बजेटमाथिको छलफल सुरु गर

सम्पादक
असार १३, २०७९

संवैधानिक प्रावधानअनुसार गण्डकी प्रदेश सरकारले असार १ मा बजेट ल्यायो । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले झण्डै ३६ अर्बको बजेट प्रस्तुत गरे । असार ५ गतेबाट सुरु हुने भनेको बजेटमाथिको छलफल अझै हुन सकेको छैन । यसको मुख्य कारण सत्ता गठबन्धनभित्रैकै किचलो हो । अर्थमन्त्री बरालले मन्त्रिपरिषद् बैठक गरेको ब्रिफिङअनुसारको बजेट पढेनन् । मुख्यमन्त्री र अरु मन्त्रीहरुले पटक पटक सोधेको विषयमा उनले आलटाले जवाफ दिए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राखेको र भौतिक मन्त्रालयबाटै कार्यान्वयन हुने उनले बताएपछि नपत्याउने कुरै भएन । त्यसैअनुसार बजेट प्रस्तुतिका लागि मन्त्रिपरिषद बैठकले स्वीकृति दियो । मन्त्रालयको जिम्मेवार पदमा बसेको, लामो समय राजनीति गरेको व्यक्तिले त्यस्तो झुट किन बोल्ने भन्ने सवाल एकातिर उठेको छ । अर्कोतिर सांसदले आफ्नो तजबिजीअनुसार योजनामा बाँड्न पाउने गरी अघिल्ला वर्षहरुमा आएको कार्यक्रम यो वर्ष छुट्दा जनस्तरबाट केही स्याबासीका आवाज पनि नआएका होइनन् ।

बजेट बनाउने र ल्याउने विषय सरकारसँग जोडिएको हुन्छ । तर सरकारभित्रकै बेमेलका कारण संसदमा छलफल नै सुरु नगर्नुले पक्कै पनि राम्रो सन्देश बाहिर गएको छैन । हो, सरकार बन्ने र गिर्ने अनि मन्त्रिपरिषद् हेरफेर स्वाभाविक मान्न सकिन्छ । तर सार्वभौम संसद्लाई बन्धक बनाउने अधिकार न सरकारलाई छ, न सांसदलाई नै । यहाँ मन्त्रिपरिषद्को बैठकमा मन्त्रीले ढाँटेको विषयमात्रै होइन, सम्बन्धित मन्त्रालयले आफ्नो सिलिङभित्र बसेर पठाएको बजेटमा समेत अर्थमन्त्रीले कैंची चलाएको आरोप छ । निर्वाचन क्षेत्र पूर्वाधारका बारेमा मन्त्री बरालले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । तर कार्यक्रम पुस्तिकामै हेरफेर गरिएकोबारे उनी केही बोेलेका छैनन् । अर्थमन्त्रीको अर्को कमजोरी पनि छताछुल्ल भएको छ । वार्षिक विकास कार्यक्रम अर्थात् रातो किताब संसद्मा दर्ता नहुँदै बाहिरिएको छ । यसको दोष उनले अरु मन्त्रालयलाई लगाएका छन् । आफ्नो ढुकुटीको साँचो गतिलोसँग लगाउन नसक्ने अनि आरोप अरुलाई लगाएर छुटकारा पाइन्छ र ?

सरकार सञ्चालनका क्रममा हुने गल्ती र कमजोरीलाई भित्री रुपमै मिलाएर त्यसलाई बाहिर आउन दिन नहुने हो । अहिले गण्डकी सरकारभित्रको किचलो राष्ट्रिय रुपमै समाचारको विषय बनेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली गल्ती सच्याएर संसद चलाउन तत्पर रहेजस्तो देखिन्छ । तर यतिका दिनसम्म पनि सरकारबाट केही खबर नआउँदा सभामुखसमेत आजित भइसकेका छन् । प्रमुख प्रतिपक्षी दलले समेत यसबारेमा सरकारको ध्यानाकर्षण गराइसकेको छ । अहिले प्रदेश सरकारको संरचना नै आवश्यक नरहेको आवाज उठिरहेका बेला यस्ता किचलोले त्यस्ता आवाजलाई थप बल पुग्ने देखिन्छ । तसर्थ छिटोभन्दा छिटो विवाद समाधान गरेर संसद चलाउन सरकारले पहल गरोस्, संसदलाई अनिर्णयको बन्दी बनाउन हुँदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width