जवाफ देऊ महानगर

Avatar सम्पादक
वैशाख १२, २०७८

पोखरा महानगरपालिकाले आफ्नो कार्यकालको अन्तिम वर्षतिर आइपुग्दा आम्दानी हुने प्राकृतिक तथा सार्वजनिक महत्वका विभिन्न स्रोत र सम्पदाहरु बिना टेन्डर निजी कम्पनीलाई सुम्पिन लागेको छ । फेवाताल किनारमा व्यक्तिले लगाएकोे पर्खाल ५ मिटर जति भत्काएर छोडेको छ । यी २ कार्यपछि महानगरबारे तीव्र प्रतिक्रिया व्यक्त भएका छन् । महानगरले सेती खोंच, पाताले छाँगो, लगायत १ दर्जनजति आयोजना लामो अवधिको लागि निजी कम्पनीलाई दिन तयार भएको समाचार सम्प्रेषण भएको छ । ती प्राकृतिक स्रोत र सम्पदामा अहिले १ हजारभन्दा बढीले काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । नगरपालिकाको त्यस कार्यले गर्दा ती मजदुरहरुको भविष्य अनिश्चित भएको छ भने अर्काेतिर प्राकृतिक स्रोत साधनको दोहन जथाभावी हुने सम्भावना बढेको छ ।

महानगरपालिकाले गर्नुपर्ने काम धेरै छन् तर त्यतातिर त्यसको दृष्टि गएको छैन । पोखराका सडकहरुमा धेरै खाल्डा परेका छन् । पानीको पाइप लाइन बिछ्याउँदा खनिएको ठाउँबाट धुलो उडेर जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको छ । पोखराको बसपार्क दशकौंदेखि अलपत्र परेर त्यसै रहको छ । त्यसले सबै पोखराबासीलाई गिज्याइरहेको छ । त्यसलाई के–कसरी बनाउने त्यतातिर ध्यान दिएको देखिएन । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमा तयार हुँदै छ । यो विमानस्थल तयार भएपछि सबै विमानहरु त्यतैबाट उड्नेछन् । अर्थात् वर्तमान अवस्थामा चालु रहेको विमानस्थल खाली हुँदै छ । त्यसलाई के प्रयोजनका लागि प्रयोग गर्ने ? त्यसको लागि दूरगामी चिन्तन मननको आवश्यकता छ ।

महानगरपालिकाले डोजर त फिर्के खोलामा पनि देखाएको थियो । त्यहाँ त मेयर आफैले डोजर चलाएको घटना चर्चित भएको थियो । फेवाताल प्रदूषित हुँदै गएको, अतिक्रमित हुँदै गएको सबैको चिन्ताको विषय हो । फेवातालको सीमांकन आदि विषयमा जति समिति गठन हुन्छन्, उति फेवातालको क्षेत्रफल घट्दै गएको सर्वविदित छ । यस्तो हुनु बिडम्बना हो । त्यो जे भए पनि प्राकृतिक स्रोत साधनमा महानगरपालिका बढी जिम्मेवार हुनुपर्छ । ती स्रोत साधनलाई आम्दानीको स्रोतको साधनमात्र सम्झन हुँदैन । सेती नदीसँग पोखराको कमजोर धरातलको गहिरो सम्बन्ध छ । भूगर्भशास्त्रीहरुले त्यसबारे धेरै कुरा भनेका छन् । पोखरा महानगरले अहिले सम्पदाहरु सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार जिम्मा लगाउने भनेको छ । यसका बारेमा उठेका जिज्ञाशाका बारेमा महानगरले बेलैमा जवाफ दिनुपर्छ । काम राम्रो हो र असल नियतले काम गरेको हो भने सार्वजनिक रुपमा वक्तब्य निकालेर र पत्रकार सम्मेलन गरेर जानकारी गराउन महानगर किन आनाकानी गरेको ?

Related News

सम्बन्धित समाचार

    • खबरकर्म र कोरोनाको जोखिम

      Avatar सम्पादक वैशाख ३१, २०७८
      हिजोआज सामाजिक सञ्जाल खोल्नेबित्तिकै त्रासलाग्दा खबर देखिन्छन् । पहिला पहिला यति संक्रमित भए भन्ने खबरका लिंक आउँथे । ए उसलाई…
    • नयाँ सरकारका चुनौती

      Avatar सम्पादक वैशाख ३०, २०७८
      विभिन्न शंका उपशंका र आकलनबीच गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन नियुक्त भएका छन् । प्रतिपक्षी दलहरुको दाबी रहँदा रहँदै…
    • प्राणवायुको जोहो गर

      Avatar सम्पादक वैशाख २८, २०७८
      दोस्रो लहरको कोरोनाले मुलुकलाई आक्रान्त पारिसकेको छ । दैनिक मृत्यु हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घन्टाको मात्र आँकडा…
    • सहमतिको विकल्प छैन

      Avatar सम्पादक वैशाख २७, २०७८
      गण्डकीको राजनीतिक घटनाक्रमले एकाएक नयाँ मोड लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अनेकखाले अड्कलबाजी गर्न थालिएको छ ।…
    • आफ्नो डाक्टर आफै

      Avatar सम्पादक वैशाख २४, २०७८
      लाग्थ्यो रेडियो, टिभीमा बारम्बार बजिरहने सूचनाको औचित्य के होला ? सुनेपछि मनमनै भनिन्थ्यो जाबो हात धुन पनि यसले भन्नुपर्ने मेरो…

    hero news full width