अग्रज पत्रकार चाचाजीको निधन

सम्पादक
माघ १९, २०७६

१. अग्रज पत्रकार नेपालगञ्जका पन्नालाल गुप्ताको माघ १५ गते बुधवारका दिन आफ्नै निवासमा निधन भयो । उनी ९२ वर्षका थिए । केही वर्षदेखि उनी बुढ्यौलीको कारण अस्वस्थ थिए । उनी त्यहाँ चाचाजीको नामबाट चर्चित थिए । सबैले उनलाई चाचाजी भनेर सम्मान र सम्बोधन गर्दथे । पत्रकार जगतमा उनी आदरणीय थिए ।
२. उनले भारतमा अध्ययन गरेका थिए । पढ्नमा उनी कुशल थिए । उनी विशारद साहित्य रत्नमा प्रथम भएका थिए । साहित्य रत्नमा प्रथम भएपछि उनले भारतको साहित्यिक पत्रिका अनुराधामा काम गरेका थिए । वि.सं.२०१८ सालदेखि उनको पत्रकारिता यात्रा प्रारम्भ भएको थियो । २०३१ सालदेखि उनले आफ्नै सम्पादनमा किरण साप्ताहिक प्रकाशन गरे ।
३. किरण साप्ताहिकले उनलाई पत्रकारितामा स्थापित ग¥यो । उनी एउटा साईकल चढेर समाचार संकलन गर्दथे । सादा पोशाकमा एउटा झोला भिरेर यताउताका सबै कार्यक्रमहरुमा उनी पुग्दथे । उनको सक्रियता र सहभागिता उल्लेखनीय रहन्थ्यो । उनको त्यो प्रयास र परिश्रमले उनको किरण साप्ताहिक एक पटक पढ्नै पर्ने बनाएको थियो ।
४. उनले पत्रिकाको प्रकाशन गर्ने क्रममा २०३४ मा जय नेपाल दैनिक पत्रिका दर्ता गरेर सञ्चालन गरे । त्यसवेला देखि उनी प्रशासनको नजरमा विरोधी भए । प्रशासनले उनलाई थुन्ने, कारवाही गर्ने गरी सताउन थाले । उनले जेल जीवन पनि विताए । २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएपछि उनी जेल मुक्त भएका थिए ।
५. उनी नेपाल पत्रकार महासंघ बाँके शाखाका सभापति पनि भए । लामो समय पत्रकारिता क्षेत्रमा लागेर योगदान दिएकोमा नेपाल पत्रकार माहसंघले उनलाई २०६० सालमा स्वतन्त्रता सेनानी घोषणा गरी सम्मान गरेको थियो । उनले प्रेस काउन्सिलको गोपाल दास पत्रकारिता पुरस्कार पनि प्राप्त गरेका थिए । स्वतन्त्र पत्रकार संघ नेपालले गत वर्ष उनलाई सम्मान गरेको थियो ।
६. नेपालगञ्ज र वरपरका अधिकांश पत्रकारहरु उनीसँगै काम गरेका र उनीसँगै सिकेकाहरु छन् । पछिल्लो समय उनी एक अभिभावकका रुपमा रहेका थिए । उनका छोरा ६८ वर्षीय विजय गुप्ताले पनि आफ्नै बुबासँग सिकेका थिए । पत्रकारिता पेशालाई आफ्नै छोरालाई हस्तान्तरण गरेकाले पनि उनी यस जगतमा चर्चित भएका थिए ।
७. पत्रकारिता क्षेत्रमा उनको छुट्टै पहिचान थियो । उनी सिद्धान्तनिष्ठ थिए । अनुभवले खारिएका थिए । निर्भिक र निश्चिन्त थिए । पत्रकारितालई व्यवसायिक बनाउन उनको ठूलो योगदान थियो । समाजसेवाको क्षेत्रमा पनि उनको ठूलो योगदान रहेको छ । उनको निधनमा हामी शोक प्रकट गर्दछौं । र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । उनको निधनमा नेपाल पत्रकार महासंघले पनि शोक विज्ञप्ति जारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width