हेर्न होइन, खेल्न हो रंगशाला

सम्पादक
असार २६, २०८०

पर्यटकीय राजधानी रुपमा चिनिएको पोखरा खेलक्षेत्रमा समेत प्रख्यात छ । खागरी यहाँको रंगशाला र त्यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै लोभलाग्दो छ । दक्षिण एशियाली खेलकुद तथा नवौं राष्ट्रिय खेलकुद लक्षित गरी यो रंगशाला पुनर्निर्माणमा सवा करोड रुपैयाँ पनि खर्च भइसकेको छ । रंगशालाको फुटबल मैदान बाहिर बहुउद्देश्यीय भवन, भलिबल, बास्केटबल कोर्ट, आर्चरी साथै क्रिकेट मैदान पनि छ । रंगशालाको मुख्य आकर्षण र बढी लगानी भएको भित्री भागमा फुटबल र एथलेटिक्सका खेलहरु खेलाउन सकिन्छ । कहिलेकाहीँ योग र अन्य धार्मिक कामका लागि समेत यसको प्रयोग हुँदै आएको छ । तर खास हुनुपर्ने फुटबल प्रतियोगिता रंगशालामा सञ्चालन हुन सकेको छैन । जसका कारण खेलाडी र खेलक्षेत्रमा लागेकाहरुले निराशा व्यक्त गरेका छन् ।

यति धेरै लगानी गरेर बनाइएको रंगशालामा यो वर्षभरि फुटबलका जम्मा ८ प्रतियोगिता भए । पोखरामै गज्जबको रंगशाला बन्यो भनेर हौसिएका खेलाडी र खेलकर्मीहरुका लागि यो खुसीको विषय हुनसक्ने कुरै भएन । एकातिर पोखरा रंगशालाको स्वामित्वका बारेमा पश्चिमाञ्चल खेलकुद समिति र जिल्ला खेलकुद समितिबीच नै तानातान छ । पुनर्निर्माण गरेर ठेकेदार कम्पनीले राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरे पनि मातहतको समितिलाई रंगशाला सञ्चालनको जिम्मा आइसकेको छैन । त्यसो त केन्द्रको ऐनले क्षेत्रीय खेलकुद समिति खारेज गर्ने व्यवस्था गरे पनि अझै अस्तित्वमै छ । गण्डकी प्रदेश सरकारले समेत प्रदेश खेलकुद परिषद् गठन गरेको छ । तर संघ सरकार प्रदेशको अस्तित्व स्वीकार गर्न तयार छैन । संघीय परिषदमातहतको जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि सञ्चालनमै छ । प्रदेशले पनि जिल्ला खेलकुद समिति गठन गरेको छ । महानगरको समेत आफ्नै समिति छ । खेलसम्बद्ध यति धेरै संस्था खुलेका छन् । तर खेलकुद गतिविधि भने भन कम हुँदै गएका छन् ।

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि व्यस्त हुुनुपर्ने रंगशाला आखिर किन र कसरी सुनसान भयो त भन्नेबारे अब सरोकारवालाले सोच्नुपर्ने बेला आएको छ । संरचना निर्माणमा अन्धाधुन्द रकम खर्च गर्ने, उपयोगमा उदासिन हुने प्रवृत्तिको सिकार पोखरा रंगशाला भएको छ । रात्रिकालीन खेलकुद सञ्चालन गर्ने सकिने गरी फ्लड लाइट जडान गर्नेबारेमा संघ र प्रदेशका मन्त्रीहरुले धेरैपटक प्रबिद्धता जनाइसकेका छन् । ती प्रतिबद्धता फोस्रा आश्वासनमा सीमित भएका छन् । खेल गतिविधि र संरचनामा समेत संघीयताको अनुभूति हुन जरुरी छ । चिटिक्कको रंगशाला हेर्न बनाइएको होइन, बढीभन्दा बढी खेल सञ्चालन गरी खेलाडी उत्पादनका लागि हो भन्ने विषय सरोकारवालाले बुझ्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • इन्डोप्यासिफिक नेपाललाई अस्वीकार्य

    सम्पादक कार्तिक १६, २०८०
    नेपालका परराष्ट्रमन्त्री एनपी साउद नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत र भेटवार्ता गरी अमेरिकातर्फ लागेका थिए ।…
  • जनताको आँखामा छारो हाल्ने नेताहरू

    सम्पादक असाेज १८, २०८०
    हाम्रा नेताहरू विकासको कुरा खुब गर्दछन् तर काम गर्दैनन् । उनीहरू काम गर्नुभन्दा विदेशका सयल गर्न रुचाउँछन् । प्रधानमन्त्री पुष्पकमल…
  • तस्करीको सुन जाँचबुझका लागि आयोग गठन

    सम्पादक असाेज १६, २०८०
    देशलाई नै हल्लाउने गरी भएको ६१ किलो सुन तस्करी प्रकरणमा स्वतन्त्र र निष्पक्ष जाँचबुझका लागि सरकारले उच्च अदालतका न्यायाधीश डिल्लीराम…
  • अनियन्त्रित बजार भाउ

    सम्पादक असाेज १५, २०८०
    जब चाडबाड नजिकिँदै जान्छन्, बजार भाउ छोइसक्नु हुँदैन । नियमनको जिम्मा पाएका सरकारी संयन्त्र कहींकतै अनुगमन गरेजस्तो गर्छन् तर त्यस्ता…
  • धार्मिक सद्भाव कायम गर

    सम्पादक असाेज ११, २०८०
    देशको स्थिति अहिले फेरिँदै गएको जस्तो देखिएको छ । हिजोको जस्तो अहिले छैन । धरानमा गाई काटेर खाएको घटनाले उग्ररुप…

hero news full width