डा. भट्टराईको कार्यकाल

Avatar सम्पादक
चैत्र २, २०६९

१.     नेपालका तीन ठूला राजनीतिक पार्टीर मधेसी मोर्चाले चुनावी सरकार गठन गर्ने सम्बन्धमा महत्त्वपूर्ण सहमति गरेका छन्। त्यो सहमतिअनुसार तीन वटा महत्त्वपूर्ण काम भएका छन्। तीमध्ये एक संविधान संशोधन गरी चुनावका लागि बाधा अवरोध फुकाउने काम भएको छ भने अर्काे प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएको छ। त्यसअघि सहमतिअनुसार काम चलाउ प्रधानमन्त्री डा. भट्टराई सरकारको बहिगर्मन भएको छ।

२.     संविधान संशोधन र प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाएको विषयमा व्यापक विरोध भएको छ भने भट्टराई सरकारको पतन भएकोमा धेरैले खुशी व्यक्त गरेका छन्। डा. भट्टराईले प्रधानमन्त्री हुँदा सुरुमा जे-जति लोकप्रियता हासिल गरेका थिए, त्यो लोकप्रियता क्रमशः लोप हुँदै गयो र उनको बहिर्गमनमा कठै भन्ने कोही पनि देखा परेनन्।

३.     उनले शान्तिप्रक्रिया अन्तर्गत लडाकुको समायोजन र संविधान लेख्ने आफ्नो म्याण्डेट भएको बताएका थिए। लडाकुको समायोजन गर्ने काममा निश्चय नै प्रगति भएको छ। तर संविधान लेख्ने काम त्यसै रह्यो। त्यसमा पनि संविधानसभा विघटन गरेको आरोप पनि उनीमाथि थोपरियो। चुनावको मिति घोषणा गरेर पनि उनले चुनाव गर्न सकेनन्।

४.     भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने घोषणा गरेको सरकारको पालामा चरम भ्रष्टाचार भयो। परिवारवाद र पक्षपात पनि अत्यधिक भयो। सरकारी धनबाट कार्यकर्ता पोस्ने कामले रेर्कर्ड नाघ्यो। अपराधीहरुलाई संरक्षण गर्ने काममा पनि उनले रेर्कर्ड राखे। ती सबै करतुतले गर्दा उनको लोकप्रियता ह्रास हुँदै उनी अलोकप्रिय बने।

५.     उनले मुस्ताङ गाडी चढेर केही देखाउन खोजेका थिए। तर उनले देखाउन खोजेका मितव्ययिताको कुरा उनका स्टाफहरु र उनकी धर्मपत्नीले समेत अपनाएनन्। जसले गर्दा मुस्ताङ गाडी हँसीमजाकको कुरामात्र भयो। उनले नयाँ कुरा केही गर्न खोजेका थिए, तर मूल कुरा छाडेर त्यस्ता काम कुरा गरेका हुँदा ती सबै ढोंगजस्ता भए।

६.     उनीमाथि भारतको मान्छे भन्ने छाप अमिट रुपले रहिरह्यो। उनले भारतसँग वीप्पा सम्झौता गरे। तर त्यो सम्झौतालाई उनकै परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विरोध गरिरहे। उनले आफ्ना सहयोगी राम कार्कीलाई भारतको राजदूत बनाउने घोषणा गरे, तर सकेनन्। चीनले पनि उनीमाथि सशंकित दृष्टि राख्यो र चाहेर पनि उनले प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गर्न पाएनन्।

७.     पहिले अर्थमन्त्री हुँदा उनले जुन नाम कमाएका थिए, प्रधानमन्त्री हुँदा त्यो सबै गुमाए। उनले विधिसम्मत काम गर्न सकेनन्। आफ्ना मन्त्रीहरुलाई नियन्त्रणमा राख्न सकेनन्। प्रतिपक्षहरुको साथ र सहयोग लिन जानेनन्। उनले कहिले आफूलाई कट्टर माओवादी देखाउन खोजे भने कहिले त्वं शरणम् भन्दै भारततिर लम्पसार परे। उनको यस्तो क्रियाकलापले विदेशी चलखेल चकोर्रुपले बढ्यो । संक्षिप्तमा उनको कार्यकाल असफल भयो। उनी असफल भए।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

प्रमुख समाचार

पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग