हत्या–हिंसा सभ्य समाजको कलंक

सम्पादक
भाद्र १९, २०७९

कास्की जिल्ला पोखरा १४ की ४४ वर्षीय विमला गुरुङको उनकै पति लोकबहादुर गुरुङले खुकुरी प्रहार गरी विभत्स किसिमले हत्या गरेको घटनाले यहाँ स्तब्ध पारेको छ । निज विमला गुरुङ हालै तीज मान्न अमेरिकाबाट आएकी थिइन् । त्यस बिहान विमलाकी बहिनी पनि घरमै थिइन् । लोकबहादुर गुरुङले त्यसबेला घरमा भएका बुहारी र सालीलाई कोठाबाट निकालेर कोठा बन्द गरी धमाधम श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । त्यसरी खुकुरी प्रहार गरेपछि उनले आफ्नै पेटमा खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए । पूर्व र पश्चिमबाट यस्तै हत्याका समाचार आइरहेका छन् । हत्या पनि कुनै बाहिरकाहरुले गरेका होइनन्, आफन्तहरुद्वारा नै भएका समाचारमा जनाइएको छ । त्यस्तै बलात्कार र बलात्कारपछि भएको हत्याका समाचारले पनि हाम्रो समाज के–कति निर्दयी हुँदै गएको छ भन्ने देखाउँछ ।

यस्ता जघन्य अपराध प्रत्येक हप्ता झैं भएका छन् । तर समाजमा यस्तो किन भइरहेको छ भन्ने सम्बन्धमा कहीं–कतै गम्भीर किसिमले चर्चा–परिचर्चा भएको पाइँदैन । एक–दुई ठाउँमा एक–दुई पटक त्यस्तो घटना भएकोलाई साधारण मान्न सकिन्छ । तर यसलाई साधारण मानेर छोड्न सकिन्न । यस्तो हुनु हाम्रो समाजमा घुसेको विकृति र विसंगतिको परिणाम हो । हत्या हिंसाका घटना यति साधारण भइसक्यो कि कहाँ कहिले कसले कसलाई मार्ने हो, भन्न सकिंदैन । आफ्नै परिवारबाट समेत असुरक्षित भएर रहनु परेको अवस्था छ । सोचेमा यो कहालीलाग्दो अवस्था हो ।

कुनै बेला हाम्रो देश शान्तिप्रिय देशको रुपमा प्रख्यात थियो । समाजमा यस्तो हत्या, हिंसाका घटना विरलै हुन्थे । मानिसहरु बिना डर, त्रास सजिलै यताउता घुमफिर गर्दथे । ती सबै वातावरणबाट प्रेरित भएर देशलाई शान्ति क्षेत्र घोषणा गराउने प्रयास पनि भएको थियो । त्यस्तो समाज आज यस्तो अवस्थामा परिणत होला भनेर सोचिएको पनि थिएन । हाम्रो समाज गम्भीर अवस्थाबाट गुज्रिरहेको छ । यसमा सम्बद्ध सबै पक्षले सोच्नु पर्दछ । कतै हाम्रा शिक्षादीक्षाको त्रुटिले गर्दा यस्तो अवस्था आएको हो कि? अन्य कुनै कारण छ कि ? आदि इत्यादि कारणको खोजी गर्न हामी सम्बद्ध सबैसँग आग्रह गर्दछौं । सभ्य समाजको कलंकको रुपमा रहेको हत्या, हिंसालाई सकेसम्म छिटो हटाउनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • डेंगुबाट पीडित सर्वसाधारण

    सम्पादक असाेज ९, २०७९
    देशमा चुनाव आएको छ । राजनीतिक पार्टीहरु सकेसम्म २४ सै घन्टा चुनावको चर्चा गर्न चाहन्छन् । त्यस्तै गरी प्रशासन यन्त्रलाई…
  • स्वैच्छाचारी राष्ट्रपतिको संकेत

    सम्पादक असाेज ६, २०७९
    संघीय संसदले दोस्रो पटक पनि पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको नागरिकता विधेयक १५ दिनको समयसीमाभित्र राष्ट्रपतिबाट…
  • राजधानीमा अर्को तमासा

    सम्पादक असाेज ४, २०७९
    हाम्रो शासन व्यवस्थामा बराबर तमासा हुने गरेका छन् । अहिले पनि एउटा तमासा भएको छ । अहिलेको तमासा महाभियोग लागेका…
  • नेताहरु सिद्धान्तहीन तालमेलमा अग्रसर

    सम्पादक असाेज ३, २०७९
    पहिलो संसदको ६ वर्ष सिद्धिएको छ । यो ५ वर्षमा ज–जसले संसदको नेतृत्व गरेका थिए । तिनीहरुले समेत यसका काम…
  • नेपाल–भारत मैत्रीसभा

    सम्पादक भाद्र ३१, २०७९
    नेपाल–भारत मैत्री संघको आठौं केन्द्रीय मैत्रीसभा आगामी असोज १ गते पोखरामा सम्पन्न हुन गइरहेको छ । मैत्री संघद्वारा आयोजित पत्रकार…

hero news full width