जवाफ देऊ महानगर

सम्पादक
वैशाख १२, २०७८

पोखरा महानगरपालिकाले आफ्नो कार्यकालको अन्तिम वर्षतिर आइपुग्दा आम्दानी हुने प्राकृतिक तथा सार्वजनिक महत्वका विभिन्न स्रोत र सम्पदाहरु बिना टेन्डर निजी कम्पनीलाई सुम्पिन लागेको छ । फेवाताल किनारमा व्यक्तिले लगाएकोे पर्खाल ५ मिटर जति भत्काएर छोडेको छ । यी २ कार्यपछि महानगरबारे तीव्र प्रतिक्रिया व्यक्त भएका छन् । महानगरले सेती खोंच, पाताले छाँगो, लगायत १ दर्जनजति आयोजना लामो अवधिको लागि निजी कम्पनीलाई दिन तयार भएको समाचार सम्प्रेषण भएको छ । ती प्राकृतिक स्रोत र सम्पदामा अहिले १ हजारभन्दा बढीले काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । नगरपालिकाको त्यस कार्यले गर्दा ती मजदुरहरुको भविष्य अनिश्चित भएको छ भने अर्काेतिर प्राकृतिक स्रोत साधनको दोहन जथाभावी हुने सम्भावना बढेको छ ।

महानगरपालिकाले गर्नुपर्ने काम धेरै छन् तर त्यतातिर त्यसको दृष्टि गएको छैन । पोखराका सडकहरुमा धेरै खाल्डा परेका छन् । पानीको पाइप लाइन बिछ्याउँदा खनिएको ठाउँबाट धुलो उडेर जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको छ । पोखराको बसपार्क दशकौंदेखि अलपत्र परेर त्यसै रहको छ । त्यसले सबै पोखराबासीलाई गिज्याइरहेको छ । त्यसलाई के–कसरी बनाउने त्यतातिर ध्यान दिएको देखिएन । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमा तयार हुँदै छ । यो विमानस्थल तयार भएपछि सबै विमानहरु त्यतैबाट उड्नेछन् । अर्थात् वर्तमान अवस्थामा चालु रहेको विमानस्थल खाली हुँदै छ । त्यसलाई के प्रयोजनका लागि प्रयोग गर्ने ? त्यसको लागि दूरगामी चिन्तन मननको आवश्यकता छ ।

महानगरपालिकाले डोजर त फिर्के खोलामा पनि देखाएको थियो । त्यहाँ त मेयर आफैले डोजर चलाएको घटना चर्चित भएको थियो । फेवाताल प्रदूषित हुँदै गएको, अतिक्रमित हुँदै गएको सबैको चिन्ताको विषय हो । फेवातालको सीमांकन आदि विषयमा जति समिति गठन हुन्छन्, उति फेवातालको क्षेत्रफल घट्दै गएको सर्वविदित छ । यस्तो हुनु बिडम्बना हो । त्यो जे भए पनि प्राकृतिक स्रोत साधनमा महानगरपालिका बढी जिम्मेवार हुनुपर्छ । ती स्रोत साधनलाई आम्दानीको स्रोतको साधनमात्र सम्झन हुँदैन । सेती नदीसँग पोखराको कमजोर धरातलको गहिरो सम्बन्ध छ । भूगर्भशास्त्रीहरुले त्यसबारे धेरै कुरा भनेका छन् । पोखरा महानगरले अहिले सम्पदाहरु सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार जिम्मा लगाउने भनेको छ । यसका बारेमा उठेका जिज्ञाशाका बारेमा महानगरले बेलैमा जवाफ दिनुपर्छ । काम राम्रो हो र असल नियतले काम गरेको हो भने सार्वजनिक रुपमा वक्तब्य निकालेर र पत्रकार सम्मेलन गरेर जानकारी गराउन महानगर किन आनाकानी गरेको ?

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width