बजेट अविलम्ब छलफलमा लैजाऊ

सम्पादक
असार १७, २०७९

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सम्बन्धमा सरकारका मन्त्रीहरुबीच विवाद उत्पन्नपछि प्रदेशसभाको बैठक यतिखेर स्थगित भएको छ । जसको कारण बजेटका विषयमा जुन छलफल हुनुपर्ने थियो, त्यो भएको छैन । अर्थमन्त्री बरालले मुख्यमन्त्रीको निर्देशन र गठबन्धनको निर्णयसमेत बेवास्ता गरी बजेट तर्जूमा गरेकोमा त्यसको व्यापक आलोचना भएको छ । अहिलेसम्म गठबन्धन सरकार के–कसरी प्रस्तुत होला भनेर हेरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मुख खोल्न थालेको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कि अर्थमन्त्री बराललाई पदबाट हटाउनु पर्दछ कि मुख्यमन्त्री आफंैले राजीनामा दिनुपर्दछ भनी विरोधमा उत्रेका छन् । स्थिति जटिल र जेलिंदै गएको छ । जति पछि भयो, उति समस्या थपिंदै गएको छ ।

सरकारको वार्षिक बजेट अर्थमन्त्रीले बनाउँछ । त्यो उसको जिम्मेवारीको कुरा हो । तर उसको मात्र कुरा होइन । बजेट समष्टिगत रुपले सिंगो सरकारको हो । बजेट असफल भएमा सरकार असफल भएको मानिन्छ र सरकारले राजीनामा दिनु पर्दछ । यो प्रजातान्त्रिक तरिका हो । तर हामीकहाँ आफ्नो स्वार्थपूर्ति भएसम्म प्रजातन्त्र भन्थे, अन्यथा त्यो तौरतरिकालाई वास्ता नगरी आफूखुसी गर्ने गरिएबाट शासन प्रणालीमा विकृति र विसंगति भित्रिएका छन् । जसले गर्दा सरकार व्यवस्थित रुपले संचालन हुन सकेको छैन । यस सम्बन्धमा के पनि भन्ने गरिन्छ भने बजेट बनाउने मात्र अर्थमन्त्रीको काम होइन, बजेटलाई कम विवादित बनाउनु, कमसेकम संशोधन गराउनु र छिटो पारित गर्नु÷गराउनु उसको काम हो । बजेटलाई छलफलमा नै नल्याई राखिराख्नु कुनै पनि अर्थमन्त्रीको कुशलताको परिचात्मक हुन सक्दैन ।

सरकार एक्लैले संचालन गर्ने संयन्त्र होइन । सरकार सामूहिकतामा संचालित हुन्छ । एउटै पार्टीको सरकार भए तापनि त्यहाँ सामूहिकता हुन्छ । अहिलेको सरकार त विभिन्न पार्टीहरु मिलेर बनेको गठबन्धन सरकार हो । यस्तो सरकार मुख्यमन्त्रीले भनेजसरी जान सक्दैन भने अर्थमन्त्रीले कसैलाई वास्ता नगरी अडान लिनु अटेरी हो । अर्थमन्त्रीले अहिले आफ्नो अडानलाई बहादुरी सम्झन सक्छन् तर भोलि आफू मुख्यमन्त्री भएको बेला आफ्नो मातहतका अर्थमन्त्रीले पनि यस्तै अडान लिए भने स्थिति के होला ? सोच्नु पर्ने कुरा हो । अहिले पनि आफ्नो मातहतका सचिवमा सहसचिवले मन्त्रीले भनेको काम गर्न सक्दिन भनेर भन्यो भने के होला ? नेतृत्व भनेको नेतृत्व हो । नेतृत्वको आफ्नै किसिमको जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारीलाई सफल पार्नु उसको मातहतमा रही काम गर्ने सबैको कर्तव्य हो । गठबन्धन सरकारमा सामुदायिकताको महत्व धेरै हुन्छ र यसको संस्कृति नै फरक हुन्छ । यस्तोमा ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बस्ने बेला होइन । अर्थमन्त्री बरालले यी सबै कुरा महसुस गर्नु पर्दछ र बजेटलाई अविलम्ब छलफलमा लैजाने वातावरण निर्माण गर्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width