानिस मानिस भेट नहुने । त्यसैका लागि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् । तर सर्वसाधारण नागरिक यसलाई अझै मजाक ठानिरहेका छन् । अनि पूर्णरुपमा बन्द गर्दा अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने भएकाले पनि होला यो वर्ष पोहोरभन्दा केही होलो नै छ । तर संक्रमित र मृत्यु हुनेको संख्या सुन्दा भने आङ नै जिरिंग हुने खालको छ । कसैको परिवारै रित्तिएको छ, कति काखे बालबालिका टुहुरा भएका छन् । सरकारी आँकडामा हेर्दा एक जनाको मृत्यु सामान्य लाग्छ । तर एकजनाको मृत्युको असर परिवारमा, समाजमा कसरी पर्छ हेरौं त ? अवस्था भयावह छ । अहिले महामारी फैलिनुको कारण मुख्य त भारतीय खुला सीमा नै हो । दोस्रो, हाम्रो समाजमा हुने गरेका बिहे, व्रतबन्ध, पूजाआजा जस्ता सामाजिक संस्कार । जुन अहिले पनि चलिरहेका छन् । कास्की र आसपासका जिल्लाको आँकडा हेर्ने हो भने यस्तै पूजाआजामा भेला भएका कारण गाउँमा महामारी फैलिएको छ । सहरको हालत त उस्तै छँदै छ ।

हामीसँग विभिन्न बाध्यता छन् । नागरिकलाई सधैं थुनेरमात्र पनि केही हुँदैन । अर्थतन्त्र चलायमान हुनुपर्छ । यसका लागि पनि अहिले खुकुलो छ । कोरोनाबाट बच्नका लागि अर्को मुख्य उपाय भनेकै खोप साबित भएको छ । भारत सरकारको सहयोगमा आएको खोप केहीले लगाइ पनि सकेका छन् । अन्यत्रबाट पनि खोप ल्याएर लगाउने काम भएको छ । अमेरिकामा भर्खरै खोप लगाउने लहर सुरु भइरहँदा नेपालमा पनि खोप भित्रिएको थियो । थोरै नै भए पनि केही नेपालीले खोप लगाउने अवसर पाए । दोस्रोपटक ल्याएर ज्येष्ठ नागरिकका लागि खोप लगाइयो । जसको दोस्रो डोजका बारेमा अझै पनि अन्योल नै छ । जति अन्तरमा खोप लगाउनुपर्ने हो, त्यति समयभित्र उनीहरुले लगाउन पाउनेमा शंका उब्जेको छ ।

खोप भरपर्दो आधार हो भन्ने कुरा विश्वका नामुद वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । विश्व र नेपालको तथ्यांक हेर्ने हो भने पनि खोप लगाएकाहरुमा संक्रममण दर कम छ । संक्रमण भइहाले पनि ज्यान जाने खतरा कम छ । केही दिन अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको रेकर्डले त्यही भनेको थियो । त्यहाँ ज्यान गुमाएका संक्रमितमध्ये डबल डोज लगाएका कोही पनि थिएनन् । अनि पहिलो चरणको भाइरसका बेला बनाएको खोप अहिलेका लागि प्रभावकारी छैन भन्ने संशय पनि अब बाँकी छैन । राम्रोसँग काम गर्ने भनेर पुष्टि भइसकेको छ । यस्तो अवस्थामा नेपालका ३ तहकै सरकारले आफ्नो बजेट अब खोप खरिदका लागि विनियोजन गर्न जरुरी छ । पहिला नागरिक बच्नुप¥यो, त्यसपछि विकास निर्माणका काम त छँदै छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width