भिक्षु अश्वघोषको अवसान

सम्पादक
चैत्र २६, २०७५

१. नेपालका संघनायक भिक्षु अश्वघोषको शुक्रवार अपरान्ह काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा अवसान भएको छ। भिक्षु अश्वघोष ९३ वर्षका थिए। उनी केही समयदेखि विभिन्न रोगहरुबाट पीडित थिए। उनको अन्त्येष्टि सरकारले विशेष राजकीय सम्मानकासाथ सम्पन्न गरेको छ। अन्त्येष्टि अघि प्रधानमन्त्री के.पी. ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

२. भिक्षु अश्वघोष किशोरावस्थामा नै प्रव्रजित भएका थिए। उनले श्रीलङका बर्मा लगायतका देशमा गएर शिक्षा प्राप्त गरेका थिए। उनी विनयको पालना कडाइकासाथ गर्दथे र अरुलाई पनि त्यो पालनामा जोड दिन्थे। नेपालमा बुद्धधर्मको प्रचार प्रसारमा उनको ठूलो योगदान रहेको छ।

३. उनले २० वर्षभन्दा लामो समय आनन्दभूमि बौद्ध मासिक पत्रिकाको सम्पादन गरेका थिए। उनले धर्मकीर्ति बौद्ध मासिक पत्रिकाको सम्पादक र प्रधान सम्पादक भएर पनि काम गरेका थिए। उनले दृष्टि साप्ताहिकमा पनि बौद्ध स्तम्भकारका रुपमा लेखहरु लेखी बुद्धधर्मको प्रचार प्रसार गरेका थिए। किताब लेखनमा पनि उनको ठूलो अभिरुचि थियो। उनले नेपाली र नेवारी भाषामा सानो ठूलो गरी १५० भन्दा बढी किताबहरु लेखेका छन्।

४. उनले भिक्षु मैत्री महास्थविर लगायतको सहयोगमा काठमाडौंमा भिक्षु तालिम केन्द्रको स्थापना गरेका थिए। त्यो तालिम केन्द्रको स्थापनाबाट थेरवाद बुद्धधर्ममा एउटा आकर्षण थपिएको थियो। युवाहरु त्यहाँ तालिम प्राप्त गरी अरु अध्ययनका लागि श्रीलंका, बर्मा र थाइल्याण्ड जाने गर्दथे। बौद्धहरुले त्यस केन्द्रलाई महत्वका साथ हेर्ने गर्दछन्।

५. उनी काठमाडौंको कोलाहलदेखि टाढा बनेपामा पनि बसे। त्यहाँ बस्दा उनले त्यहाँ ध्यान केन्द्र पनि बनाए। उनले आफ्ना उपासक उपासिकाहरुलाई अध्ययन गर्न प्रेरित गर्दथे। ध्यान विना वास्तविक ज्ञान प्राप्त हुँदैन भन्दै उनले बुद्धशिक्षामा ध्यानको ठूलो महत्व भएको व्याख्या गरी सम्झाउने गर्दथे।

६. भिक्षु अश्वघोषले लुम्बिनी विकास कोषको उपाध्यक्ष भएर पनि सेवा गरे। उनी धमोर्दय सभाका अध्यक्ष र धर्मानुशासक भएर पनि सांगठनिक कार्यहरु गरे। राष्ट्रिय सभाका सदस्य भएर उनी दुई वर्षसम्म रहे। राष्ट्रिय सभामा रहँदा उनले सभासदहरुलाई बुद्धधर्मका किताबहरु पढ्न आग्रह गर्दथे। केही सभासदले आफुले पहिलो पटक बुद्धधर्मका किताब पाएको उद्गार व्यक्तगर्दथे।

७. बुद्धधर्ममा उनको आफ्नै पहिचान थियो, विशेषता थियो। लामो समय बुद्धधर्ममा समर्पित भई क्रियशील भएकाले उनको योगदानको कदर गरेर म्यानमारको सरकार र अन्य विदेशी संस्थाहरुले पनि उनलाई अनेक विशेषण दिएर सम्मान गरेका थिए। नेपालका भिक्षुहरुले त उनलाई संघ नायक पदबाट विभूषित गरेका थिए। त्यसरी संघनायक हुने उनी छैटौं भिक्षु थिए। त्यस्तो महत्वपूर्ण वरिष्ठ भिक्षुको निधन हुनु ठूलो क्षतिहो। हामी दिवंगत भिक्षुको निर्वाणको कामना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width