वरिष्ठ पत्रकार श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली

सम्पादक
वैशाख ९, २०७६

१. “नेपाल समाचारपत्र” दैनिकका प्रधानसम्पादक तथा कामना न्यूज पब्लिकेशनका संस्थापक पुष्करलाल श्रेष्ठको वैशाख ४ गते काठमाडौंमा निधन भयो। उनी केही महिनादेखि विभिन्न रोगबाट पीडित भएर अस्पतालमा उपचार गर्दै थिए। उपचारकै क्रममा उनको निधन भएको हो। उनी ६० वर्षका थिए।

२. पुष्करलाल श्रेष्ठले २०४१ सालमा सिने पत्रिका कामनाबाट आफ्नो पत्रकारिता जीवन प्रारम्भ गरेका थिए। कामना पत्रिकाले सिने कलाकारहरूलाई लोकप्रिय पार्नमा ठूलो भूमिका खेलेको थियो। केही सिने पत्रिकाहरू त्यस अघि नै प्रकाशित हुने गरेका थिए। तर कामनाले छिटै बजार लिएको थियो र लोकप्रिय भएको थियो।

३. कामनाले बजार लिएपछि उनले पारिवारिक खोजमूलक पत्रिका “साधना ”प्रकाशन गरे। उनले सन्ध्याकालीन “महानगर दैनिक ”पनि प्रकाशन गरे। त्यसपछि ब्रोडसिटमा उनले “नेपाल समाचार पत्र” दैनिक प्रकाशन गरे। उनले आफ्ना प्रकाशनहरूलाई संस्थागत गर्न कामना न्यूज पब्लिकेशनको स्थापना गरे।

४. उनले एकपछि अर्को पत्रिका प्रकाशन गर्न थालेपछि उनको चर्चा बढ्न थाल्यो। उनले धेरै महत्वपूर्ण कार्यहरू पनि गरेका थिए। एकताका पत्रिकामा विदेशी लगानी भित्रिन थालेपछि उनले त्यसको विरोध गरे। उनले विरोधको अभियान नै संचालन गरे। त्यसबेला उनको साहस र सक्रियता हेर्न लायकको थियो।

५. संसदले महाकाली सन्धी अनुमोदन गर्ने बेलामा पनि उनले राष्ट्रियताको पक्षमा धेरै लेखेका थिए। उनले त्यसबेला नेपालको बिजुली भारतले किनिदिएर के नेपाललाई भारतले “कुवेर” बनाइदेला? भन्ने जुन आलेख लेखेका थिए, त्यो धेरै चर्चित भएको थियो तर एमालेका नेताहरू भने त्यसबाट धेरै रुष्ट भएका थिए।

६. उनले आफ्नो पत्रकारिता जीवनमा धेरै विरोध र अवरोधको सामना गर्नु पर्यो। दुःख र कष्ट भोग्नु पर्यो। आफ्नैहरूबाट शोषित पनि हुनु पर्यो। तत्कालीन माओवादीले उनको बजार हेर्ने पत्रकार ज्ञानेन्द्र खड्काको हत्या गरेकामा उनी अत्यन्त दुःखित भएका थिए। एकताका उनले आफूलाई चारैतिरबाट हमला भएको अनुभूत गरेका थिए। तैपनि उनी आफ्नो नीति, विचार र सिद्धान्तमा अडिग थिए। अडिग भएर रहेका थिए।

७. एकताका पत्रिका निस्कने र बन्द हुने क्रम चर्को थियो। त्यसबेला प्रशिक्षकहरूले पत्रिका प्रकाशनको निरन्तरतामा जोड दिँदै आफ्नो पत्रिकामा आफ्नै मृत्युको समाचार पनि छापिनु पर्छ भनेर सम्झाउने गर्दथे। त्यसरी प्रशिक्षण दिने केही वरिष्ठ पत्रकारहरूको पत्रिकासमेत बन्द भएको थियो। तर पुष्करलाल श्रेष्ठको मृत्युको समाचार अहिले उनको नेपाल समाचार पत्रिकामा छापियो। त्यो ठूलो कुरा मान्नु पर्दछ। उनलाई मुख्य पात्र बनाएर अशोक सिलवालले २०६९ सालमा कलम शीर्षकमा मोटो किताब पनि प्रकाशित गरेका थिए। त्यसैबाट पनि उनको महत्व प्रष्टिन्छ। त्यस्तो महत्वपूर्ण व्यक्तिको निधन हुनु ठूलो क्षति हो। हामी उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width