नयाँ वर्षको शुभकामना

सम्पादक
वैशाख १, २०७०

१. आज वैशाख १ गते। विक्रम सम्वत् फेरिने दिन। विक्रम सम्वत् २०६९ हामीबाट बिदा भएर गएको छ र २०७० को आगमन भएको छ। नेपालीहरूले आज नयाँ वर्षको पहिलो दिन विभिन्न कार्यक्रमहरू गरी मनाइरहेका छन्। आज हाम्रो पनि वर्ष फेरिने दिन हो। हाम्रो पनि पहिलो दिन हो। यस अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखकलगायत सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

२.     आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक पत्रिकाको रुपमा पहिलो पटक प्रकाशित भएको थियो। पाक्षिकका रुपमा केही आधार तैयार गर्न हामीलाई केही समय लाग्यो। २०५४ सालमा यसलाई साप्ताहिकका रुपमा प्रकाशित गर्‍यौं भने २०५४ साल माघ महिनाको १९ गते श्री पञ्चमीका दिनदेखि यसलाई दैनिकरुपमा प्रकाशित गर्न थालिएको थियो।

३.     आदर्श समाज दैनिक प्रकाशन गर्ने जमर्को त गरियो तर वातावरण अनुकूल बनाउनु हामीलाई ढुङ्गाको चिउरा चपाउनुसरह भयो। त्यसबेला मानिसहरूमा स्थानीय पत्रिका पढ्ने बानी थिएन। पढ्नेहरूले राजधानीका पत्रिकामात्र हेर्ने गर्दथे। स्थानीय पत्रिकामा के हुन्छ र ? भनेर उनीहरूले उपेक्षाको दृष्टिले हेर्दथे। विज्ञापनदाताहरूको पनि त्यस्तै दृष्टि हुन्थ्यो।

४. प्रेसको राम्रो व्यवस्था थिएन। प्रविधिको साह्रै अभाव हुन्थ्यो। प्रुफ मिस्टेकले सधैँ समस्या पर्दथ्यो। पत्रकारहरूको अभाव अर्को समस्या थियो। प्रशिक्षित पत्रकार पाउनु दुर्लभ थियो। त्यस्तो अवस्थामा गुणस्तरीय पत्रिका भन्नु कल्पनामात्र हुन्थ्यो। ती सबै कारणले गर्दा जति प्रयास गर्दा पनि बजार पाउन सकिँदैनथ्यो।

५. ती सबै कमी-कमजोरी र कठिनाइका बाबजुद पनि हामीले आदर्श समाजलाई निरन्तरता दिँदै गयौं। हामीले नोक्सानी पनि व्यहोर्नु पर्‍यो। साथीहरूका बीच मनमुटाव पनि भयो। तैपनि हामीले हरेश खाएनौं। यसलाई निरन्तरता दिनु नै सफलताको मार्ग हो भनी हामी अघि बढिरह्यौं। १२ वर्षमा खोलो पनि र्फकन्छ भने झैं हामीले पनि अहिले केही उज्यालो देख्न थालेका छौं।

६. आदर्श समाजलाई कुनै राजनीतिक पार्टीको सिद्धान्तप्रति संलग्न नगरी स्वतन्त्र, निस्पक्ष र तटस्थ राख्ने प्रयास गरेका छौं। पाठकहरूको विश्वास जित्ने एकमात्र अभियानमा हामी लागिरहेका छौं। २०६२ सालदेखि हाम्रो पत्रिका निरन्तर ‘क’ वर्गमा परेको छ र गण्डकी धवलागिरि क्षेत्रको अग्रणी पत्रिका भएको उल्लेख गर्न पाउँदा हामीलाई गर्वको महसूस भएको छ। हामीले विगत तीन वर्षदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर राज्यद्वारा प्रतिपादित नीति नियमलाई पनि आत्मसात गरेका छौं।

७. ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ मूल नारा दिइ हामी अघि बढिरहेका छौं। हाम्रो यस कार्यमा हाम्रा पाठक, विज्ञापनदाता, लेखक, शुभचिन्तकहरू सबैबाट सहयोग प्राप्त भएको छ। त्यसका लागि हामी सबैप्रति आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि त्यस्तै सहयोगको हामीले अपेक्षा गरेका छौँ। अन्त्यमा, फेरि हामी एकपटक नयाँ वर्षको उपलक्ष्यमा सबैको सुख-शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width