कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

हामी २५ औं वर्षमा

Avatar सम्पादक
वैशाख १, २०७७

नववर्ष २०७७ को आगमनसँगै आदर्श समाज दैनिक २५ औं वर्षमा प्रवेश गरेको छ । रजत वर्षमा पाइला टेकेको यस अवसरमा हामी समस्त पाठकबृन्द, लेखकवर्ग, पत्रकार, वितरक, विक्रेता एवम् सहयोगी सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै, नयाँ वर्ष–२०७७ सबैका लागि सुखमय बनोस् भन्ने कामना पनि गर्दछौं ।

वि.सं. २०५३ वैशाख १ गते पोखराबाट जुनवेला हामीले आदर्श समाजको प्रकाशन सुरु गर्‍यौं, त्यो वेला मुद्रण प्रविधि सहज थिएन, कम्प्यूटर पनि भर्खरै आएको थियो । आवश्यक जनशक्ति, पाठक र विज्ञापन अभावकै कारण पत्र पत्रिका अनियमित थिए । पत्रकारिता केवल रहर मात्र बनेको थियो । देशको दोश्रो राजधानी भनेर चिनिएको पोखरामा एउटा पनि पत्रिका नियमति हुन नसक्नु दुःखलाग्दो कुरा थियो ।

त्यसवेला पहिलो अंकबाट नै हामीले पत्रिका अफसेट प्रेसबाट मुद्रण गरी प्रचलित अन्तराष्ट्रिय साइजमै प्रकाशित गर्‍याैं र निरन्तरता दियौं । द्वन्दकाल, संकटकाल, प्रशासनिक धरपकड, गलततत्वको धम्की लगायतको पर्वाह नगरी पत्रकारिताको धर्म निर्वाह गर्‍याैं । धार्मिक, साम्प्रदायिक तथा राजनीतिक निहीत स्वार्थभन्दा माथि उठेर स्वतन्त्र पत्रकारिताको अवलम्बन र व्यवसायिक पत्रकारिताको सुरुवात गर्‍याैं।

यसैगरी पत्रकारिता पनि एउटा व्यवसाय हो र यसबाट पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने जमर्काे गर्‍याैं । मोफसलमा रहेर चालिएको यो कदम असामान्य थिएन । यसका लागि हामीले कति मूल्य चुकाउनु पर्‍यो त्यो अलग कुरा हो । हाम्रा शुभेच्छुक एवम् सहयोगीहरुबाट प्राप्त हौसलाले नै हामीलाई अघि बढ्न प्रेरणा गर्‍यो । नागरिक समाजबाट प्राप्त सम्मानले हामी धेरै आभारी छौं ।

आजको अवस्थामा आइपुग्दा धेरै चुनौति थपिएका छन् । प्रेस स्वतन्त्रता माथि तरवार हल्लिरहेकै छ । देशमा व्यवसायिक वातावरण बन्न सकेको छैन । अस्वस्थ्य प्रतिस्पर्धा छ । श्रोत सीमित बन्दै गएको छ भने खर्च असीमित बढ्दै गएको छ । सिर्जनशील र खोजी पत्रकारिकता भन्दा गोजी पत्रकारिता मौलाएको गुनासो बढेको छ । स्वतन्त्र पत्रकारितालाई हतोत्साहित बनाउने सरकारको नियत देखिन्छ । कतै उत्साहको वातावरण छैन । विद्युतीय सञ्चारमाध्यमका अगाडि छापा पत्रकारिता पुरानो ढर्रामा चलेको अनुभव पाठकहरुले बताइरहँदा यसले आफ्नो प्रभाव कायम गर्न थुप्रै सुधारको आवश्यकता महशुस भएको छ ।

यसैबीच हामीले अनलाइन सेवा पनि सञ्चालन गरेका छौं । कोरोना भाइरसको प्रकोपका कारण देशमा लकडाउन भएकोले पत्रिकाको प्रकाशन स्थगित भएको बेला अनलाइनबाट सूचना प्रवाह गरी पाठकबृन्दबीच सम्बन्ध कायम गर्ने प्रयास गरीरहेका छौं । पत्रिकाको नियमित प्रकाशनको लागि उपर्युक्त वातावरण सिर्जना नभएसम्म पत्रिका छपाइ बन्दकै स्थितिमा रहनुपर्ने बाध्यता रहेको छ ।

अन्त्यमा, कोरोनाको महामारीबाट आफु पनि बचौं र अरुलाई पनि बचाउन सहयोग पुर्‍याऔं भन्ने आग्रह गर्दै सबैको सु–स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौं।

हाम्रो सुझाव