भागबण्डाले देश डुबायो

सम्पादक
पौष २३, २०७६

१. देशमा २०४६ सालको जनआन्दोलन पश्चात पनि अनेक आन्दोलन र परिवर्तन भए। राजतन्त्रको अन्त भयो। गणतन्त्र आयो देशमा ठूलो परिवर्तन भयो। परिवर्तनका साथ क्रम भङ्गता पनि भयो। हिजोका सडकका मान्छे दरवारीया जस्ता भए भने दरवारियाहरु सडक छापमा परिणत भए। अवसर पाएर माथि पुग्नेले विकासै–विकास देखेका छन् अरुले जुन जोगी आएपनि कानै चिरेको भन्न थालेका छन्।

२. देशमा आएको परिवर्तनले धेरै विकृति र विसंगति पनि ल्याएको छ। ती विकृति र विसंगति मध्ये एउटा हो भागबण्डाको राजनीति। भागबण्डाको राजनीतिले देश डुबाउँदैछ तै पनि नेताहरु त्यसैका लागि हुरुक्कै भएका छन्। मानौं भागवण्डा भएन भने आफु तल परिन्छ, आफ्नो अस्तित्व नै समाप्त हुन्छ भनेर उनीहरु लागि परेका छन्।

३. यो भागवण्डाको राजनीतिले अन्तरपार्टी संघर्ष पनि गर्दैछ भने एउटै पार्टीभित्र पनि भागबण्डाको राजनीतिले आफ्नो कुरुप अनुहार देखाईरहको छ। तै पनि नेताहरु त्यसैलाई आफ्नो शक्ति र अस्तित्व नै ठानेर भागबण्डाका लागि मरिहत्ते गरिरहेका छन्।

४. सभामुख पदका लागि सत्तारुढ पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादीको छिनाझपटी चलिरहेको छ। जसले गर्दा संघीय संसद नै करिब महिना दिन जति बन्धक भएको छ। उता नेपाली कांग्रेसभित्र पनि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र बीचको तानातान त्यस्तै छ। अरुलाई त्याग र वलिदानका कुरा सिकाउने नेताहरु आफ्नो स्वार्थका लागि कतिसम्म तल गिर्न सक्छन् अहिले प्रष्ट देखिएको छ।

५. जनप्रतिनिधिको सर्वोच्चसंस्था प्रतिनिधिसभाको त्यस्तो अवस्था छ भने उता सरस्वतीको मन्दिर भनेर चिनिने विश्वविद्यालयहरु कुनै पदाधिकारी विहीन भएर तथा कुनै विद्यार्थीहरुले ताला लगाईदिएर ठप्प छन्। तिनीहरुले महिनौदेखि शैक्षिक क्यालेण्डर अनुसार काम गर्न सकेका छैनन्। विश्वविद्यालयका कुलपति प्रधानमन्त्री आफै निरीह जस्तै छन्।

६. गुटगत राजनीति र भागबण्डाको राजनीति गनेर्हरुले देश डुबाउँदैछन् भन्ने नेताहरुलाई थाहा छ। थाहा भएर पनि त्यो हिलोको पोखरीबाट तिनीहरु निस्किन सकेका छैनन्। तिनीहरु मध्ये कोही त्यसबाट निस्किन सकेका छैनन् भने केहीले त्यसमै आफ्नो भविष्य देखेका छन् र त्यसैलाई अरु व्यापक र विस्तृत पार्दैछन्।

७. आजको राजनीतिक परिदृष्यमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी पूर्व एमाले र पूर्व माओवादीको भागबण्डाले ग्रस्त छ भने नेपाली कांग्रेसले पार्टी भित्रको भागबण्डाले नयाँ रुप लिँदै छ। भागबण्डाको राजनीतिले देश डुबायो भन्ने जान्दा जान्दै नेताहरु किन भागबण्डाको राजनीति गर्दैछन्, त्यो बुझ्न नसकिने भएको छ। के नेताहरुले त्याग र वलिदान गर्नु पर्दैन? नेताहरुले गुटगत र भागबण्डाको राजनीति गर्न छाडे देशले छिट्टै प्रगति गर्नेछ। यसमा विवाद छैन। त्यो जान्दा जान्दै पनि त्यसैमा मरिहत्ते गर्नु तिनीहरुको ठूलो कमजोरी हो। देशको दुर्भाग्य हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width