राष्ट्रिय एकताको प्रदर्शन

सम्पादक
कार्तिक २५, २०७६

१. भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। प्रधानमन्त्री के.पी.ओलीले त्यस विषयमा बोलाएको सर्वपक्षीय बैठकमा अभूतपूर्व राष्ट्रिय एकता देखिएको छ। सबै पार्टी र नेताहरुले सरकारलाई साथ दिने बचन दिएका छन्।

२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक एवं राजनीतिक पहल गर्नुपर्ने बताएका छन् भने डा.बाबुराम भट्टराईले सीमा विवाद टुङ्गाउन उच्च स्तरीय राजनीतिक आयोग बनाउनु पर्ने सुझाव दिएका छन्। त्यस्तै सुझाव अन्य नेताहरुले पनि दिएका छन्। राष्ट्रिय एकताको राम्रो प्रदर्शन भएको छ।

३. सन् १९६२ मा भारत र चीनको युद्ध हुँदा सामरिक महत्वको कालापानीमा नेपालसँग अनुमति लिएर भारतीय सैनिक त्यहाँ आएर बसेका थिए। भारतले अब त्यो भूभाग आफ्नो भन्न थालेकोछ। यो सरासर गलत र मिचाहा पनको परिणाम हो। भारतले नेपालको अन्य स्थानहरुमा पनि अतिक्रमण गरेको छ।

४. सुस्ताको कुरा वषौर्देखि त्यसै रहेको छ। त्यो भन्दा अगाडि राणाकालमा निर्मित शारदा ब्यारेज र त्यसको विकल्पमा बनाइएको टनकपुर बाँधको पानीले डुबाएको जमीनको भर्ना पनि पाएको छैन। त्यत्ति मात्र होइन, कोशी र गण्डक बाँध बनाउँदा डुबानमा परेको जमीनको क्षतिपूर्ति पनि स्थानीय मानिसहरुले पाएका छैनन्।

५. आज नेपाली भूभागको विषयमा कुरा गर्दा ती सबैको विषयमा कुरा उठाउनु पर्दछ। नेपालीहरुले यसलाई अवसरको रुपमा लिनुपर्दछ। सरकारले अब कालापानी, लिपुलेक र लिम्पिया धुराको विषय मात्र होइन, सुस्ता लगायतका विषयमा कुरा उठाउनु पर्दछ। अब त्यसरी कुरा उठाउन ढिलाई पनि गर्नु हुँदैन।

६. देशको भूभागको कुरा संवेदनशील हुन्छ। यो विवाद उत्तेजित अवस्थामा पुग्न पनि सक्छ र अप्रिय घटना घट्न पनि सक्छ। यसमा सरकार बढी सजग र सतर्क हुनुपर्दछ र बुद्धिमत्तापूर्वक आफ्नो उद्देश्य पूरा गर्न सक्नु पर्दछ। तात्कालीन प्रधानमन्त्री वी.पी. कोइरालाले सगरमाथाको विवाद आफ्नो पक्षमा पारेर समाधान गरेझैं गर्नसक्नु पर्दछ।

७. नेपाल धेरै वर्षदेखि सीमा अतिक्रमणको समस्याबाट पीडित छ। सीमामा भारतले एकतर्फी किसिमले बाँध आदि बनाएर वर्षा याममा नेपाली भूभाग डुबानमा पार्दै गरेको पनि धेरै भयो। सरकारले यी सबै कुरा एकमुष्टमा समाधान गर्नुपर्दछ। ओली सरकारलाई काम देखाउने यो एक अवसर पनि हो। प्रधानमन्त्री ओलीलाई नाकाबन्दीको बेला एउटा काम देखाउने अवसर प्राप्त भएको थियो भने अहिले फेरि अर्को अवसर उनको हातमा आएको छ। सम्पूर्ण जनता उनको साथमा छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width