शिक्षासेवी गणेश सरको अवसान

सम्पादक
माघ ८, २०७६

१. गणेश सर नामबाट सुपरिचित शिक्षा सेवी गणेशबहादुर गुरुङको पोखरा नयाबजार स्थित आफनै घरमा सोमवार बिहान निधन भयो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उपचारको क्रममा उनी विदेशमा पनि पुगेका थिए । उनी ८२ वर्षका थिए ।
२. उनी पर्वत जिल्लाको फलेवास नगरपालिका – ८ चारभञ्ज्याङ खाल्टेमा जन्मेका थिए । उनी अध्ययनको क्रममा पोखरा आएर राष्ट्रिय माध्यमिक विद्यालयमा र पृथ्वीनारायण क्याम्पसमा पढेर त्रिभुवन विश्वविद्यालयबाट एम.ए. गरेपछि पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरे र पोखरा नयाबजारका स्थायी वासिन्दा भए ।
३. गणेश सर विद्यालयका प्रधानाध्यापक पनि भए । उनी त्यस क्रममा म्याग्दी जिल्लाको जनप्रिय हाइ स्कूल र बाग्लुङ जिल्लाको विनाभारे प्रस्तावित हाइ स्कूलमा पुगे । उनी सैनिक बोर्डिङ हाउस छात्रावासको सुपरिन्टेण्डेण्ट पनि भए । उनले पोखराका विभिन्न कलेजहरुमा पढाए र सहायक डीन पनि भए । त्यसरी पढाएकाले उनी सबैका “गणेश सर”का रुपमा सुपरिचित भए ।
४. राजनीतिको अखाडा भएको पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुख भएर उनले जे जसरी प्रशासन गरे, त्यसलाई धेरैले सराहना गरेका थिए । त्यस्तै दाङको महेन्द्र क्याम्पसको क्याम्पसप्रमुख हुँदा क्याम्पसका लागि धेरै पूर्वाधारहरु तयार गरेका थिए । उनले ती क्याम्पसहरुमा गरेका काम दख्ने हरुले उनलाई “कुशल प्रशासक” भन्ने गरेका थिए । पछिल्लो समय पोखराको शिक्षा विकासमा उनको महत्वपूर्ण भूमिका थियो । उनी साहित्य प्रेमी पनि थिए, अध्ययनशील थिए । लेख रचनाप्रति पनि उनको गहिरो अभिरुचि थियो । उनले लेखेका “स्मृतिका पाना पल्टाउँदा ” र “पत्रै पत्र(पुराना पत्रहरुको संग्रह) ” नामका दुईओटा कृति पनि प्रकाशित भएका छन् ।
५. गणेश सर त्यसबेला तानातानमा पनि परेका थिए । राजनीति गर्नेहरुले उनलाई आफुतिर तान्ने प्रयास गरेका थिए । त्यस्तैमा राजदरबारले उनलाई राजपरिषदको सदस्य बनाए । पछि उनी राजपरिषदको स्थायी समितिको पनि सदस्य भए । त्यहाँ पनि उनले अत्यन्त निष्ठा र इमान्दारी पूर्वक काम गरे । त्यसैले उनी राजतन्त्रको अन्त्य भएपछि पनि राजावादीका रुपमा चर्चित रहे । यसैबीच दुःखको यस घडीमा पूर्व राजा ज्ञानेन्द्र शाहबाट पनि समवेदनापत्र पठाई शोक व्यक्त गरिएको छ ।
६. उनले संयुक्त राष्ट्रसंघको महासभामा पनि भाग लिए । विभिन्न देशहरुको भ्रमण पनि गरे । नौलो घुम्तीजस्तो सामाजिक संस्थाहरुको नेतृत्व गरे । रेडक्रस, कुष्ठरोग निवारण संघहरुमा आबद्ध रहे । जातीय उत्थानका लागि तमु छोंज धीं, तमु धीं संस्था गठन गरे । तिनीहरुको नेतृत्वदायी भूमिकामा रहे । त्यो समुदायको उनी अग्रज भएर सर्वमान्य व्यक्तिका रुपमा आफूलाई स्थापित गरे । बौद्ध अर्घौंसदन लगायतका संस्थाहरुमा उनले सल्लाहकारका रुपमा रही सेवा गरेका थिए ।
७. गणेश सर जहाँ जसरी लागे पनि उनी पूर्वाग्रही देखिएनन् । सवैमा समन्वयकारी भूमिका निर्वाह गर्दथे । सबैसँग उत्तिकै मिल्दथे । स्पष्टसँग कुरा गर्दथे । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दथे । आँखामा राखे पनि नबिझाउने व्यक्तिका रुपमा उनले आफूलाई परिणत गरेका थिए । उनको व्यवहार शालीन थियो । साधा जीवन उच्च विचार राख्दथे । उनको विशेषता यो पनि थियो कि उनले बोली र व्यवहारमा जति नरम पना देखाए तापनि सिद्धान्तमा उनी उत्तिकै कठोर थिए । उनी सिद्धान्त निष्ठ थिए , इमान्दार थिए , सामाजिक भावनाका थिए । उनी समाजका लागि महत्वपूर्ण थिए । यस्तो महत्वपूर्ण व्यक्तिको अवसान हुनु समाजको लागि ठूलो क्षति हो , अपूरणीय क्षति हो । हामी गणेश सरको निधनमा गहिरो शोक प्रकट गर्दछौं । शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उनको सुखवती भुवनमा वास होस् भन्ने कामना गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width