बंगलादेशको राष्ट्रिय महत्वको पद्मा पुल

सम्पादक
असार १५, २०७९

बंगलादेशले आफ्नो देशको राष्ट्रिय महत्वको ६ किलो मिटर पद्मा नदीको पुल आफ्नै स्रोत, साधन र प्राविधिकहरुद्वारा निर्माण गरेपछि त्यो पुल चर्चाको विषय भएको छ । बंगलादेशले ७ वर्षभन्दा बढी समय लगाएर पद्मा बहुउद्देश्यीय परियोजनाअन्तर्गत ९ म्याग्निच्युडसम्मको भूकम्प थेग्ने गरी आधुनिक फ्रिक्सन पण्डुलम वियरिङ प्रविधि लगाएर निर्माण गरेको हो । पुलको २ तलामा गाडी गुड्ने ४ लेनको हाइवे छ । जहाँबाट तल रेल गुडेको देख्न सकिन्छ । त्यसलाई एसियाकै नमूना पुल भन्ने गरिएको छ । पद्मा नदीको पुल बंगलादेशीहरुको धेरै वर्षदेखिको सपना हो जुन अहिले पूरा भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पुलको हालै उद्घाटन गर्दै पद्मा पुल इँटा र सिमेन्टको थुप्रोमात्र होइन, यो बंगलादेशको गौरव, सम्मान र दक्षताको प्रतीक हो र असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने नमूना हो भनिन् ।

पद्मा नदीको पुल यस कारण पनि चर्चित रह्यो कि विश्वबैंकले त्यो पुल बनाउन सकिंदैन भनी ऋण सम्झौता रद्द गरेको थियो । त्यसले सम्झौता रद्द गरेपछि अन्तर्राष्ट्रिय विकास संस्था र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगलेसमेत परियोजना निर्माणबाट अलग भएका थिए । तर प्रधानमन्त्री हसिनाले आफ्नै देशको स्रोत जुटाएर निर्माण गर्ने अठोट गरिन् । जनताले पनि उनलाई साथ दिए । निर्माण सम्पन्न गर्न केही वर्ष निश्चय नै ढिलो भयो तर सम्पन्न भयो । सरकारको इच्छाशक्ति भए विदेशी सहयोग बिना नै पनि ठूल्ठूला परियोजना सम्पन्न गर्न सकिन्छ भन्ने त्यो एक नमूना भएको छ । पद्मा परियोजनाको कामबाट धेरै देश र सरकारले प्रेरणा लिन सक्छन् ।

अहिले बंगलादेशभरि प्रधानमन्त्री हसिनाको प्रशंसा भइरहेको छ । जनताले उनको पिता शेख भुजिवुर रहमानले बंगालीहरुलाई सोनार बंगला देश दिए भने छोरी हसिनाले पद्माको पुल दिइन् भनेर मुक्तकण्ठले उनको गुणगान गाइरहेका छन् । त्यो पुलको निर्माणले आर्थिक गतिविधि बढ्ने र गरिबी घटाउन सहयोग पुग्ने बताइएको छ । त्यो पुलको निर्माणमात्र चर्चित भएको होइन त्यसको उद्घाटन समारोह र समारोहमा पुलमा जे–जसरी सिंगारिएको थियो, त्यो पनि उत्तिकै चर्चित रह्यो । पुलको निर्माणमा जति देशका नागरिक, प्राविधिकहरुले काम गरेका थिए, ती प्राविधिकको देशका राष्ट्रिय झण्डा पुलमा फहराइएका थिए । त्यो परियोजनामा नेपालका डा. हेमनाथ घिमिरेले भूगर्भ र सुरुङ विज्ञका रुपमा काम गरेकाले अन्य २४ मुलुकका झण्डाका साथ नेपालको राष्ट्रिय झण्डा पनि त्यहाँ फहराइएको थियो । डा.घिमिरेले त्यसबेला नेपाली राष्ट्रिय झण्डा फहराइरहेको देख्दा आफू भावविह्वल भएको बताए । उनले पनि त्यो पुललाई इन्जिनियरिङ क्षेत्रको एक चमत्कारको रुपमा लिएको बताए । वास्तवमा बंगलादेशले चमत्कार गरेको छ । उदाहरणीय काम गरेको छ । यो उदाहरणबाट नेपालले पनि सिक्नु उचित हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width